+
+
Shares

काठमाडौंमा मोडर्न मिथिला आर्ट चिनाउँदै मनिसा

मनिसा शाहका क्यानभासले मिथिला चित्रकलाको सौन्दर्य र ठमेलको आधुनिक स्पन्दनलाई एकै ठाउँ घोलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीकी मनिसा शाह यादवले काठमाडौं गेष्ट हाउसको आर्ट ग्यालरीमा 'मोर्डन एकोज अफ मिथिला ट्रेडिसन' नामक पहिलो एकल मैथिल चित्र प्रदर्शनी आयोजना गरेकी छन्।
  • उनले ३१ चित्रमा मैथिल परम्परा र आधुनिकताको मिश्रण प्रस्तुत गरेकी छन् र आफ्नो कलालाई 'घर–परिवार, आस्थाको भाषा र सम्बन्धको अभिव्यक्ति' भनी परिभाषित गरेकी छन्।
  • उनको चित्र नेपाल सरकारले जारी गर्ने ई–पासपोर्टमा समावेश भएको छ र काठमाडौंदेखि जनकपुरसम्म सार्वजनिक संरचनामा भित्तेचित्र बनाइसकेकी छन्।

३० कात्तिक, काठमाडौं । ठमेल आज पुरानो काठमाडौंको अनुहार भन्दा धेरै फरक देखिन्छ– बाहिरबाट हेर्दा आधुनिकता, व्यस्तता र रंगीन पर्यटन संस्कृतिको मिश्रण । तर यही आधुनिकताको बीचमा सर्लाहीकी मनिसा शाह यादवले मैथिल संस्कृति र परम्परामा आधुनिकताको रंग घोलेर क्यानभासमा उतारेकी छन् ।

काठमाडौं गेष्ट हाउसको आर्ट ग्यालरीमा मनिसाका मैथिल चित्र प्रदर्शनीमा राखिएको छ । मनिसाले आफ्नो पहिलो एकल प्रदर्शनीलाई ‘मोर्डन एकोज अफ मिथिला ट्रेडिसन’ नाम दिएकी छन् ।

शनिबार बिहानबाट खुला गरिएको ग्यालरीभित्र मैथिल परम्परामा नारीको मौन अनुभूति र आधुनिकताको समिश्रणयुक्त ३१ चित्र प्रदर्शनीमा राखिएको छ ।

सर्लाहीकी मनिसाको नाम केही वर्षयता समकालीन मिथिला चित्रकलाको प्रसंग चल्दा अनिवार्य रूपमा उठ्छ । यही सफल कलात्मक यात्राका कारण उनी अनलाइनखबरको २०८२ सालको ४० वर्ष मुनिका ४० युवाहरूको सूचीमा परेकी थिइन् ।

उनलाई अभिभावकहरू विज्ञान विषय पढाउन चाहन्थे । उनले जनकपुरमा प्लस टु साइन्स पनि पढिन् । तर हरेक खाली कापीको छेउमा उम्रिने रेखाहरूले उनलाई अन्तत: रंगतिरै ताने । यही घुम्तीले उनलाई ललितकला क्याम्पस पुर्‍यायो जहाँ उनले मिथिलाको परम्परागत पहिरनलाई आधुनिक कलाको दृष्टि दिएर हेर्न सिकिन् ।

प्रदर्शनी हेर्न आएका लोक सेवा आयोगका पूर्वसदस्य ब्रह्मदेव रायले भने, ‘मिथिला कला त धेरै देखेँ, तर मनिसाको रंग संयोजन र विषय–चयन नयाँ छ । परम्पराको सम्मान छ र पुनर्व्याख्या पनि छ ।’

उनले यस्ता धेरै समीक्षाहरू सुनेकी छिन् र आफ्नो कामको अर्थ दर्शकले आफैं पत्ता लगाउन दिन चाहन्छिन् । तर आफ्नो कलालाई परिभाषित गर्न खोज्दै मनिसा भन्छिन्, ‘मिथिला कला केवल सजावट होइन । यो घर–परिवार, आस्थाको भाषा र सम्बन्धको अभिव्यक्ति हो । त्यसलाई आजको समाजसँग जोडेर भन्न खोजेकी हुँ ।’

उनको जीवनमा एक दिन यस्तो पनि आयो जब आफ्नै कलाकृति नेपाल सरकारले जारी गर्ने ई–पासपोर्टमा समावेश भएको भयो । त्यो क्षणको जीवनको टर्निङ प्वाइन्ट थियो । ‘मैले बनाएको चित्र त्यहाँसम्म पुग्ला भन्ने सोचेकी थिइनँ,’ उनी सम्झिन्छिन्, ‘कलाकारका लागि त्यो केवल उपलब्धि होइन, एक किसिमको राष्ट्रिय मान्यता पनि हो ।’

क्यानभास मात्रै होइन, काठमाडौंका भित्तामा पनि फैलिएको छ मनिसाको कला यात्रा । काठमाडौंदेखि जनकपुरसम्म उनले विभिन्न सार्वजनिक संरचनामा भित्तेचित्र बनाइसकेकी छन् । काठमाडौंका सडक किनारका भित्तादेखि विशेषगरी सैनिक मुख्यालय भद्रकाली, विश्व बैंक मातहतको आईएफसी लगायतका कार्यालयका भित्ता पनि मनिसाकै कुचिबाट रंगीएका छन् ।

केही कामले त उनको आर्थिक स्थिरता पनि बनायो । कला हेर्ने समाजले कहिलेकाहिँ कलाकारलाई बिस्तारै हेर्छ, तर मनिसाका चित्रहरूले आफ्नै बाटो पकडेका छन् ।

मनिसाका चित्र हेर्न काठमाडौं गेष्ट हाउसको आर्ट ग्यालरीमा आएका मुस्ताङ निवासी आर्टिस्ट छिरिङ फोन्जो भन्छन्, ‘धेरै समयपछि काठमाडौं गेष्ट हाउसको आर्ट ग्यालरीमा यति मौलिक र पहिचान बोकेको प्रदर्शनी देख्न पाइयो ।’

आफ्नो कलाको प्रशंसाबाट उत्साहित मनिसा भन्छिन्, ‘मेरो ब्रस अझै चलिरहनेछ र मिथिलाले आफ्नो नयाँ रूप पनि मेरै क्यानभासहरूमार्फत पाउनेछ ।’

प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागि खुला छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?