
२५ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएको नक्शालको पाँचतारे हिल्टन होटल पनि क्षतिग्रस्त भएको छ ।
८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको छ ।
मंगलबार केही प्रदर्शनकारी होटलमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचर सहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।
हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।
हिल्टनलाई काठमाडौंमा शंकर ग्रुपले भित्राएको थियो । यो होटेल नेपाल प्रहरीको केन्द्रीय कार्यालय नजिकै छ ।
हिल्टन होटलको निर्माण गर्न सन् २०१४ मै सम्झौता भएर नक्सा तयार भएको थियो । तर, २०१६ बाट निर्माण थालिएको थियो । सुरुमा ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाइए पनि कोभिड महामारीका कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको थियो । परियोजना लागत १ अर्ब १० करोड रुपैयाँले बढेर ८ अर्ब ३५ करोड रुपैयाँ पुगेको सञ्चालक बताउँछन् ।
प्रतिक्रिया 4