News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले डेढ महिना लामो विदेश यात्राबाट विश्वकप छनोट च्याम्पियन ट्रफी बोकेर स्वदेश फर्किएको छ।
- नेपालले विश्वकप लिग २ मा यूएईमा भएको शृंखलामा चारवटै खेलमा पराजित भएर अंकविहीन भएको छ।
- नेपाली टोलीले ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा कमजोरी देखाएको सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वीकार गर्नुभएको छ।
२१ कात्तिक, काठमाडौं । विहीबार मध्यराति नेपाली क्रिकेट टोली डेढ महिना लामो विदेश यात्राबाट स्वदेश फर्कियो, साथमा विश्वकप छनोटको च्याम्पियन ट्रफी बोकेर ।
यो डेढ महिने यात्रामा नेपालका तीन ठूला लक्ष्य थिए- तीन महत्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउने र दुईवटाको त ऐतिहासिक उपाधि नै जित्ने । सुरुमा यूएई पुगेको नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० शृंखला जितेर आफ्नो प्रमुख लक्ष्य पूरा गर्यो । उक्त ट्रफी यसअघि नै नेपाल ल्याइसकिएको थियो ।
विहीबार ल्याइएको ट्रफी विश्वकप छनोट च्याम्पियनको हो । प्रमुख तीनमध्ये दुई लक्ष्य हासिल गरेर स्वदेश फर्कंदा पनि राष्ट्रिय क्रिकेट टोलीले आशाको सञ्चार भने गर्न सकेन । किनकि, नेपालले यो लामो भ्रमण सुखद रूपमा भने टुंग्याउन सकेन ।
विश्वकप लिग टु मा भने खराब प्रदर्शन गर्दा चारवटै खेलमा पराजित भयो । नेपाल, युएई र अमेरिका सम्मिलित एकदिवसीय सिरिजमा नेपाल ब्याटिङ, बलिङ, फिल्डिङ सबै क्षेत्रमा कमजोर देखिँदा अंकविहीन हुनुपर्यो ।
लगातारजसो टी-२० फर्म्याटमा सक्रिय रहँदा नेपाली टोलीले ओडीआईमा भने संघर्ष गरिरहेको छ । एकदिवसीय विश्वकप खेल्ने तथा एकदिवसीय मान्यता जोगाउने मार्गका रूपमा रहेको क्रिकेट विश्वकप लिग २ मा खराब अवस्थामा रहेको नेपाललाई अब आगामी दिन थप चुनौतीपूर्ण बन्ने देखिएको छ ।
ओडीआईमा गुमेको लय
नेपाली क्रिकेट टोलीमा नयाँ प्रशिक्षकका रूपमा अस्ट्रेलियाका स्टुअर्ट ल नियुक्त भएपछि नेपालले खेलेको लिग २ शृंखलामा शानदार प्रदर्शन गर्दै पुनरागमनको संकेत देखिएको थियो ।
ल आउनुअघि १२ खेलमा ६ अंक मात्र जोडेर नेपाल तालिकाको पुछारमा थियो । उनको आगमनपछि जुनमा स्कटल्यान्डमा भएको लिग २ शृंखलामा नेपालले राम्रो प्रदर्शन गर्यो ।
युरोपियन भूमिमा गएर लिग २ कै दुई बलिया प्रतिद्वन्द्वी स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको शृंखलामा नेपालले ३ खेल जित्यो र एक हार पनि जितको निकै नजिक पुगेर बेहोरेको हार थियो ।
त्यसपछि भर्खरै यूएईमा सम्पन्न शृंखलामा पनि सोही किसिमको नतिजा दोहोर्याउने आकलन विपरित नेपाल चारवटै खेलमा पराजित भएर अंकविहीन भयो, जुन नेपालका लागि लिग २ कै खराब प्रदर्शन थियो ।

यसअघिका शृंखलामा जितविहीन रहेपनि वर्षाका कारण प्राप्त भएको १ अंक भएपनि लिएर फर्किएको नेपालले यसपटक भने ४ वटै हारको नतिजा सामना गर्नुपर्यो ।
लगातार टी-२० क्रिकेटमा सक्रिय हुनु र एकदिवसीय क्रिकेटमा त्यति धेरै सक्रिय नहुँदा नेपालले ओडीआईमा लय नै गुमाएको छ र आगामी दिनमा थप चुनौतीपूर्ण अवस्था आउन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले ओडीआईमा प्रदर्शन राम्रो हुन नसकेको स्वीकार गरे । ‘हाम्रो टुर पनि लामो नै भयो, फर्म्याट पनि फरक भयो अनि हामीले राम्रो पनि खेल्न सकेनौं । खेलाडीहरू पनि त्यति फ्रेश हुन सकेनौं’ मल्लले भने, ‘अरु कुरालाई दोष दिनुभन्दा पनि हामीले राम्रो खेल्न सकेको भए नतिजा अर्कै हुन सक्थ्यो।’
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवालले समग्र टोली नै टी-२० मा बढी केन्द्रित हुँदा ओडीआईमा समस्या देखिएको बताउँछन् । ‘हामी अलिकति टी-२० मोडमा बढी भयौं, लामो फर्म्याटबाट छोटोमा अडाप्ट गर्न चाहिँ सजिलो हुन्छ तर ठीक उल्टो भइरहेको छ’ अग्रवालले अनलाइनखबरसँग भने, ‘खेलाडीहरूले पनि लामो समय टी-२० कै लागि अभ्यास गर्नुभयो र लगत्तै वान डेमा खेल्न सजिलो पनि हुँदैन।’
अमेरिका पनि पछिल्लो समय बलियो हुँदै आएको र यूएईले घरेलु मैदानमै खेलेकाले पनि नेपाललाई थप दबाब परेको उनको भनाइ छ ।
तीनवटै पक्षमा कमजोर प्रदर्शन
लिग २ को यूएईमा भएको शृंखलामा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा कमजोर देखियो । नेपालले समान किसिमको प्रदर्शन देखाउनै सकेन । पछिल्ला दुई खेलमा केही सुधार देखिएको भएपनि नतिजा भने परिवर्तन हुन सकेन ।
नेपालको ब्याटिङमा सबैभन्दा प्रमुख समस्या देखिएको छ । एकदिवसीयमा पावरप्लेमा बनेको रनले इनिङ निर्माणको आधार तय गर्छ, जसकारण सशक्त सुरुवातको आवश्यकता पर्छ ।
नेपालको ओपनिङ नै राम्रो हुन नसक्दा पावरप्लेमा रन बन्न सकेन । दुईमध्ये एक ओपनर हरेक खेलमा ५ ओभरभित्रै आउट भए, ३ खेलमा त २ ओभर पनि सुरुवाती साझेदारी टिक्न सकेन । हरेक खेलमा त्यही कुरा दोहोरिँदा स्थायी समस्या नै बनेको छ ।
ओपनरहरू चाँडै आउट भइदिँदा मध्यक्रमका ब्याटरहरू सुरुवाती ओभरमै आएर खेल्नुपर्ने अवस्था बन्छ जसले गर्दा खेल नै स्लो भइदिन्छ र दबाब पनि बढ्दै जान्छ । खेलको अन्त्यसम्म नै त्यसले प्रभाव पार्ने हुन्छ ।
त्यसमाथि पनि एउटा राम्रो साझेदारी बनिसकेको अवस्थामा खेलाडीहरूले विकेट उपहारका रूपमा दिने गरेका छन् र इनिङलाई लम्ब्याउन सकिरहेका हुँदैनन् । राम्रो साझेदारी तोडिएपछि नियमित अन्तरालमा विकेट गुमिराख्ने पनि नेपालको ब्याटिङको समस्याका रूपमा छ ।

यस्तै बलिङको कुरा गर्नुपर्दा नेपालको ब्याटिङको ठीक विपरित छ । विपक्षीले संयमित भएर राम्रो साझेदारी बनाएमा उक्त साझेदारी तोड्न नेपाली बलरले संघर्ष नै गर्नुपरेको देखिएको छ ।
यो परिदृश्य चारवटै खेलमा देखियो । पहिलो खेलमा अमेरिकासँग मिडल ओभरमा र फिनिसिङ ओभरमा नेपालले साझेदारी तोड्न लामो समय कुर्नुपर्यो । दोस्रो खेलमा यूएईसँग सुरुवाति विकेट लिनै समय लगाएको नेपालले मिडल ओभरमा पनि आवश्यक समयमा विकेट निकाल्न सकेन ।
तेस्रो खेलमा नेपालले २१ देखि ४० ओभरमा कुनै विकेट निकाल्न नसक्दा अमेरिकाले शतकीय साझेदारी गरेर लक्ष्य पूरा गर्यो भने चौथो खेलमा यूएईले पनि मिडल ओभरमा शतकीय साझेदारी गर्यो ।
यीबाहेक नेपालको डेथ बलिङ पनि समस्याका रूपमा छ । यसअघिकै समस्याका रूपमा रहँदै आएको डेथ बलिङले नेपाललाई बारम्बार सताउँदै आएको छ ।
तेस्रो खेलमा नेपालले अन्तिम १० ओभरमा ७१ रन डिफेन्ड गर्न सकेको थिएन । त्यसअघि पनि नेपालले अमेरिकाको मध्यक्रममा बनेको साझेदारी तोड्न सकेको थिएन । फलस्वरुप अमेरिकाले १ ओभर अगावै २७३ रनको लक्ष्य पूरा गरेको थियो ।
पहिलो खेलमा पनि नेपालले अमेरिकाविरुद्ध अन्तिम १० ओभरमा ९१ रन बेहोरेको थियो र जम्मा १ विकेट मात्र निकालेको थियो । त्यही खेलमा नेपालको नेपालको ब्याटिङ पनि ‘कोल्याप्स’ हुँदा फराकिलो हार बेहोर्यो ।
यसपछिका चुनौती
नेपाली क्रिकेट टोली लिग २ तालिकामा २० खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । नेपालभन्दा तल यूएईको २० खेलमा १० अंक पुगेको छ । नेपालले लिग २ मा यसपछि अब घरेलु मैदानमा ओमान र यूएईसँग शृंखला खेल्नेछ ।
क्यानको क्यालेन्डरमा उल्लेख भएअनुसार डिसेम्बरमा हुने उक्त शृंखलाअघि ओमानसँग २ ओडीआई खेल्ने कुरा पनि तय छ । यद्यपी एनपीएल क्रिकेटका कारण र टी-२० विश्वकपका कारण उक्त शृंखला विश्वकपपछि मात्र हुने सम्भावना देखिएको छ ।
मुख्य चुनौतीको कुरा के छ भने एनपीएल टी-२० पछि नेपालले विश्वकपकै तयारी गर्ने बुझिएकाले एकदिवसीय खेल्ने छैन । जसको अर्थ नेपालले विश्वकपपछि मात्रै एकदिवसीय खेल्ने अवस्था दोहोरिने वाला छ ।
पूर्वकप्तान अग्रवाल होम सिरिज भएकाले केही फाइदा त हुने तर दबाब भने बढ्दै जाने बताउँछन् । ‘हामी लगभग पुछारमै छौं, तर अब जति खेल सकिँदै जान्छन्, दबाब बढ्दै जान्छ, जित्नैपर्ने बाध्यता आउँछ त्यसले अझै गाह्रो बनाउँछ’ उनले भने, ‘होम सिरिज भएर केही फाइदा त होला तर जित त आवश्यक नै हुन्छ।’
टी-२० मा गरेजस्तो तयारी र अभ्यास अब ५० ओभरको क्रिकेटमा पनि बढाइनुपर्ने अग्रवाल बताउँछन् । ‘अब लामो फर्म्याटको घरेलु संरचना र खेलाडीहरू पनि त्यसैअनुसार छुट्याएर खेलहरू गर्न सकेमा प्रदर्शन र नतिजामा सुधार आउन सक्छ’ उनले भने ।
प्रतिक्रिया 4