News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबल पुस ३० गतेदेखि १७ क्लबको सहभागितामा सुरु हुँदैछ जसले घरेलु फुटबलमा खेलाडीलाई अवसर र आर्थिक लाभ दिनेछ।
- शहीद स्मारक ए डिभिजन लिग लगातार तेस्रो सिजन आयोजना हुन नसक्दा राष्ट्रिय टिम कमजोर हुँदै आएको एन्फाले जनाएको छ।
- राष्ट्रिय लिगमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ क्लब गरी कुल १७ क्लब प्रतिस्पर्धा गर्दैछन्।
२७ पुस, काठमाडौं । राष्ट्रिय लिग फुटबल सुरु हुन अब दुई दिन मात्र बाँकी छ । शहीद स्मारक ए डिभिजन लिग लगातार तेस्रो सिजन पनि आयोजना हुन नसक्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस पटक राष्ट्रिय लिग फुठबल आयोजना गर्दैछ ।
घरेलु फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग नहुँदा खेलाडीहरू विदेश पलायन भइरहेका छन् । जसले गर्दा राष्ट्रिय टिममा लगायत उही खेलाडी खेलिरहेका छन् भने नयाँ प्रतिभा आउन पाएका छैनन् । राष्ट्रिय टिमका लागि खेलाडी छान्ने पुन सानो छ । राष्ट्रिय टिमको प्रदर्शन कमजोर बनिरहेको छ ।
यस्तो अवस्थामा एन्फाले यही पुस ३० गते बुधबारदेखि राष्ट्रिय लिग सुरु गर्दैछ ।
राष्ट्रिय लिग आयोजना हुँदा खेलाडीहरूले खेल्न पाउने अवसर बन्दैछ । खेलाडीले आर्थिक रुपमा पनि केही आर्जन गर्न सक्छन् । तर काठमाडौं उपत्यका भित्र देखि मोफसलका क्लबहरू समेत सम्मिलित राष्ट्रिय लिगको कुनै चर्चा छैन ।
कुनै समय थियो कुन खेलाडीले कुन क्लबबाट खेल्दैछन् भनेर हेडलाइनहरू बन्थे । एक खेलाडी अर्को क्लबमा जाँदा सनसनी हुन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । अनुभवी र चर्चित खेलाडीहरूले विदेशलाई आफ्नो गातव्य बनाउँदा अहिले नेपालमा खेलाडी पाउने मुस्किल जस्तो अवस्था छ ।
राष्ट्रिय टिमका केही खेलाडीलाई छान्ने हो भने अरु धेरै खेलाडीको नाम कमलैलाई मात्र थाहा छ । अहिले हुन लागेको राष्ट्रिय लिगमा पनि कुन खेलाडी कुन क्लबबाट खेल्दैछन् धेरैलाई थाहा छैन ।
मछिन्द्र क्लब, एनआरटी, संकटा, सातदोबाटो, चर्च ब्वाइज जस्ता क्लबहरूले केही अनुभवी र चर्चित खेलाडीहरू टिममा अनुबन्ध गरेका छन् राष्ट्रिय लिगका लागि । यस्तै तीन विभागीय टोलीले पनि आफ्नै हिसावलमा टिम तयार पार्दैछ केही आन्तरिक र केही बाहिरका खेलाडी अनुबन्ध गर्दै ।
पहिलो पटक राष्ट्रिय लिग खेल्न छनोट भएका मोफसलका क्लबहरू लालिगुराँस एसोसिएसन, कांक्रेविहार युवा क्लब र नव जनगाजृतगि क्लबले मोफसलका युवा खेलाडीहरू समावेश गरेका छन् । यी तीन क्लबसँगै एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका अर्को क्लब चित्लाङ एफसी भने काठमाडौंकै क्लब हो ।
कुल १७ क्लबले राष्ट्रिय लिग खेल्न लाग्दा पनि एन्फा र क्लबहरूबाट खासै यस विषयमा चर्चा गरेको पाइँदैन । एन्फाले राष्ट्रिय लिग खेल्ने टिमको घोषणा र खेल तालिका सार्वजनिक गर्ने बाहेक केही प्रचार गरेको छैन ।
केही समयअघि मात्रै एमएसएम भिडियोलाई मार्केटिङ देखि ब्रोडकास्टिङ राइट्स दिएपनि उसले फेसबुकमा केही पोस्ट हाल्ने बाहेक केही काम गरेको छैन ।

यस्तै क्लबहरूमा सातदोबाटो युथ क्लब, फ्रेण्ड्स क्लब, मछिन्द्र क्लब, एनआरटी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज लगायतले केही खेलाडी अनुबन्ध भएको विषय सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपनि आधिकारिक रुपमा कतै केही सार्वजिनक भएको भेटिदैँन ।
बल्ल बल्ल हुन लागेको राष्ट्रिय लिगका लागि तयारी कमजोर जस्तै देखिएको छ । खेलकुदमा पछिल्लो समयमा जति धेरै प्रचार प्रसार भयो उति नै राम्रो हुने अवस्था छ । तर आयोजक र खेल्ने क्लबहरू भने चुप लागेर बसेको जस्तो देखिन्छ ।
तैपनि राष्ट्रिय लिग खेल्न क्लबहरू र खेलाडीहरू आन्तरिक तयारीमा भने जुटेको देखिन्छ । प्रचार नै नगरेपनि विभागीय क्लबहरू आफ्नै तरिकाले प्रशिक्षण गरिरहेका छन् भने अन्य क्लबहरू पनि विस्तारै मैदानमा प्रशिक्षण गरिरहेको देख्न सकिन्छ । यस्तै मोफसलका क्लबहरू पनि आफ्नो क्षेत्रबाट बिदा भएर राजधानी तिर हान्निएको छ ।
तेस्रो पटक हुँदैछ राष्ट्रिय लिग
नेपाली फुटबलको इतिहासमा तेस्रो पटक आयोजना हुन लागेको राष्ट्रिय लिगमा कुल १७ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
सुरुमा ए डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपमा सेमिफाइनल पुगेका ४ सहित १० क्लबले मात्र राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने तय थियो । तर पछि ए डिभिजनका ७ क्लब थपिएर १७ क्लब पुगेको हो ।
पछिल्लो समय लगातार शहीद स्मारक ए डिभिजन लिग नभइरहेको र एन्फादेखि युवा तथा खेलकुद मन्त्रालयसम्मको छलफल अनि फुटबल खेलाडी संघको आन्दोलनपछि एन्फाले राष्ट्रिय लिगमा अन्य क्लबका लागि पनि खेल्ने बाटो खुल्ला गरेको थियो ।
ए डिभिजनका सम्पुर्ण क्लबहरूलाई राष्ट्रिय लिग खेल्नका लागि दर्ता खुल्ला गरेपनि बाँकी ८ ए डिभिजन क्लबमध्ये ७ क्लबले नाम दर्ता गरेपछि कुल १७ क्लब पुगेको हो ।
पछिल्लो ए डिभिजन लिगमा च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडसहित मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) शीर्ष ६ मा थिए ।
एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनल पुग्दै लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काक्रेविहार स्पोर्टस क्लब पनि लिगका लागि छनोट भएका छन् ।

राष्ट्रिय लिगका लागि नयाँ थपिएका ए डिभिजन क्लबहरूमा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, फ्रेण्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब छन् । ए डिभिजनको हिमालयन शेर्पा क्लबले मात्र राष्ट्रिय लिगका लागि नाम दर्ता गरेन ।
पछिल्लो पटक भएको ए डिभिजन लिगबाट थ्रीस्टार क्लब र एफसी खुमलटार रेलिगेसनमा परेको थियो भने शहीद स्मारक बी डिभिजन लिगबाट प्लानिङ ब्वाइज र श्री भगवती बढुवा हुँदै ए डिभिजनमा उक्लेका हुन् ।
राष्ट्रिय लिग खेल्ने १७ क्लबमध्ये १३ क्लब ए डिभिजनका छन् त्यसमा पनि ११ क्लबसँग शीर्ष श्रेणीमै लिग खेलेको अनुभव छ । उनीहरूले पछिल्लो पटक ए डिभिजन लिग खेलिसकेका छन् । शीर्ष श्रेणीमा बढुवा भएका दुई नयाँ थपिएका क्लबले ए डिभिजन लिग खेल्नै बाँकी छ ।
यस्तै एन्फा प्रेसिडेन्ट कपबाट आएका चार नयाँ क्लबका लागि राष्ट्रिय लिग सबैभन्दा ठूलो अवसर बन्नेछ ।
राष्ट्रिय लिग सुरु हुन दुई दिन बाँकी हुँदा अहिलेसम्म न त एन्फाले टिमका खेलाडीहरूको नाम सार्वजनिक गरेको छ नत क्लबहरूले नै पूरा स्क्वाड लिस्ट घोषणा गरेका छन् । केही क्लबहरूले भने फेसबुकमार्फत खेलाडीहरू सार्वजनिक गरिरहेका छन् ।
राष्ट्रिय लिग खेल्ने १७ क्लब कुन कुन हुन्? कसरी छनोट भए, पछिल्लो पटक ए डिभिजन लिगमा प्रदर्शन र अनुबन्ध भएका केही खेलाडीहरू बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
ए डिभिजनका शीर्ष ६ मा रहेका क्लबहरू
चर्च ब्वाइज युनाइटेड

२०७९-८० मा भएको पछिल्लो शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो ।
डबल राउण्ड रोविन लिगका आधारमा भएको उक्त लिगमा चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक जोडेर उपाधि जितेको थियो ।
चर्च ब्वाइजले सी डिभिजन देखि ए डिभिजन सम्म लगातार उपाधि जित्दै इतिहास रचेको थियो ।
पछिल्लो पटक अनन्त तामाङ, एरिक विष्ट, अन्जन विष्ट लगायत चर्चित खेलाडीले चर्च ब्वाइजबाट लिग खेलेका थिए । यस पटक चर्च ब्वाइजले गोलकिपर दिप कार्कीलाई भित्र्याएको छ ।
चर्च ब्वाइजले अन्य युवा खेलाडीहरू टिममा समावेश गरेको छ ।
मछिन्द्र क्लब

चर्च ब्वाइजअघि २०७६ र २०७८ सालमा लगातार शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्ने टिम हो मछिन्द्र क्लब । पछिल्लो पटक भएको लिगमा भने मछिन्द्र उपविजेता बनेको थियो । जसमा मछिन्द्रले २६ खेलमा ४५ अंक जोडेको थियो ।
पछिल्लो समयमा मछिन्द्रले घरेलु फुटबलका स्टार खेलाडीहरू अनुबन्ध गर्दै टिम बलियो बनाइरहेको छ ।
मछिन्द्रले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक बनाएको छ भने जोनाथान कान्टिलाना र अलिजोन अलिजोनोभलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
राष्ट्रिय टिमका डिफेण्डर सनिश श्रेष्ठले पनि मछिन्द्रबाटै राष्ट्रिय लिग खेल्नेछन् ।
नेपाल पुलिस क्लब

कुनै समय घरेलु फुटबलमा नेपाल पुलिस क्लब बाघजस्तै थियो । तर पछिल्लो समय त्यो अवस्था फेरिएको छ ।
यद्यपी पछिल्लो लिगमा विदेशी खेलाडीहरू अनुबन्ध गरेपछि पुलिस तेस्रो भएको थियो । पुलिसले २६ खेलबाट ४१ अंक जोडेको थियो ।
यस पटक राष्ट्रिय लिगका लागि पुलिसले युवा खेलाडीहरू पनि अनुबन्ध गरेको छ ।
जावलाखेल युथ क्लब
ललितपुरको ए डिभिजन क्लब जावलाखेल युथ क्लब पछिल्लो ए डिभिजन लिगमा चौथो स्थानमा रहन सफल भएको थियो । शीर्ष क्लबहरूलाई टक्कर दिएको जावलाखेलले त्यसबेला २६ खेलबाट ४० अंक जोडेको थियो ।
जावलाखेलले यस पटक राष्ट्रिय लिगका लागि दिपेन्द्र विक, युनेश चौधरी, युवराज ढकाल, सुजन गुरुङ, अनिश परियार, धर्बेन्द्र कुँवर, विक्रम दोङ, पुष्कर खड्का, मदन पौडेल लगायतलाई अनुबन्ध गरेको छ ।
सातदोबाटो युथ क्लब
जावलाखेल जस्तै ललितपुरको अर्को ए डिभिजन क्लब सातदोबाटो युथ क्लबले पनि पछिल्लो शहीद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौ स्थानमा रहेको थियो । सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको थियो ।
यस पटक राष्ट्रिय लिगका लागि सातदोबाटोले घरेलु फुटबलमा उपलब्ध भएका खेलाडीहरू अनुबन्ध गरेर सन्तुलित टिम बनाएको छ ।
पछिल्लो पटक सातदोबाटोबाटै खेलका गोलकिपर अभिषेक बरालसहित समिर तामाङ, कुदलिप कार्की, रोशन पहारी, एकरज बुढाथोकी, पासाङ लामा लगायत खेलाडी अनुबन्ध गरेको छ ।
यस्तै विदेशी खेलाडी फोडे फोफानालाई पनि सातदोबाटोले अनुबन्ध गरेको छ । अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठ पनि फर्किँदै छन् ।
न्युरोड टिम (एनआरटी)

एनआरटी पछिल्लो पटक भएको लिगमा छैटौं स्थानमा रहेको थियो । एनआरटीले २६ खेलमा ३४ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लबले पनि ३४ अंक नै जोडेको थियो । तर हेड टु हेडमा एनआरटी अघि रहेँदै छैटौं भएको थियो ।
एनआरटीले राष्ट्रिय लिगका लागि राष्ट्रिय टिममा मिडफिल्डर मनिष डाँगीलाई अनुबन्ध गरेको छ । यस्तै बंगलादेशमा लिग खेलिरहेका अन्जन विष्टलाई पनि एनआरटीले राष्ट्रिय लिगका लागि ल्याउँदैछ । यस्तै आदित्य शाक्यलाई पनि एनआरटीले राष्ट्रिय लिगका लागि अनुबन्ध गरेको छ ।
पछिल्लो पटक ए डिभिजन लिग भएपछि लिग नियमित नहुँदा खेलाडीले मोफसलमा फरक टिमबाट खेलेका थिए ।
प्रेसिडेन्ट कपको सेमिफाइनल पुगेका ४ क्लब
लालिगुँरास एसोसिएसन

पोखराको लालिगुराँस स्पोर्ट्स एसोसिएसन एन्फा प्रेसिडेन्ट लिगको विजेता बन्दै राष्ट्रिय लिगमा छनोट भएको हो ।
मकवानपुरमा भएको प्रेसिडेन्ट लिगको फाइनलमा लालिगुरासँगले चित्लाङ पुटबल क्लबलाई टाईब्रेकरमा ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
चित्लाङ एफसी

एन्फा प्रेसिडेन्ट लिगको उपविजेता बन्दै राष्ट्रिय लिगमा छनोट भएको हो । प्रेसिडेन्ट लिगको फाइनलमा चित्लाङ लालिगुराँससँग पराजित भएको थियो ।
चित्लाङले प्रेसिडेन्ट लिगमा खेलेका खेलाडीसँगै अन्य खेलाडीहरू पनि समावेश गरेको छ ।
कांक्रेविहार युथ क्लब

सुर्खेतको कांक्रेविहार युथ क्लब एन्फा प्रेसिडेन्ट कपको सेमिफाइनल पुग्दै राष्ट्रिय लिगमा छनोट भएको हो ।
प्रेसिडेन्ट लिगको सेमिफाइनलमा कांक्रेविहार युथ क्लब पोखराको लालिगुराँससँग २-० ले पराजित भएको थियो ।
नव जनजागृति युवा क्लब
वीरगन्ज सिमराको नव जनगाजृति युवा क्लब एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल पुग्दै राष्ट्रिय लिगमा छनोट भएको हो ।
सेमिफाइनलमा नव जनजागृति युवा क्लब काठमाडौंको चित्लाङ एफसीसँग सडनडेथमा पराजित भएको थियो ।
ए डिभिजनका अन्य ५ क्लब
त्रिभुवन आर्मी क्लब

पछिल्लो पटक लिगमा आर्मी सातौं स्थानमा रहेको थियो । आर्मीले २६ खेलमा ३४ अंक जोडेको थियो ।
उपाधि दाबेदार मानिने आर्मी पछिल्लो लिगमा भने कमजोर प्रदर्शन गर्दै शीर्ष ६ मा पर्न असफल भयो ।
आर्मीमा अनुभवी खेलाडीहरू नवयुग श्रेष्ठ र विकेश कुथु देखि जिलेस्पी जंग कार्की, दिनेश हेन्जन र विमल पाण्डे जस्ता खेलाडी छन् ।
राष्ट्रिय टिमका युवा मिडफिल्डर कुशल देउबालाई पनि अनुबन्ध गरेको छ । आर्मीको टिमको प्रशिक्षक नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जनले सम्हाल्नेछन् ।
मनाङ मर्स्याङ्दी क्लब

मनाङ मर्स्याङ्दी नेपालको घरेलु फुटबलमा सबैभन्दा सफल र चर्चित क्लब हो । तर पछिल्लो समयमा मनाङको त्यो विरासत कमजोर बनेको छ । स्टार खेलाडीहरूको जमघट रहने मनाङ अहिले कमजोर देखिएको छ ।
मनाङ मर्स्याङ्दी पछिल्लो ए डिभिजन लिगमा २६ खेलमा ३२ अंक जोडेर आठौं स्थानमा रहेको थियो ।
मनाङले पछिल्लो समय युवा खेलाडीहरूलाई अवसर दिँदै आएको छ ।
संकटा क्लब
संकटा क्लब पछिल्लो पटक ए डिभिजन लिगमा नवौं भएको छ । संकटाले पनि मनाङ मर्स्याङ्दी क्लब समान ३२ अंक नै जोडेको थियो ।
फ्रेण्ड्स क्लब
फ्रेण्ड्स क्लब पछिल्लो लिगमा ११औं भएको थियो । जसमा फ्रेण्ड्सले ३० अंक जोडेको थियो ।
यस पटक राष्ट्रिय लिगमा फ्रेण्ड्स क्लबले राजेश परियार, रुपेश केसी, प्रशान्त लक्षम, महेन्द्र कार्की जस्ता खेलाडीहरू अनुबन्ध गरेको छ ।
एपीएफ एफसी

एपीएफ पछिल्लो लिगमा सुरुमा पूछारको दुई स्थानमा हरँदै रेलिगेसनमा परेको थियो । तर थ्रीस्टारले नियम विपरित भिसा सकिएको खेलाडी खेलाएर जावलाखेललाई पराजित गरेको खेलको नतिजा उल्टिएपछि एपीएफ ए डिभिजनमा रहँदै थ्री स्टार रेलिगेसनमा परेको थियो ।
सुरुमा थ्री स्टार ३२ अंक जोडेर रेलिगेसन जोगाउन सफल भएको थियो । तर ३ अंक खोसिएपछि थ्री स्टार १३औं स्थानमा रहेर रेलिगेसनमा परेको हो ।
एपीएफले राष्ट्रिय लिगका लागि पूर्व प्रशिक्षक राजेन्द्र तामाङलाई प्रशिक्षक नियुक्त गरेको छ भने सन्तोष खत्रीलाई पनि अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ ।
भर्खरै लमजुङमा ३३औं त्रिवेणी कपको उपाधि जित्दै एपीएफ लयमा छ ।
बी डिभिजनबाट बढुवा भएका दुई क्लब
प्लानिङ ब्वाइज युनाइटेड

प्लानिङ ब्वाइज युनाइटेड क्लब यसै वर्ष भएको शहीद स्मारक बी डिभिजन लिगबाट बढुवा हुँदै ए डिभिजनमा उक्लेको हो ।
बी डिभिजनमा प्लानिङ ब्वाइजले १३ खेलबाट ३३ अंक जोडेर च्याम्पियन बनेको थियो ।
सी डिभिजनबाट बढुवा हुँदै बी मा उक्लेको प्लानिङ ब्वाइज बी डिभिजनको पनि उपाधि जित्दै ए मा उक्लेको हो ।
श्री भगवती क्लब

श्री भगवती क्लब यसै वर्षको बी डिभिजन लिगमा प्लानिङ ब्वाइजसँगै शीर्ष दुईमा रहेर ए डिभिजन लिगमा बढुवा भएको हो ।
श्री भगवतीले बी डिभिजनमा १३ खेलबाट २६ अंक जोडेर उपविजेता बनेको थियो ।
प्रतिक्रिया 4