
२४ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनमा भएको बर्बर दमन भएको भन्दै विरोध जनाएको छ ।
संगठनले विज्ञप्ति निकालेर आधुनिक युगको नवीनतम विज्ञान र प्रविधिमा आधारित विश्व डिजिटल समाजमा सरकारले हठात सामाजिक सञ्जाल बन्द गरेर गलत काम गरेको बताएको छ ।
जन्मदेखि नै इन्टरनेट, स्मार्टफोन, टचस्क्रिन, युट्युब, टिकटक लगायत वातावरणमा हुर्केर व्यावहारिक, आत्मनिर्भर र सामाजिक मुद्दामा सचेतनायुक्त चेतना संगै छिटो सूचना उपभोग गर्न सक्षम युवाहरू आफ्नै पहिचान बनाउन रुचाउने, नोकरीभन्दा उद्यमशीलता र स्वतन्त्र पेशामा बढी आकर्षित रहेको भनिएको छ ।
यस्तो अवस्थामा सरकारले सुझबुझपूर्ण रूपका कदम चाल्नुपर्नेमा युवा समुदायको मनोविज्ञानलाई बेवास्ता गर्दै सामजिक सञ्जाल सञ्चालनमा रोक लगाउने सरकारी निर्णय गलत सावित हुन पुगेको विज्ञप्तिमा छ ।
‘सामाजिक सञ्जाल र सफ्टवेर निर्माण गरि आत्मनिर्भरता कायम गरेर मात्र नेपालमा सञ्चालित वाह्य अनलाइन सामाजिक सञ्जालहरूको नियमनका अनेकौं मार्ग र विकल्प हुँदा हुँदै हठातरूपमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी रवैया आफैंमा संकास्पद रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
संख्याको बलमा मात्र शासन सञ्चालन गर्ने पुरातनवादी संसदीय अधिनायकताबाट बाहिर निस्केर राष्ट्रिय सहमतीका साथ अगाडि बढ्न संगठनले माग गरेको छ ।
साथै संगठनले आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूलाई सुशासन शहीद घोषणा गर्न माग गरेको छ । युवाहरूको मृत्यु हुने गरी भएको घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानविन समिति गठन गर्न सरकार माग गरेको छ ।
प्रतिक्रिया 4