+
+
Shares

खाना पकाउने ग्यास अभाव भएकै हो ?

एलपी ग्यास उद्योग संघका अनुसार आन्दोलनका कारण भन्सार कार्यालयमा भएको क्षति, नेपालमा ग्यास बोक्ने पर्याप्त बुलेट नहुँदा भारतीय बुलेटमाथिको निर्भरता र अहिलेको अवस्थामा भारतीय चालकहरू नेपाल आउन हिच्किचाएका कारण समस्या थपिएको हो ।  

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ भदौ २६ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका कारण भारतबाट एलपी ग्यास आयात ठप्प हुँदा बजारमा खाना पकाउने ग्यास अभाव सुरु भएको छ।
  • एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भन्सार कार्यालयमा तोडफोडले आयात प्रक्रियामा अवरोध आएको बताए।
  • नेपाल आयल निगमले ग्यास अभाव नभएको दाबी गर्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।

२६ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीको आन्दोलनको पछिल्लो प्रभाव खाना पकाउने एलपी ग्यास आपूर्तिमा देखिएको छ ।

सरकार र निजी क्षेत्रले खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ लगायत दैनिक उपभोग्य सामान अभाव नहुने बताइरहँदा बजारमा एलपी ग्यास अभावको गुनासो उपभोक्ताले गर्न थालेका छन् ।

गत सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनकारीको आन्दोलन हिंसात्मक भएपछि सरकारी कार्यालयमात्र नभई निजी उद्योग–व्यवसायमाथि पनि तोडफोड, लुटपाट र आगजनी व्यापक भएको छ । यसको प्रत्यक्ष असर आपूर्ति शृङ्खलामा देखिन थालेको छ ।

यति हुँदा पनि खाद्यान्न लगायत दैनिक उपभोग्य सामान आपूर्तिमा कुनै समस्या नरहेको, खाद्यान्न मौज्दात पर्याप्त रहेको सरकारी र निजी दुवै पक्षले बताउँदै आएका छन् ।

तर, आज बिहीबारदेखि भने बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेको उपभोक्ताहरूले गुनासो गरेका छन् । पसलमा ग्यास लिन जाँदा ‘ग्यास आएको छैन, दुई–चार दिन लाग्छ’ भन्दै पसलेहरूले ग्राहकलाई फिर्ता पठाइरहेका छन् ।

बिहीबार बिहान कर्फ्यु खुकुलो भएका बेला ग्यास लिन पसल पुगेका कलंकीका रमेश खड्का रित्तो हात फर्किए । ‘ग्यास दुई–चार दिनमा आइपुग्छ, अहिले चाहिँ छैन,’ पसलेको भनाइ उद्धृत गर्दै खड्काले अनलाइनखबरसँग भने, ‘तीन दिनको आन्दोलनमै ग्यास अभाव हुने यो कस्तो देश हो ? हामी सर्वसाधारण कसरी बाँच्ने ?’

ग्यास आयात लगभग ठप्प छ : एलपी ग्यास उद्योग संघ

हाल देशभरि फैलिएको जेनजी आन्दोलनले भन्सार कार्यालयहरूमा तोडफोड र आगजनी गरेपछि भारतबाट हुने ग्यास आयात ठप्प जस्तै भएको एलपी ग्यास उद्योग संघले जनाएको छ ।

संघका अनुसार तीन दिनयता भारतबाट एउटा पनि ग्यास बुलेट नेपाल भित्रिन नसकेका कारण बजारमा ग्यास अभाव हुन थालेको हो ।

एलपी ग्यास उद्योग संघ अध्यक्ष शिव घिमिरेले आन्दोलनका कारण भन्सार कार्यालयमा भएको क्षतिले नियमित आयात प्रक्रियामा गम्भीर अवरोध पुगेको जानकारी दिए ।

यसका साथै नेपालमा ग्यास बोक्ने पर्याप्त बुलेट नहुँदा भारतीय बुलेटमाथिको निर्भरता र अहिलेको अवस्थामा भारतीय चालकहरू नेपाल आउन हिच्किचाएका कारण यसले समस्या थपिएको उनले बताए ।

‘देशभरिका धेरै ठाउँका भन्सार कार्यालयहरूमा उचित प्रणालीको अभाव छ, जसले गर्दा ग्यास आयात प्रक्रिया सुस्त भएको छ,’ घिमिरेले भने, ‘नेपाली बुलेटहरूको कमीका कारण भारतबाट आयातित बुलेटमा निर्भर हुनुपरेको र भारतीय चालक तथा सहचालकहरू नेपाल आउन डराइरहेको अवस्थाले आयातमा थप अवरोध सिर्जना गरेको छ ।’

आयात भइसकेको ग्यास पनि उपभोक्तासम्म पुर्‍याउन कठिन भएको घिमिरेको भनाइ छ । नेपाली सेनाले एलपी ग्यासलाई अति आवश्यक वस्तुको सूचीमा राखे पनि यसको सहज आवागमनका लागि स्पष्ट सूचना जारी नगर्दा देशभरिका विभिन्न स्थानमा, विशेष गरी काठमाडौं उपत्यका लगायत क्षेत्रमा ग्यास बोकेका गाडीहरू रोकिएको अध्यक्ष घिमिरेले बताए ।

‘यसले गर्दा बजारमा उपलब्ध ग्यास पनि उपभोक्तासम्म पुग्न नसकी बाटोमै अड्किएको छ, यसकारण पनि ग्यास अभाव देखिएको हो,’ उनले भने ।

घिमिरेले यो समस्या समाधानका लागि सरकारी निकायसँग निरन्तर पहल गरिरहेको बताएका छन् । उनले नेपाली सेना, रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका पदाधिकारीहरूलाई फोनमार्फत सम्पर्क गरी एलपी ग्यासलाई अति आवश्यक वस्तु घोषणा गरी सहज आवागमनको व्यवस्था मिलाउन र आयात सहजीकरणका लागि सर्कुलर वा नोटिस जारी गर्न आग्रह गरिसकेको जानकारी दिए ।

हाल घिमिरेले सम्बद्ध सबै निकायहरूलाई औपचारिक पत्रसमेत लेखिरहेको बताए ।

ग्यास अभाव छैन : आयल निगम

एलपी ग्यास आपूर्ति एकाधिकार पाएको नेपाल आयल निगमले भने बजारमा खाना पकाउने एलपी ग्यास अभाव नभएको दाबी गरेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले आन्दोलनपछि उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय गरेक कारण बजारमा अभाव देखिएको र आपूर्ति व्यवस्था सामान्य रहेको बताए ।

प्रवक्ता ठाकुरले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय (होल्ड) नगर्न आग्रहसमेत गरेका छन् ।

‘पछिल्लो दुई–तीन दिनको आन्दोलन र त्यससँगै फैलिएको हल्लाका कारण उपभोक्ताहरूले एउटा चाहिने ठाउँमा चार वटा सिलिन्डर लगेर राखेपछि बजारमा अभावको स्थिति देखिएको हो,’ उनले भने, ‘बजारमा तेल अभाव, ग्यास अभाव छैन । कृपया आवश्यकता भन्दा बढी होल्ड नगरिदिनुहुन अनुरोध गर्दछु ।’

निगमको तथ्यांक अनुसार ग्यास आयात प्रक्रिया निरन्तर चलिरहेको छ । ‘हाम्रा बुलेटहरू अहिले भन्सार पास भइराखेकै छ,’ प्रवक्ता ठाकुरले भने, ‘वीरगञ्ज भन्सारबाट मात्रै ४०–४२ वटा ग्यास बुलेट पास भइसकेको र करिब ३ सय बुलेट लोड भएर बसेको अवस्था छ, अन्य नाकाबाट पनि ग्यास बुलेटहरू निरन्तर छुटिरहेका छन् ।’

उनका अनुसार अमलेखगञ्जस्थित निगमको डिपोमा रहेका सबै ट्यांकरहरू पूर्ण क्षमतामा भरिएका छन् । ट्यांकर खाली नभएका कारण पाइपलाइनबाट ग्यास ल्याउन नसकिएको अवस्था रहेको उनको भनाइ छ ।

हाल काठमाडौं उपत्यकाभित्र पनि ग्यास भित्रिरहेको प्रवक्ता ठाकुरले स्पष्ट पारे । वितरण प्रणाली थप व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूले नेपाली सेनालाई जिम्मेवारी दिएको र सेनासँगको समन्वयमा बजारमा ग्यास पठाइरहेको उनले बताए ।

ग्यास अभाव छैन, कर्फ्युले उपभोक्ता त्रसित : ग्यास विक्रेता महासंघ

नेपाल ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलालले हालसम्म ग्यास अभाव नभए पनि केही दिनमा अभाव हुन सक्ने सम्भावना रहेको बताए ।

‘अहिलेसम्म चाहिँ अभाव छैन, अब केही दिन पनि यस्तै भइरह्यो भने चाहिँ अभाव नहोला भन्न सकिन्न,’ उनले भने ।

आफूले पनि ग्यास डिलरका रूपमा काम गर्दै आएको र हिजोसम्म उपभोक्तालाई ग्यास उपलब्ध गराइरहेको जानकारी दिए । ‘मैले हिजोसम्म उपभोक्ताहरूलाई ग्यास दिइराखेको थिएँ,’ उनले थपे ।

उनका अनुसार अहिले आफ्नो पसलको स्टक सकिएको छ । भोलिदेखि  ग्यास आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

‘आजदेखि चाहिँ मसँग पनि भएको स्टक सिद्धिएको छ,’ उनले भने, ‘अब उद्योगलाई फोन गर्दा चाहिँ भोलिदेखि अलिकति सहज भएर आउँछ भन्ने खालको कुरा भएको छ ।’

उनले कर्फ्युका कारण ग्यास अभाव हुने हो कि भन्ने जनमानसमा त्रास देखिएको पनि बताए । ‘धेरै ठाउँमा कर्फ्युले गर्दा पसलहरू खुल्न पाएको छैन,’ उनले भने, ‘सर्वसाधारण र उपभोक्ता पनि यो कर्फ्यु लागेको भनिसकेपछि अब भोलि के हुने हो, नपाउने हो कि भनेर त्रसित भएका हुन् ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?