
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले कोदोको महत्त्व बढाउन १६ साउनलाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ।
- गुल्मीमा कोदो खेतीको क्षेत्रफल घट्दै गए पनि उत्पादन स्थिर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
- इस्मा गाउँपालिकाले कोदो खेती प्रविधिमैत्री बनाउन मेसिन खोजिरहेको र संरक्षण अभियान चलाएको अध्यक्ष खड्काले बताए।
१६ साउन, गुल्मी । सरकारले कोदोको महत्त्व बढाउन १६ साउन लाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ ।
यस वर्ष ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासाथ दिवस मनाउन लागिएको छ ।
पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको रैथाने बाली कोदोको उत्पादन घटदै गएको छ । तर, यसको महत्त्व भने बढ्दै जान थालेको छ । त्यही भएर सरकारले पनि यसलाई दिवसकै रूपमा मनाउने निर्णय समेत गरेको छ ।
यसले कोदो खेतीको महत्त्व झनै बढ्ने देखिन्छ । तर, राज्यले उत्पादन बढाउन लागत घटाउने काम गर्नुपर्ने देखिन्छ ।
अरू बालीभन्दा कोदो खेती उत्पादन गर्न अलि प्रक्रिया र लागत अलि बढी नै लाग्ने गर्दछ । पहिले कोदो खेती गाउँघरमा अर्मपर्म गरेर रोप्ने प्रचलन थियो ।
त्यसले गर्दा लागतको कुनै हिसाब हुन्थेन । तर, हाल सबै खेताला लगाएर काम गर्दा लागत बढी हुन्छ । त्यसैले पनि यस खेतीमा चासो कम हुँदै गएको छ ।
वषौंदेखि कोदो खेती गर्दै आएका गुल्मी इस्मा–२ का श्यामलाल नेपालीले घरमा परिवार संख्या धेरै हुँदा अर्मपर्म गरेरै कोदो खेती गर्थे । तर, हाल परिवारका सदस्यहरू रोगजारीका सिलसिलामा प्रदेशतिर रहेकाले उनलाई खेती गर्न सकस छ ।
भनेको समयमा खेताला नपाइनु, लागत बढी लाग्दा धेरैले कोदो खेतीको विकल्प खोजेका छन् । उनीजस्ता धैरै किसान अहिले यही समस्यामा छन् । अहिलेसम्म कोदो रोप्न कुनै प्रविधि प्रयोग पनि भएको छैन ।
राज्यले पनि रूपमा उत्पादन बढाउने ठोस खालका योजना ल्याएको पाइँदैन । गुल्मीमा कोदो उत्पादन वर्षेनि घट्दै गएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष पनि उत्पादन कम भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा प्रत्येक वर्ष कोदो खेतीको क्षेत्रफल घटिरहेको छ । तर, उत्पादनमा भने ठूलो गिरावट देखिँदैन ।
पछिल्लो ५ वर्षको तथ्यांक विश्लेषण गर्दा क्षेत्रफल घटे पनि उत्पादन भने स्थिर छ । गुल्मीमा गत आर्थिक वर्ष २०८१/८२ मा २ हजार ८ सय ३४ हेक्टर क्षेत्रफलमा ३ हजार ५ सय ७० टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले बताए ।
अघिल्लो आव २०८०/८१ मा २ हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय ९० टन कोदो उत्पादन भएको थियो । पछिल्लो समय गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन तथा कोदो खेती अरू खेतीभन्दा अलि झन्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घट्दै गएको बन्जाडेले बताए ।
बीउ छर्ने बेला पानी नपरी खडेरी पर्नु, बीउ कम उम्रनु साथै कोदो रोग (छिर्केमिर्के) देखिनुले उत्पादन कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जंगली जनावरले किसानलाई निकै समस्या दिने गरेको किसान बताउँछन् ।
यहाँका किसानले ‘ओख्ले १’, ‘डल्ले १’ र स्थानीय जातको कोदो लगाउने गर्छन् । जिल्लाका इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट मुख्य पकेट क्षेत्र हुन् ।
अरू ठाउँमा पनि कोदो खेती गरिँदै आएको छ । कोदो खेती असार र साउनमा मकै बारीभित्र रोप्ने गरिन्छ । यो खेती कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ ।
परम्परागत रूपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो । पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा पनि पर्दै आएको छ ।
गुल्मीमा धेरै उत्पादन हुने अन्नका रूपमा रहेको कोदोको महत्त्व पछिल्लो समय बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि इस्मा गाउँपालिकाले रैथाने बाली संरक्षण अभियान चलाएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।
कोदो बाली लगाउने र स्याहार्ने समयमा किसानलाई झन्झटिलो र लागत बढी लाग्ने गरेकाले कोदो खेती गर्ने घट्दै गएको उनले बताए । कोदो खेतीलाई प्रविधिमैत्री बनाएर कम लागतमा बढी उत्पादन गर्नेतर्फ पालिकाको चासो रहेको खड्काको भनाइ छ ।
त्यसका लागि पालिकाले कोदो लगाउने मेसिन खोजिरहेको खड्काले बताए । कोदोको बजारीकरणमा कुनै समस्या नरहेकाले उत्पादनमै यसको समस्या रहेको बताए ।
पश्चिम क्षेत्रमा रहेका स्थानीय सरकारले कृषि उत्पादनलाई संयुक्त रूपमा बजारीकरण गर्न छलफल भइरहेको उनको भनाइ छ । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ ।
गाउँघरको मुख्य खानाको परिकारका रूपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँभन्दा सहरका रेस्टुरेन्ट र होटलमा कोदोको परिकार पाक्ने गरेको छ ।
संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुरूप नेपालले १७ पुस २०७९ मा कार्यक्रम सुरु गरेको थियो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो ।
गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पुर्याउन आजको मुख्य जिम्मेवारी एवं आवश्यकता रहेको इस्मा गाउँपालिका अध्यक्ष खड्काले बताए । लामो समयसम्म नकुहिने र नबिग्रिने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्त्वपूर्ण छ ।
पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो । यसको खेती पहाडी तथा सिँचाइ सुविधा नभएका क्षेत्रमा धेरै हुने गर्छ ।
तर, पछिल्ला वर्ष कोदो खेती गर्ने किसानकको संख्या घट्दै गएको छ । कोदो कम वर्षा र कम उर्वर भूमिमा पनि उत्पादन हुने भएकाले सिञ्चित र असिञ्चित दुवैखाले भूभागमा लगाइने महत्त्वपूर्ण बाली छ ।
प्रतिक्रिया 4