+
+
Shares

अध्ययन भन्छ- गर्मीको लहरले सन् २०२३ मा करिब एक लाख मानिसको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण विश्वभर करिब एक लाख जनाको मृत्यु भएको छ।
  • त्यसमध्ये करिब ९७ हजार मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ।
  • अध्ययनले सन् २०२३ लाई औद्योगिक युगअघि भन्दा १.४५ डिग्री सेल्सियस बढी तापक्रम भएको सबैभन्दा तातो वर्षको रूपमा चिन्हित गरेको छ।

२१ असोज, मेलबर्न । अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक विश्वव्यापी अध्ययनले सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण करिब एक लाख मानिसको मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग सम्बन्धित भएको निष्कर्ष निकालेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको उक्त अध्ययनका अनुसार सन् २०२३ मा विश्वभर अनुमानित एक लाख ७८ हजार ४८६ जनाको अतिरिक्त मृत्यु तातो लहरका कारण भएको थियो, जुन प्रति १० लाख जनसङ्ख्यामा २३ मृत्यु बराबर हो । तीमध्ये आधाभन्दा बढी, करिब ९७ हजार मृत्यु, मानव–निर्मित जलवायु परिवर्तनका कारण भएको बताइएको छ ।

अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले ६७ देश र क्षेत्रका दुई हजार १३ स्थानबाट सङ्कलित जलवायु र मृत्युदरका तथ्याङ्कहरूको विश्लेषण गरेको थियो । नतिजाले तातो लहरसँग सम्बन्धित करिब ५४ प्रतिशत मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव थियो भन्ने देखाएको छ ।

अध्ययनले सन् २०२३ लाई औद्योगिक युगअघि भन्दा १.४५ डिग्री सेल्सियस बढी तापक्रम भएको इतिहासकै सबैभन्दा तातो वर्षको रूपमा चिन्हित गरेको छ ।

अस्ट्रेलियाको मोनास विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार दक्षिणी युरोपमा प्रति १० लाख जनसङ्ख्यामा १२० जनाको तातो लहर मृत्यु दर रेकर्ड गरिएको थियो । त्यसपछि पूर्वी र पश्चिमी युरोप क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए ।

तातो लहरका कारण भएका अधिकांश मृत्युहरू उत्तरी गोलार्धका उपोष्णकटिबन्धीय र समशीतोष्ण क्षेत्रमा केन्द्रित थिए । त्यहाँ लामो समयसम्मको चरम तापक्रमले हृदय, श्वासप्रश्वास तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्या तीव्र बनाएको अध्ययनले उल्लेख गरेको छ ।

अध्ययनको निष्कर्षले भनेको छ, ‘बढ्दो ग्लोबल वार्मिङको सन्दर्भमा भविष्यमा मृत्यु दर घटाउन तत्काल प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेप र जलवायु शमन रणनीतिहरू आवश्यक छन् ।’ सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?