+
+
Shares

चितवनका ७९ सरकारी संरचना र १६ निजी घरमा क्षति

जिल्ला प्रशासन कार्यालय चितवन राहदानी र राष्ट्रिय परिचयपत्र बाहेकका सेवा तत्काल सञ्चालन गर्ने गरी अगाडि बढेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १४:२६

३० भदौ, चितवन । जेनजी प्रर्दशनका क्रममा चितवनका ७९ सरकारी संरचना तथा १६ वटा निजी घरमा क्षति भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सोमबार बिहान पत्रकार सम्मेलन गरी क्षतिको जानकारी दिएका हुन् ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला मालपोत कार्यालय, चितवन जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला समन्वय समिति, यातायात कार्यालय, जिल्ला ट्राफिक कार्यालय लगायत विभिन्न पालिकाका कार्यालय तथा वडा कार्यालय गरी ७९ वटा संरचनामा क्षति भएको छ ।

अधिकांश सरकारी कार्यालयमा आगो लगाइएको छ भने केहीमा तोडफोड गरिएको छ । भाटभटेनी, सिजी ल्यान्डमार्क जस्ता व्यावसायिक भवनहरूमा आगजनी र तोडफोड गरिएको छ उनले बताए ।

प्रजिअ अर्यालले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय आगजनी गरिएको बताए । प्रदर्शनकारीले जिल्लाका केही सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूका घरमा समेत जेनजीका नाममा तोडफोड र आगजनी गरेका छन् । केही नेताका निजी निवास, पालिका प्रमुख तथा उपप्रमुखका घरमा तोडफोड र आगजनी गरिएको छ ।

जिल्लामा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन गरी काम थालिएको प्रजिअ अर्यालले बताए । एक हप्ताभित्र नै क्षतिको यकिन विवरण ल्याउने गरी समितिले काम गर्ने उनले बताए ।

गत २३ र २४ भदौको आन्दोलनका क्रममा १४ जना प्रर्दशनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । तीमध्ये ४ जना आन्दोलनकारी उपचाररत छन् ।

आन्दोलनलाई नियन्त्रणमा लिन भन्दै २०० राउन्ड हवाई फायर गरिएको, ३५० सेल अश्रुग्याँस हानिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउन जाने एकजना प्रर्दशनकारी भरतपुर-२१ का १९ वर्षीय सरोज गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको उनले बताए । यस्तै, रत्नननगर नगरपालिकाको जल्दै गरेको भवनमा एकजना भारतीय नागरिकको शव भेटिएको थियो ।

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीले गरेको आगजनी ।

सहयोगका लागि एकद्वार नीति

जिल्ला प्रशासन कार्यालय चितवनले सेवा अवरुद्ध भएका कार्यालय सञ्चालनका लागि विभिन्न सहयोग आउन थालेकोले त्यसका लागि एकद्वार नीति लिएको छ । कार्यालयहरूमा भएको क्षति, आवश्यकता र प्राथमिकताको सूची जिल्ला प्रशासन कार्यालयमा भएकोले सहयोग दिन चाहाने व्यक्ति वा संघ-संस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत दिन अनुरोध गरेको छ ।

‘कुनै पनि सरकारी कार्यालयले आफूखुसी सहयोग लिन पाउँदैनन् । कसैले सहयोग गर्छ भने जिल्ला प्रशासन कार्यालयमार्फत गर्न सक्छन्, कतै आवश्यकताभन्दा बढी सहयोग हुने कतै नपुग्ने अवस्था हुन नदिन यस्तो गरिएको हो,’ प्रजिअ अर्यालले भने, ‘हामीले प्राप्त सहयोगलाई आवश्यकताका आधारमा प्रदान गर्ने नीति लिएका छौं ।’

उनले चितवनमा धेरै व्यक्ति तथा संघ-संस्थाले के-के सहयोग चाहिएको छ, हामी तयार छौं भनेर आएको देखेर निकै खुसी मिलेको बताए । जिल्लाका सरकारी कार्यालयलाई न्यूनत्तम सेवा सञ्चालनका लागि कम्तीमा पनि ७०-७५ थान कम्प्युटर तत्काल आवश्यक भएको प्रजिअ अर्यालले बताए ।

उनले जिल्ला प्रशासन कार्यालय चितवन राहदानी र राष्ट्रिय परिचयपत्र बाहेकका सेवा तत्काल सञ्चालन गर्ने गरी अगाडि बढेको बताए । नागरिकता वितरण र नागरिकताको प्रतिलिपि निकाल्ने जस्ता सेवा सञ्चालनको तयारी भएको प्रजिअ अर्यालले बताए ।

जलाइएको जिल्ला प्रशासन कार्यालयको भवनमा रङ लगाउने काम भइरहेको छ । जिल्लाका सबैजसो सरकारी कार्यालयलाई एक साताभित्र सेवा सञ्चालन गर्ने गरी तयारी गर्न भनिएको उनले बताए ।

फर्किए ३२७ कैदी

२५ भदौ बिहान जिल्ला कारागार भरतपुरमा कैदीहरूले तोडफोड र आगजनी गर्ने अवस्था आएपछि कारागार प्रशासनले छाडिदिएका ७४२ कैदीमध्ये ३२७ जना कारागार फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले कारागारबाट गएका सबै कैदीलाई यथाशक्य छिटो कारागार फर्किन आग्रह गरेको छ । कैदीहरूको रिपोर्टका आधारमा उनीहरूका परिवार तथा आफन्तलाई फोन गरी छिटो पठाइदिन आग्रह गरिएको प्रजिअ अर्यालले बताए ।

कारागार नफर्किने कैदीलाई कानुनअनुसार कारबाही गरिने उनले बताए । चितवनबाट भागेका ५ कैदीमध्ये ४ जना रुपन्देहीबाट र एकजना तनहुँबाट समातिएका छन् । अन्य कारागारबाट भागेका १५ जनालाई चितवनमा पक्राउ गरी कारागार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?