
३० भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् ।
बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र ?’
खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।
खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया 4