
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकार, लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी जी–फिलोसबीच ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
- जी–फिलोसले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र पाएपछि १० महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्नेछ।
- दक्षिण कोरियाली राजदूत पार्क ताए योङले परियोजनाले दिगो विकास लक्ष्यमा सहयोग पुर्याउने र द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।
१२ भदौ, काठमाडौं । नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापना हुने भएको छ ।
नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जी–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाबारे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जी–फिलोस कम्पनी लिमिटेडका तर्फबाट सीईओ गा वु पार्कले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार प्रस्तावक कम्पनी जी–फिलोसले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिनाभित्र लगानी बोर्डको कार्यालयमा पेस गर्ने छ ।
हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको बताए ।
यस्ता परियोजना नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्य प्राप्तिमा कोशेढुंगा सावित हुने तथा नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास राजदूत योङले व्यक्त गरे ।
कार्यक्रममा विद्युत् नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धिताल, विद्युत् विकास विभाग महानिर्देशक जिवछ मण्डल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एवम् ग्रिन हाइड्रोजन अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता डा. विराजसिंह थापाले नेपालमा ग्रिन हाइड्रोजन सम्बन्धमा विद्यमान नीतिगत तथा कानुनी व्यवस्था, यसका बहुआयामिक लाभका विषय तथा आगामी दिनमा यस प्रकारका ऊर्जा उपयोगका सम्बन्धमा बताएका थिए ।
कार्यक्रममा बोर्डका सीईओ ज्ञवालीले यस प्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाले नेपालजस्तो राष्ट्रमा पूँजी तथा प्रविधि विनिमयमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने विश्वास राख्दै ज्ञवालीले अध्ययनपछि यथासक्य छिटो नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रस्तावक कम्पनी जि–फिलोसले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा ग्रिन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि १५ वैशाख २०८२ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेकोमा बोर्डको ६३औं बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया 4