
११ असोज, काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । हालै भएको अभिभावकको बैठकमा उनले राजीनामा दिएको जानकारी गराइएकाे छ ।
‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।
गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ ।
सामाजिक सञ्जालमा यो स्कूल राणाको निजी लगानीको स्कूल रहेको भन्दै अफवाह फैलिएको थियो । तर, वास्तविकतामा यो स्कूल नाफा नकमाउने फाउण्डेसनद्वारा सञ्चालित हो जहाँ आरजु राणा ब्यबस्थापन समिति अध्यक्षमात्र थिइन । उनको कुनै लगानी थिएन र प्रतिफल पनि पाउँथिनन् ।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । अभिभावक स्रोतका अनुसार युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ । ‘सुरुको १५ वर्ष संस्थापक ट्रष्टी, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइलाई ट्रष्टीले स्कूल चलाउने रोडम्यापअनुसार काम भइरहेको बताइएको छ’, एक अभिभावकले भने ।
हाल अनलाइनबाट कक्षा संचालन भइ रहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ । विद्यालले पूर्णरुपमा फेस टु फेस कक्षा ३-४ महिनाभित्र संचालन गर्ने योजना बनाएको छ ।
अफवाहको सिकार
गत २४ गतेको आन्दोलनमा युलेन्स स्कुल अफवाहको सिकार बनेको थियो । गत बुधबार विज्ञप्ति निकालेर युलेन्सले फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐन मुताबिक डा. देउवालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्ति गरेको थियो ।
तर, केही टेलिभिजनहरुले युलेन्स स्कूल आरजु रााणको निजी स्कूल रहेका भन्दै पटकटक प्रचारबाजी गरेका थिए । सामाजिक सञ्जालमा पनि यसको संरचना र लगानीका बारेमा नबुझी अफवाह फैलिएको थियो । यहीकारण जेनजी आन्दोलनमा युलेन्स आक्रमणको तारो बनेको हुनसक्ने बिद्यालय ब्यबस्थापनको बुझाई छ ।
‘साबिकको जिल्ला शिक्षा कार्यालयले उहाँलाई यस युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्यो । त्यो क्रम आजसम्म निरन्तर छ’, युलेन्सले भनेको छ, ‘यो ठ्याक्कै त्यस्तै अध्यक्षता हो, जसरी सामुदायिक विद्यालयको व्यवस्थापनमा स्थानीय व्यक्तिहरू हुन्छन् । सामुदायिक विद्यालयहरू व्यवस्थापन समितिका पनि हुन त हुन्छन्, तर अपनत्वको हदसम्म मात्रै, स्वामित्वको हदमा होइन । स्वामित्व त सरकारको अधीनस्थ हुन्छ । युलेन्सको सवालमा पनि डा. आरजु राणा देउवाको संलग्नता त्यही सीमासम्म हो । विद्यालय युलेन्स एजुकेशन फाउन्डेशनले सञ्चालन गर्छ । डा. देउवा फाउन्डेशनमा ट्रस्टी हुनुहुन्न । व्यवस्थापन समितिमा मात्र हुनुहुन्छ, जो सामुदायिक विद्यालयको व्यवस्थापन समिति सरहको अधिकारमा क्रियाशील रहन्छ । युलेन्ससँगको उहाँको सम्बद्धताको सीमा यति नै हो ।’
पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि आरजु राणाले विद्यालयबाट अलग हुने प्रस्ताव पनि गरेकी थिइन् । तर, डा. आरजु राणा देउवाको नाफा कमाउने व्यवसायका रूपमा दूष्प्रचार गरिएको निष्कर्ष युलेन्सको छ ।
‘अफवाह फैलाइयो । समाजमा विष फैलाउन कति सजिलो ! डा. देउवाले यो दुष्प्रचारको पटकपटक खण्डन पनि गर्नुभयो, तर सञ्चारजगत्, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले यो अफवाहको तेज यात्रालाई देखेर पनि नदेखेझैं गरे, जसको सिकार आज युलेन्स भएको छ । जस–जसले युलेन्सविरुद्ध भ्रम, अफवाह र दुष्प्रचार फैलाए, ती सबैलाई हाम्रो चुनौती छ’, युलेन्सले भनेको विज्ञप्तिमार्फत भनेको छ ।
प्रतिक्रिया 4