
१२ साउन, काठमाडौं । रसुवमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा २४ असारको बाढीले १ अर्ब रुपैयाँ बराबरको क्षति भएको पाइएको छ ।
यो परियोजना निर्माण गरिरहेको तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर याङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबीचको छलफलमा उक्त जानकारी गराइएको हो। म्यानेजर लीका अनुसार भोटेकोशी नदीतर्फ लगाइएको रिटेन्सन पर्खाल ४ सय मिटर भत्किएको छ ।
२ सय ५० युनिट सवारीसाधन पार्किङ गर्न मिल्ने गरी बनाइएको कंक्रिट ढलान पूर्णरूपमा क्षति भएको छ । २ वटा गोदाममा माटो र ढुंगा भरिएको छ । २ वटा लोडिङ÷अनलोडिङ सेडमा क्षति पुगेको छ । यीसमेत कुल १ अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले बताएका छन् ।
बन्दरगाह निर्माणमा खटिएका कामदारमध्ये १४ चिनियाँ र ८ नेपाली कामदारको मृत्यु भएको समेत उनले बताए । सुक्खा बन्दरगाह परिसरमा बनाइएका संरचनामध्ये प्रशासनिक भवनमात्र ठिक अवस्थामा रहेको उनले बताए ।
यो आयोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । आयोजना लागत २ अर्ब १६ करोड रहेको छ । छलफलका क्रममा निर्माण कम्पनीका म्यानेजरले त्यहाँ सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य स्थानमा छनोट गर्नुपर्ने उनले सुझाव दिए । त्यसबारे मन्त्रालयमा छलफल गरी निर्णय लिइने कार्यकारी निर्देशक गजुरेलले बताए ।
यो बन्दरगाह चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको छ । १६ अक्टोबर २०१४ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । १० अप्रिल २०१५ मा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो ।
निर्माण सम्बन्धमा २०७६ सालमा हस्ताक्षर भएसँगै आयोजना अगाडि बढेको हो । यो आयोजना निर्माण अवधि १६ फागुन २०८२ सम्म छ ।
प्रतिक्रिया 4