
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरी प्रचण्डलाई संयोजक बनाएको छ।
- प्रचण्डले पार्टीभित्रका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने र सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ।
- प्रचण्डले नेतृत्व छोड्ने प्रस्ताव अस्वीकृत भएपछि आफूलाई नेतृत्वमा राख्ने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभएको छ।
१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् ।
काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो अभिव्यक्ति यसकारण अर्थपूर्ण छ– कि केन्द्रीय समितिको बैठकमा सानै स्वरमा भएपनि प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाज उठेको थियो ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्ष छाड्न र आफूलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिन प्रस्ताव नै राखेका थिए । तर, केन्द्रीय समिति प्रचण्डको प्रस्तावअनुसार ग भएर महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुँदा अध्यक्ष भन्ने पद नै रहेन । आयोजक समितिको संयोजकमा भने प्रचण्ड नै छन् ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार आगामी मांसिरको अन्तिम सातासम्म विशेष महाधिवेशन गरिसक्ने निर्णय भएको छ । विशेष महाधिवेशन अगाडि समेत छरिएर रहेका र बिचार मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकताको पहल गर्ने निर्णय भएको छ ।
माओवादीका अर्का नेता नेता रहिश साहका अनुसार यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन हुनेछ । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ । अन्य पार्टीहरूसँग एकताको पहल गर्ने जिम्मेवारी समेत प्रचण्डले नै पाएका छन् ।
माओवादीको निर्णय लगत्तै एउटा प्रश्न उठेको छ– प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन आयोजक समिति किन ?
माओवादी नेता माधव सापकोटाका अनुसार यसबारे तीन वटा तर्क रहेका छन् ।
पहिलो : बहुसंख्यक केन्द्रीय सदस्यले अहिले प्रचण्डकै नेतृत्वमा अगाडि जानुपर्छ र यो नै उपयुक्त हुन्छ भन्ने मत प्रकट गरे ।
दोस्रो : केन्द्रीय समिति र अध्यक्ष दुवै महाधिवेशनबाटै चयन भएर आएकाले अर्को महाधिवेशनसम्मै गएर नेतृत्वबारे निर्णय लिनुपर्छ भन्ने स्पष्ट अडान ।
तेस्रो : विधि र प्रक्रिया अनुसार पनि महाधिवेशनबाट नेतृत्व चयन हुन्छ । अन्यथा बिचमा नेतृत्व परिवर्तन गर्नुपर्ने गरी नेतृत्वबारे प्रश्न उठेको छैन ।
जेनजी आन्दोलनका क्रममा पूराना पार्टीका नेतृत्व समेत बदलिनुपर्ने विषय उठेको थियो । यसको जवाफमा नेता सापकोटा सडकमा सुशासन र भ्रष्टाचारको विषय उठेको र त्यसलाई अधिकतम सम्बोधन गर्ने प्रयास गरिएको बताउँछन् ।
बदलिएको परिथिस्तिमा माओवादीलाई बदल्न कति प्रयत्न भयो ?
जवाफमा सापकोटा भन्छन्, ‘एउटा सुरुवात भएको छ । यो पूर्ण भने भएको होइन । सबैका कुरा सुन्छौं भनिएको छ । महाधिवेशनसम्म छलफल गरेर युग अनुसारको नेतृत्व र नेता चयनमा माओवादी पुग्छ ।’
प्रतिवद्धतै प्रतिवद्धता
महाधिवेशन आयोजक समितिको संयोजक हुँदै गर्दा प्रचण्डले रुपान्तरणका लागि जे गर्न आवश्यक छ त्यो गर्न तयार रहेको बताएका छन् । पार्टीलाई पनि त्यसअनुसार अगाडि बढाउन प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रचण्डको प्रतिवद्धता अनुसार केन्द्रीय समितिले ‘पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने’ निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे। सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले निष्कर्षहरू प्रस्तुत गरेका थिए । जसअन्तर्गत मा एउटा बुँदामा माओवादी नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव रहेको छ ।
जसमा भनिएको छ, ‘पार्टीका सबै नेताहरुको एकाघरको सम्पत्ति तथा पार्टीका सम्पत्ति छानबीनका लागि पूर्व महालेखा परीक्षक या स्वतन्त्र व्यक्तिहरुको सहभागितामा सम्पत्ति छानबीनको कार्यविधि तयार गरी आयोग गठन गर्ने ।’
जवाफमा प्रचण्डले माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।
परिरवारवादको विषयमा ख्याल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भनेका छन्, ‘नेपोटिज्म हामीमाथि पनि आरोप छ, कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिनेछौं । कुकस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउनेछौं ।’
पार्टीमा युवा पुस्तालाई समेट्ने पनि प्रचण्डको प्रतिवद्धता छ । प्रचण्डको प्रतिवद्धा अनुसार निर्णयमा लेखिएको छ, ‘जेन–जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।’
यो निर्णयमा पुग्नु अगाडि प्रचण्डले पार्टीका सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य गर्ने घोषणा गरेका थिए । यसका लागि अध्यक्ष प्रचण्डले निर्देशन नै दिएका छन् । प्रचण्डले भनेका छन्, ‘अब केन्द्रीय समिति बनाउदा या वडा समिति पालिका समिति या प्रदेश बनाउदा पनि हामीले युवाहरुलाई प्राथमिकता दिनेछौं, सहभागिता अनिवार्य हुनेछ ।’
आफूले केही दिन अगाडि जेन्जी युवाहरुको प्रतिनिधि मण्डलसँग भेटघाट गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘उहाँहरुले कम्तीमा २५ प्रतिशत चाहियो सबै संरचनामा भन्नुभएको छ । केन्द्रीय समितिमै जेन्जीलाई यही चाहियो भन्नुभएको छ ।’
‘प्रतिशतका हिसाबले के कति सकिन्छ, तर अधिकतम समेट्ने र सहभागिता अनिवार्य गर्ने नीति आमीले पास ग¥यौं’ प्रचण्डले केन्द्रीय समितिको बैठकमा भने । जसअनुसार निर्णय भएको छ ।
आईटी दक्षतालाई उच्च प्राथामिकतामा राखेर काम गर्ने पनि प्रचण्डको प्रतिवद्धता छ ।
साथै, आफ्नो प्रस्तावमा असहमति राख्ने वरिष्ठ उपाध्ष्क्ष नारायाणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावलाई समेत समेट्न् र महाधिवेशनसम्म छलफल गर्दै जाने प्रचण्डको प्रतिवद्धता छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए । यो प्रस्ताव अस्वीकृत भएको छ ।
उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव थियो ।
शर्माको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
तथापि, असहमतिलाई समेत ख्याल गरेर अगाडि बढ्ने प्रचण्डको प्रतिवद्धता छ । अर्थात, आफ्नो विरोध गर्ने पक्षलाई समेत साथमै लिएर अगाडि बढ्ने भनेर प्रचण्डले सबैको मन जित्ने प्रयास गरेका छन् ।
उस्तै प्रवृति
प्रचण्ड लामो समयदेखि पार्टी नेतृत्वमा छन् । समयअनुसार आफूलाई बदल्न सक्ने र नेतृत्वका लागि माहोल बनाउने सक्ने उनको क्षमता यसपटकको केन्द्रीय समितिमा समेत प्रकट भएको छ ।
जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा गत आइतबार पदाधिकारीको बैठक राखे । केन्द्रीय समिति भंग गर्ने र आगामी महाधिवेशनमा विशेष महाधिवेशन गर्ने प्रस्ताव ल्याए । त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउँदै ल्याएर केन्द्रीय समितिबाट समेत पारित गराए ।
प्रचण्डको यो तदारुकतालाई लिएर माओवादीभित्र उनको समर्थन गर्ने जमात उस्तै छ । केन्द्रीय समिति भंग मात्रै गराएनन् । जेनजीका माग सम्बोधन गर्र्ने, प्रतिनिधित्व अनिवार्य गराउने, नेताहरूको सम्पतिको छानबिन गर्ने, नातावादको अन्त्य गर्ने लगायतका प्रतिवद्धता जनाएर पार्टी बदलिएको सन्देश प्रवाह गर्न सफल भए ।
बिहीबार र शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा अधिकांशले प्रचण्डको तदारुकताको प्रशंसा गरे । ‘अन्य दलले माओवादीबाट सिक्नुपर्छ । नयाँ पुस्ताको माग र चाहना हामीले सुन्यौं । यसको नेतृत्व प्रचण्डको गर्नुभएको छ । यो बेला अर्को नेतृत्व खोज्ने कुरा आउँदैन’ माओवादी केन्द्रकी नेता सिता थेवेले भनेकी छन् ।
नेताहरूका अनुसार सिता थेवेकै जस्तै अभिव्यक्ति अधिकांशको थियो । एक नेताका अनुसार ९५ प्रतिशत बढी प्रचण्डको पक्षमा उभिएका थिए । केही प्रतिशत तटस्थ जस्ता देखिएका थिए भने सानो संख्यामा केन्द्रीय सदस्य उपमहासचिव जनार्दन शर्माको प्रस्तावको पक्षमा खुलेका थिए । ‘वरिष्ठ उपाध्यक्षको पक्षमा उभिने एक जना पनि देखिएनन्’ माओवादी केन्द्रीय सदस्यको दृश्य केलाउँदै भने ।
अर्थात् फेरि पनि माओवादीको नेतृत्वमा आफूलाई राखिराख्ने वातावरण प्रचण्डले बनाउने प्रयत्न जारी राखेका छन् । प्रचण्डकै शब्दमा नेतृत्व कसैले कसैलाई टिका लगाएर दिने विषय होइन ।
आफूले कसरी नेतृत्व लिएको हो त्यसको पृष्ठभूमि र इतिहास ख्याल गरेर बोल्न र अर्को नयाँ नेतृत्व निर्माणमा लाग्न प्रचण्डको नेताहरूलाई प्रष्ट सन्देश छ । आफ्नो इतिहासलाई प्रचण्डले न्यूनतम बुझाइ भनेका छन् ।
बिहीबार नै प्रचण्डले भनेका थिए । ‘कमसेकम पनि यो बारेमा न्यूनतम हाम्रो बुझाईमा एकरुपता हुन जरुरी छ’ प्रचण्डले भनेका छन्, ‘मैले पार्टीको नेतृत्व बल गरेर, अनेक गरेर लिएको होइन ।’
२०४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि एउटा विशेष परिस्थितिमा तीन वर्षसम्म आफूलाई नेतृत्व गर् भन्दा हुदैँन भनेर रोक्दा रोक्दै अन्तिममा नेतृत्व लिनैपर्ने परिस्थिति आइपरेको र नेतृत्व लिएको प्रचण्डको भनाइ छ ।
यसो भनिरहँदा उनले महासचिव देव गुरुङलाई साक्षी राखेका छन् । ‘गुरुङजी यहाँ हुनुहुन्छ’ प्रचण्डले भनेका छन्, ‘हामी सँगै थियौं । कस्तो परिस्थितिमा म पार्टीको ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि पार्टीको महामन्त्री बन्न पुगेँ ।’
आफू महामन्त्री बनिसकेपछि एकता केन्द्र बन्ने, जनयुद्ध हुने सबै सबै कुराहरुका कथाहरु सबैलाई स्मरणमा रहेको भन्दै उनले दुई बुँदामा उही कुरा दोहो¥याएका छन् ।
प्रचण्डकै शब्दमा ‘पहिलो कुरा– जिम्मेवारीबाट पन्छिने आन्दोलनबाट निष्क्रिय हुने भन्ने मेरो सम्भव पनि छैन, मेरो नेचर पनि होइन ।’
‘दोस्रो कुरा : पद लोभता मेरो नेचर होइन । मलाई पद नभए नहुने भन्या जस्तो गरि प्रतिक्रियावादी र अवसरवादीहरुले जसरी प्रचार गरेका छन्, त्यो सत्य होइन । म नेतृत्वमा आएको पनि बल गरेर मलाई बनाउनै पर्यो भन्ने ढंगले होइन । जबरजस्ती मेरो काधमा जिम्मेवारी आइपर्यो र मैले बोकेको हो ।’
आफू नेतृत्वमा आएपछि २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको र आफूहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन गरेको प्रचण्डको भनाइ छ ।
प्रचण्डका अनुसार एकता केन्द्र बन्यो, एकता महाधिवेशन भयो । माओवादी बन्यो, जनयुद्ध भयो । जनआन्दोलन भयो, शान्ति सम्झौता भयो, संविधान सभा भयो, संघीय गणतन्त्र मुलुकमा आयो । यो सबैमा पार्टीले र जनताले आफूलाई भरोसा गरेर विश्वास गरेर जे जिम्मेवारी दियो त्यसमा आफू लागेको उनले भनेका छन्, ‘आज पनि पार्टीले मलाई जिम्मेवारी दियो, मैले सकेको कुरा गर्ने कोशिश गरिराख्ने छु ।’
अहिले जुन बिन्दुमा पार्टी रहेको छ, जुन किसिमका देशी विदेशी प्रतिक्रियावादी चलखेल, षडयन्त्र तीव्रतामा भएका छन्, यस्तो परिस्थितिमा नेतृत्वको विषय उज्यालिएको भनेर प्रचण्डले असन्तुष्टि समेत जनाए। अर्थात, मुलुकको परिस्थिति ठीक नरहेको र यस्तो बेला बलियो नेतृत्व चाहिने भनेर प्रचण्डले आफैंलाई त्यस्तो नेतृत्व हो भनेर प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया 4