News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल जेनजी फ्रन्टले २३ र २४ भदौमा भएको जेनजी विद्रोहका माग र राजनीतिक सन्देशलाई संस्थागत गर्न ९ बुँदे सम्झौतापत्र सरकारलाई बुझाएको छ।
- सम्झौतापत्रमा शहीद घोषणा, न्याय, परिपूरण र दीर्घकालीन स्मरणका लागि स्वतन्त्र आयोग गठन प्रस्ताव गरिएको छ।
- मस्यौदाले संविधान संशोधन, सुशासन सुधार र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न नीति सुधारका खाका तयार गरेको छ।
२५ कात्तिक, काठमाडौं । नेपाल जेनजी फ्रन्टले २३ र २४ भदौमा भएको जेनजी विद्रोहका माग, जनभावना र राजनीतिक सन्देशलाई संस्थागत रूप दिन तयार गरेको ९ बुँदे विस्तृत सम्झौतापत्रको मस्यौदा आज सरकारलाई बुझाएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनाल र गोविन्दनारायण तिमिल्सिनाको माध्यमबाट फ्रन्टले उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा फ्रन्टकी संयोजक रक्षा बम, सदस्यहरू युजन राजभण्डारी, आदित्य कर्ण, रितु खड्का, अमृता बन लगायतको उपस्थितिमा फ्रन्टका संवाद समिति सदस्य अधिवक्ता मनिष खनालले सम्झौताको मस्यौदा सरकारलाई बुझाएका हुन् ।
अधिवक्ता खनालका अनुसार यस मस्यौदामा विद्रोहको राजनीतिक अर्थ, न्यायको आवश्यकता र समाधानको दिशालाई स्पष्ट रूपमा परिभाषित गरिएको छ ।
फ्रन्टले तयार गरेको सम्झौताको मस्यौदामा जेनजी विद्रोहलाई नेपालको लोकतान्त्रिक अभ्यासमा देखिएको असन्तुष्टि, प्रतिनिधित्वको अभाव र शासन संरचनाप्रतिको अविश्वासका प्रतिक्रिया स्वरूप उत्पन्न राजनीतिक आन्दोलनको रूपमा औपचारिक मान्यता दिन प्रस्ताव गरिएको छ ।
मस्यौदाले यो विद्रोहलाई हिंसारहित नागरिक अभिव्यक्ति र सामाजिक न्याय, पारदर्शिता, उत्तरदायित्व र समावेशिताको मागका रूपमा परिभाषित गर्दै यसलाई नयाँ पुस्ताको राजनीतिक चेतनाको दस्तावेजका रूपमा मान्यता दिने उल्लेख गरेको छ ।
मस्यौदाको दोस्रो खण्डमा २३ र २४ भदौका घटनामा मारिएका नागरिक र आन्दोलनकारीलाई शहीद घोषणा गर्दै शहीद परिवार र घाइतेहरूको न्याय, परिपूरण र दीर्घकालीन स्मरण सुनिश्चित गर्न स्वतन्त्र आयोग गठन गर्न प्रस्ताव गरिएको छ । आयोगले गरिने सिफारिसलाई सरकारद्वारा कार्यान्वयन गर्नुपर्ने स्पष्ट प्रावधान मस्यौदामा समावेश गरिएको छ ।
तेस्रो खण्डमा घटनाको निष्पक्ष छानबिन र जिम्मेवार अधिकारीहरूको अभियोजन सुनिश्चित गर्न जाँचबुझ आयोगलाई सुदृढ कार्यादेश दिने माग गरिएको छ ।
मस्यौदाले अपराध र आन्दोलनबीचको भिन्नता सुनिश्चित गरी गैरन्यायिक बल प्रयोग र मानवअधिकार उल्लङ्घनका घटनाको पुनरावृत्ति रोक्ने कानुनी तथा संरचनागत सुधारका दिशामा सरकारलाई अग्रसर हुन आह्वान गरेको छ ।
चौथो र पाँचौं खण्डमा सुशासन, जवाफदेहिता र निर्वाचन प्रणालीमा आमूल सुधारका एजेन्डा प्रस्तुत गरिएको छ । सार्वजनिक निकायमा हुने दलीय भागबण्डा र भ्रष्टाचार अन्त्य गर्न युवा र जेनजी प्रतिनिधित्व सहितको विज्ञ कार्यदल गठन, सम्पत्ति स्रोतको छानबिन र अवैध सम्पत्तिको राष्ट्रियकरण, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न आवश्यक पूर्वाधार विकास र आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन कानुनी सुधार गर्नुपर्ने प्रस्तावहरू मस्यौदामा समेटिएका छन् ।
संविधान संशोधनसम्बन्धी खण्डमा, नेपालको सार्वभौमिकता, स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मर्महरूलाई अक्षुण्ण राख्दै शासन प्रणालीलाई समयानुकूल र जनआकांक्षानुकूल बनाउने उद्देश्यसहित स्वतन्त्र र उच्चस्तरीय संविधान संशोधन सुझाव कार्यदल गठनको व्यवस्था गरिएको छ ।
मस्यौदाले समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गर्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, सीमान्तकृत, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक र आर्थिक रूपमा विपन्न खस आर्यसहित सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नीति संरचनात्मक सुधार गर्नुपर्ने खाका तयार गरेको छ ।
साथै, पारदर्शिता र डिजिटल स्वतन्त्रताको ग्यारेन्टीका विषयमा राज्यले आफ्नो जवाफदेहिता कानुनी, भौतिक र प्राविधिक रूपमा सुनिश्चित गर्नुपर्ने मस्यौदाको निष्कर्ष छ।
फ्रन्टकी संयोजक रक्षा बम भन्छिन्, ‘जेनजी विद्रोह नेपालको नयाँ पुस्ताले राजनीतिक असमानता, अस्थिरता र असन्तुष्टिको विरुद्धमा दिएको लोकतान्त्रिक उत्तर हो । यो मस्यौदा हाम्रो तर्फबाट उक्त विद्रोहलाई राज्यसँगको औपचारिक संवादमा रूपान्तरण गर्ने प्रयास हो । जेन-जी विद्रोहकै बलमा बनेको सरकार संवाद र सहकार्यका दिशामा सकारात्मक रहेकोमा विश्वस्त छौँ । हाम्रा मस्यौदाका विषयहरू सरकारका नीतिगत प्राथमिकतासँग मेल खाने किसिमका छन् ।’
प्रतिक्रिया 4