
News Summary
Generated by OK AI. Editorially reviewed.- गुन्डा नाइके राजु गोर्खालीलाई १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ गरिएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई भद्रकालीस्थित हिरासतमा ल्याएको छ।
- गोर्खालीले २०७९ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी सिफारिस पाएका थिए।
१ भदौ, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।
‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं,’ ती अधिकृतले भने ।
पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ ।
उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।
गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, पछि उनले टिकट पाएनन् ।
२०५८ सालमा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या भएको थियो । उक्त हत्यामा अहिले पक्राउ परेका गोर्खाली नै प्रत्यक्ष्य जोडिएका थिए । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेका थिए । यो प्रकरणमा गोर्खाली १० वर्ष कैद भुक्तान समेत गरेका थिए ।
उनै गोर्खाली कारागारबाट छुटे पनि पटक पटक पक्राउ पर्दै आएका छन् । कहिले हातहतियारको कसुरमा र केहिले लेदनेन र गुन्डागर्दीको कसुरमा उनी पक्राउ पर्दै आएका छन् ।
प्रतिक्रिया 4