+
+
Shares

जेनजी प्रदर्शन : एक निमेषमा गुम्यो भाटभटेनीमा ५ हजारको रोजगारी, जवाफदेही को ?

भाटभटेनीलाई बिस्तारै मुलुकका ७७ जिल्लामै विस्तार गर्ने योजनामा रहेका गुरुङको यात्रामा अहिले आएर एक्कासि ‘ब्रेक’ लागेको छ । मुलुकमै युवापुस्तालाई बढिभन्दा बढी रोजगारी दिने उनको उद्देश्यमा तीन दिनअघि सुरु भएको युवाहरूकै ‘जेनजी आन्दोलन’ ले लगभग धुलिसात् पारिदियो ।

सुशील भट्टराई सुशील भट्टराई
२०८२ भदौ २७ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा देशभरिका भाटभटेनीका १२ वटा ठूला स्टोर पूर्णरूपमा जलाएर ध्वस्त पारिएका छन्।
  • प्रदर्शनकारीले नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरेका छन्, जसले कम्तीमा पाँच हजार जनाको रोजगारी गुमाएको छ।
  • भाटभटेनीको वार्षिक कारोबार लगभग ३९ अर्ब रुपैयाँ छ र जेनजी आन्दोलनले ठूलो आर्थिक क्षति पुर्‍याएको छ।

२७ भदौ, काठमाडौं । चार दशकअघि मीनबहादुर गुरुङले एउटा भिन्नै सपना साँचेर जे व्यवसाय सुरु गरेका थिए, कालान्तरमा त्यसले नेपाली उद्यम–व्यवसाय क्षेत्रमा एउटा भिन्नै मानक बनायो ।

२०४१ सालमा गुरुङले काठमाडौं नक्सालमा एउटा सटर भाडामा लिएर सुरु गरेको ‘भाटभटेनी डिपार्टमेन्टल स्टोर’ नेपालमा लगानी, रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने पर्याय बनेको थियो ।

एउटा व्यवसाय खडा गर्न कतिविधि मिहिनेत, लगन, आँट, लगानी, निरन्तरता र धैर्य चाहिन्छ भन्ने थाहा पाउन भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोर हेरे पुग्छ ।

एउटा सटरबाट सुरु भएको भाटभटेनी सुपर स्टोरलाई ४१ वर्षमा गुरुङले देशव्यापी बनाउन र रोजगारी सिर्जना गर्न कति मिहिनेत गरेका थिए, त्यो उनी बाहेकले सायदै बुझ्लान् ।

गुरुङ व्यवसाय मात्र गर्ने व्यवसायी होइनन्, समाज सेवामा पनि उत्तिकै खटिने गर्छन् । उनले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गरेका आर्थिक सहयोग उदाहरणीय छन् । व्यवसाय र समाज सेवालाई उनले समानान्तर लगिरहेका थिए ।

भाटभटेनीलाई बिस्तारै मुलुकका ७७ जिल्लामै विस्तार गर्ने योजनामा दत्तचित्त भएर लागिपरेका गुरुङको यात्रामा अहिले आएर एक्कासि ‘ब्रेक’ लागेको छ । मुलुकमै युवापुस्तालाई बढिभन्दा बढी रोजगारी दिने उनको उद्देश्यमा तीन दिनअघि सुरु भएको युवाहरूकै ‘जेनजी आन्दोलन’ ले लगभग धुलिसात् पारिदियो ।

जेनजी प्रदर्शनकारीको आन्दोलन हिंसात्मक हुँदा सरकारी सम्पत्तिदेखि निजी उद्योग–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी हुन पुग्यो । जेनजी आन्दोलनको तारो उनै गुरुङका भाटभटेनी सुपर स्टोरहरू बने ।

गुरुङका अनुसार देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोडपछि लुटपाट गर्दै आगजनी गरे । जसका कारण सबै स्टोर जलेर खरानी हुन पुग्यो । बुधबार लगाइएको आगो कतिपय स्टोरमा बिहीबार दिउँसोसम्म निभेको थिएन ।

पोखरामा आगजनी भएको भाटभटेनी सुपरस्टोर

त्यस्तै नौ वटा स्टोर तोडफोड गरेर सबै सामान लुटपाट गरियो । धन्य, स्टोरमा आगजनी हुन पाएन । भाग्यले सात वटा स्टोर भने जोगिए ।

‘भौतिक र आर्थिक क्षति कल्पना बाहिरको भएको छ,’ भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले अनलाइनखबरसँग भने, ‘जेनजी आन्दोलनमा भाटभटेनीका जति पनि स्टोरमा तोडफोड, लुटपाट र आगजनी भएको छ, त्यही कारण त्यहाँ कार्यरत कम्तीमा ५ हजार जनाको रोजगारी गुमेको छ ।’

एक निमेषमा यति ठूलो संख्यामा रोजगारी गुम्नुको अर्थ अर्थतन्त्रमा पनि क्षति पुग्नु रहेको पौडेलको भनाइ छ । भौतिक क्षति अर्बौंको हुन पुगेकोमा कुनै सन्देह नरहेको उनले बताए ।

‘कति सामान लुटियो, कति क्षति भयो, कति नगद लुटियो भन्ने यकिन विवरण निकाल्न कम्तीमा एक महिना लाग्छ,’ सीओओ पौडेलले भने, ‘मुख्य कुरो के हो भने एकै पटक हजारौंको रोजगारी गुमेको छ । रोजगारी गुमेका ५ हजार जनाको व्यवस्थापन कसरी गर्ने भन्ने हामीलाई ठूलो चिन्ता छ ।’

उनका अनुसार भाभटेनीका प्रत्येक स्टोरमा औसतमा कम्तीमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तिनमा पनि महिला संख्या उच्च छ । भाटभटेनीका वेयरहाउस (गोदाम) देखि सबै स्टोरमा गर्दा बिसौं हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘जेनजी आन्दोलनको तारो बनेर खण्डहर बनेका स्टोर फेरि पूरै भत्काएर बनाउने हो वा मर्मत गर्ने हो वा पुनर्निर्माण गर्नुपर्ने हो, यसै भन्न सकिन्न,’ सीओओ पौडेलले भने, ‘कहाँबाट सुरु गर्ने र कहाँ गएर अन्त्य गर्ने हो, हामी असमञ्जसमा छौं । यति ठूलो क्षतिको जिम्मेवारी कसले लिने हो ? तोडफोड, लुटपाट र आगजनीको जवाफदेही को हो ?’

गत चैत १५ मा भएको राजावादीको प्रदर्शनको बेला कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो ।

उनका अनुसार तोडफोड, लुटपाट र आगजनी भएका स्टोरका काउन्टरमा कति परिमाणमा नगद थियो भन्ने पनि यकिन छैन । प्रदर्शनकारीले सामानमात्र नभई नगदसमेत लुटेर लगेका छन् । ‘हाम्रा सबै स्टोरको बिक्री परिमाण हिसाब गर्दा प्रत्येक दिन १० करोड ६८ लाख रुपैयाँ बराबर हुने गर्छ,’ पौडेलले भने, ‘यो भनेको वार्षिक कारोबार नै लगभग ३९ अर्ब रुपैयाँ हाराहारी हुने गर्छ ।’

जेनजी प्रदर्शन सुरु हुँदा देशभरिका भाटभटेनी स्टोर निर्वाध सञ्चालन भइरहेका थिए । एक्कासि, प्रदर्शनकारीमाथि गोली प्रहार भएर पहिलो दिनमै १९ जनाको ज्यान गएपछि भने तोडफोड, लुटपाट र आगजनी सुरु भएको थियो । सरकारले कर्फ्यु आदेश जारी गर्दा पनि भाटभटेनी लुटपाट, तोडफोड र आगजनी दोस्रो दिनसम्म जारी थियो ।

भाटभटेनीलाई आसन्न दसैंतिहारको मुखमा बज्रपात परेको छ । भाटभटेनीले वर्षमा जति व्यापार गर्छ, त्यसको १२ प्रतिशत हिस्सा दसैंको पहिलो १० दिनभित्र हुने गर्छ ।

‘अहिले दसैंको मुखमा यति ठूलो क्षति हुन पुगेको छ,’ सीओओ पौडेलले भने, ‘आर्थिक हिसाबले पनि यो गम्भीर क्षति हो । जेनजीको आन्दोलनको तारो भाटभटेनी लगायत निजी उद्यम–व्यवसाय हुनु एकदमै दु:खद घटना हो, यो हुनै हुन्थेन ।’

भाटभटेनी सञ्चालक गुरुङले पनि तोडफोड, लुटपाट र आगजनीप्रति दु:ख व्यक्त गरेको सीओओ पौडेलले बताए ।

‘हामी पछाडि हट्दैनौं, काम गर्छौं, भाटभटेनीलाई फेरि पुरानै स्वरूपमा ठड्याउँछौं,’ गुरुङको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘दसैंको मुखमा आएर यस्तो दु:खद घटना हुँदा केही विचलित भने भएको छु, तर मैले हार मानेको छैन ।’

 भाटभटेनीका कुन स्टोरमा भयो क्षति ?

भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोरमध्ये १२ वटालाई पूर्णरूपमा जलाएर ध्वस्त पारिएको छ । ती सबै प्रमुख र ठूला स्टोर हुन् ।

आगजनीले ध्वस्त भएको चाबहिल चुच्चेपाटीको भाटभटेनी सुपरस्टोर ।

भाटभटेनी व्यवस्थापनका अनुसार काठमाडौंको नक्साल स्टोर (भाटभटेनी मुख्यालय), महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउसमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ । यी सबै स्टोर पूर्णरूपमा ध्वस्त छन् ।

त्यस्तै पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपर स्टोर पनि पूर्णरूपमा ध्वस्त पारिएका छन् ।

यसबाहेक तोफोड र लुटपाट भएका स्टोर भने एक दर्जन हाराहारी छन् । काठमाडौं उपत्यकाका कलंकी, बालाजु र थिमि तथा उपत्यका बाहिरबम जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा स्टोरमा तोडफोड र लुटपाट भएका छन् । प्रदर्शनकारीले आगजनी गर्न भने पाएनन् ।

तर, भाग्यवस काठमाडौं उत्यकाका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर र पाटन तथा उपत्यका बाहिरको नेपालगञ्ज स्टोर भने प्रदर्शनकारीको आँखामा परेनन् ।

लेखक
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?