
२३ भदाै, काठमाडाैं । प्रदर्शन नियन्त्रणबाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यू लगाएको तीन घण्टा बितिसकेको छ ।
तर, कर्फ्यूअघिको तुलनामा अवस्था झनै तनावपूर्ण बनेको छ । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि स्थिति झनै तनावपूर्ण बनेको छ ।
कर्फ्यूपछि पनि स्थिति नियन्त्रणमा आएको छैन । सेनाको टोली पुग्न नपाउँदै आक्रोशित युवाहरूको प्रदर्शनका कारण बानेश्वर चोक तनावग्रस्त बनेको छ ।
कतिसम्म भने आक्रोशित प्रदर्शनकारीहरू अगाडि सुतेर सेनाको ट्रकलाई बीच सडकमै रोकेका थिए ।
प्रदर्शनकारीहरूमाथि बल प्रयोग गर्न आदेश दिएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल प्रदर्शनकारीहरूको ज्यान जान थालेपछि भने मौन छन् । प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घटनाको विश्लेषण गर्ने प्रयास भइरहेकाले थप केही बताउन नसकिने प्रतिक्रिया दिए ।
उनका अनुसार, स्थानीय प्रशासन र सुरक्षा समितिले वस्तुस्थिति मूल्यांकन गरेर आफ्नो कदम चालेको भए पनि गृह प्रशासनले आवश्यक समन्वय गरिरहेको छ ।
एकपछि अर्को गर्दै ज्यान जान थालेपछि प्रदर्शनकारीहरू झनै आक्रोशित बनेका छन् । उनीहरूले संसद् भवन परिसरसहित कतिपय ठाउँमा आगजनीको प्रयास समेत गरेका छन् ।
त्यसपछि प्रहरीले पनि बारम्बार बल प्रयोग गरिरहेको छ । बानेश्वर क्षेत्रमा बारम्बार अश्रुग्यास र गोली प्रहारको आवाज सुनिएको छ ।
प्रतिक्रिया 4