News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीको गुणस्तरमा सुधार आउन नसकेको जनाएको छ।
- आईएलओको रिपोर्ट अनुसार २०२६ मा वैश्विक बेरोजगारी दर करिब ४.९ प्रतिशत स्थिर रहने अपेक्षा गरिएको छ।
- आईएलओले गरिब अर्थतन्त्र भएका देशहरूमा सिप, शिक्षा र पूर्वाधारमा लगानी गरी उत्पादकत्व वृद्धि गर्न सुझाव दिएको छ।
३० पुस, जेनेभा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीको गुणस्तरमा सुधार आउन नसकेको जनाएको छ ।
विश्व अर्थतन्त्रले औसत रुपमा रोजगारी वृद्धि कायम गरेपनि रोजगारको गुणस्तर सुधारमा खास प्रगति हुन नसकेको उसले जनाएको हो । ‘रोजगारी र सामाजिक प्रवृति–२०२६’ को रिपोर्टले रोजगारीमा वृद्धि कायम गरेपनि गुणस्तरमा सुधार आउन नसकेको देखाएको हो ।
आईएलओका अनुसार २०२६ मा वैश्विक बेरोजगारी दर करिब ४.९ प्रतिशत स्थिर रहने अपेक्षा छ । जुन १८ करोड ६० लाख मानिस बराबर रहेको रिपोर्टमा उल्लेख छ । तर, विश्वभरका लाखौं कामदारहरूले अझै पनि गुणस्तरीय रोजगारीको पहुँचबाट वञ्चित रहेको प्रतिवेदनले देखाएको हो ।
‘लचिलो वृद्धि र स्थिर बेरोजगारी तथ्याङ्कले हामीलाई गहिरो वास्तविकताबाट विचलित गर्नुहुँदैन । लाखौं कामदारहरू गरिबी, अनौपचारिकता र बहिष्करणमा फसेका छन्,’ आईएलओका महानिर्देशक गिल्बर्ट एफ. हाउङबोले भने ।
जसले रोजगारीको संख्या बढेको देखाएपनि गुणस्तरीय रोजगार र सामाजिक सुरक्षामा सुधार नआएको संकेत गरेको हो । करिब ३० करोड श्रमिकहरू अझै चरम गरीबीमा रहेको र उनीहरूको दैनिक कमाइ ३ अमेरिकी डलरभन्दा कम रहेको प्रतिवेदनले देखाएको छ ।
सन् २०२६ सम्ममा २.१ अर्ब श्रमिकहरूले अनौपचारिक काम गर्ने अपेक्षा गरिएको छ, जसमा सामाजिक सुरक्षा, काममा अधिकार र रोजगार सुरक्षामा सीमित पहुँच हुनेछ । कम आय भएका देशहरूमा प्रगतिको तीव्र अभावले सबैभन्दा गरिब रोजगारी अवस्था भएका कामदारहरूलाई अझ पछाडि धकेलिरहेको आईएलओको रिपोर्टमा उल्लेख छ ।
क्षेत्र, आय समूह, लिङ्ग र उमेर अनुसार तथ्याङ्क प्रदान गर्ने प्रतिवेदनले अर्थतन्त्रलाई उच्च मूल्य भएका उद्योग वा सेवाहरूमा स्थानान्तरण गर्ने सुस्तता नै रोजगारीको गुणस्तर र उत्पादकत्व वृद्धिमा दिगो प्रगतिको प्रमुख बाधकको रुपमा उल्लेख गरेको छ ।
युवाहरू अझै पनि संघर्ष गरिरहेका छन् । २०२५ मा युवा बेरोजगारी दर १२.४ प्रतिशतमा पुगेको थियो । जसमा लगभग २६ करोड युवाहरू शिक्षा, रोजगारी वा तालिम (एनईईटी) मा नरहेको आईएलओको ठहर छ ।
‘कम आय भएका देशहरूमा एनईईटी दरहरू २७.९ प्रतिशत रहेको र जुन निकै डरलाग्दो अवस्था हो’ प्रतिवेदनमा भनिएको छ ।
आईएलओले कृत्रिम बुद्धिमत्ता (एआई) र स्वचालनले चुनौतीहरूलाई बढाउन सक्ने चेतावनी दिएको छ । ‘युवा रोजगारीमा एआईको पूर्ण प्रभाव अनिश्चित भएपनि, यसको सम्भावित परिणामलाई नजिकबाट निगरानी गर्न आवश्यक छ,’ रिपोर्टमा उल्लेख छ ।
महिलाहरूले अझै पनि सामाजिक मान्यता र रूढीवादी सोचले विभिन्न खालका समस्याको समाना गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले जनाएको छ । विश्वव्यापी रोजगारीमा पुरुषहरूको तुलनामा महिलाको २४ प्रतिशत कम सहभागी हुने सम्भावना रहेको जनाएको छ ।
प्रतिवेदनले जनसांख्यिकीय परिवर्तनले श्रम बजारलाई कसरी पुनः आकार दिइरहेको छ भन्ने विश्लेषण गरेको छ । धनी अर्थतन्त्र भएका देशमा वृद्ध जनसंख्याले श्रमशक्ति वृद्धिलाई सुस्त बनाउँदै गएको जनाइएको छ । जहाँ काम गर्ने उमेरका कम मानिस मात्रै रोजगारीमा प्रवेश गर्ने वा उपलब्ध हुने गरेका छन् ।
अर्कोतर्फ कम आय भएका देशहरूले तीव्र जनसंख्या वृद्धिलाई उत्पादनमूलक रोजगारीमा परिणत गर्न संघर्ष गरिरहेको रिपोर्टमा उल्लेख छ ।
२०२६ मा रोजगारी वृद्धि उच्च तथा मध्यम आय भएका देशहरूमा ०.५ प्रतिशत, निम्न मध्यम आय भएका देशहरूमा १.८ प्रतिशत र कम आय भएका देशहरूमा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ । उत्पादनमा रोजगारीका अवसरहरू बिना नै गरिब देशहरूले आफ्नो जनसांख्यिकीय लाभांश गुमाउने जोखिम रहेको आईएलओले चेतावनी दिएको छ ।
कम आय भएका देशहरूमा कमजोर श्रम उत्पादकत्व वृद्धिले भौगोलिक असमानतालाई चुनौती दिइरहेको जनाएको छ ।
विश्वव्यापी व्यापार अवरोधहरूले श्रम बजारमा अनिश्चितता थपिरहेको प्रतिवेदनमा जनाइएको छ । व्यापार नियमहरू र आपूर्ति शृङ्खला अवरोधहरूले दक्षिणपूर्व एसिया, दक्षिणी एसिया र युरोपमा श्रमिकको ज्याला कटौती गरिरहेको आईएलओको ठहर छ ।
‘तथापी व्यापार रोजगारीको प्रमुख स्रोत बनेको छ र विश्वव्यापी रूपमा ४६ करोड ५० लाख श्रमिकलाई यसले सहयोग पुर्याउँछ, जसमध्ये आधाभन्दा बढी एसिया र प्रशान्त क्षेत्रमा छन्’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले व्यापार नै राम्रो कामका लागि शक्तिशाली चालक हुन सक्ने जनाएको छ । विशेषगरी कम र मध्यम आय भएका देशहरूमा, जहाँ निर्यात सम्बन्धी क्षेत्रहरूले प्रायः राम्रो तलब, कम अनौपचारिकता र महिला तथा युवाहरूका लागि बढी अवसरहरू प्रदान गर्ने छ ।
डिजिटल रूपमा प्रदान गरिएका सेवाहरूले अब विश्वव्यापी निर्यातको १४.५ प्रतिशत ओगटेका छन् । व्यापार–सम्बन्धी सबै कामहरूको लगभग आधा बजार सेवाहरूमा रहेको जनाएको छ । विकासशील अर्थतन्त्रबीच व्यापार विस्तार भए पनि, धेरै अफ्रिकी र दक्षिणी अमेरिकी देशहरू अझै पनि व्यापार सम्बन्धी कामका लागि क्षेत्र बाहिरका बजारहरूमा निर्भर रहेको प्रतिवेदनले जनाएको छ ।
आईएलओका महानिर्देशक हाउङबाले गरिब अर्थतन्त्र भएका देशहरू, जहाँ आपूर्ति शृङ्खला र डिजिटल व्यापार विस्तार हुँदै जाँदा पनि पछाडि पर्ने जोखिम बढ्दै गएको बताए । मर्यादित काम र सामाजिक न्यायलाई अगाडि बढाउन संयमित कार्य र बलियो संस्थाहरूको आवश्यकतालाई उनले जोड दिए ।
‘सरकार, रोजगारदाता र कामदारहरूले प्रविधिलाई जिम्मेवारीपूर्वक उपयोग गर्न र महिला तथा युवाहरूका लागि गुणस्तरीय रोजगारीका अवसरहरू विस्तार गर्न, सुसंगत र सम्भावित संस्थागत प्रतिक्रियाहरू मार्फत मिलेर काम नगरेसम्म घाटा कायम रहनेछ र सामाजिक एकता जोखिममा पर्नेछ,’ होउङबोले भने ।
प्रतिवेदनले वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न केही सिफारिस समेत गरेको छ ।
जसमा सिप, शिक्षा र पूर्वाधारमा लगानी गरेर उत्पादकत्व वृद्धि गर्ने नीतिहरू लागु गर्नुपर्ने, सहभागिताका अवरोधहरूलाई सम्बोधन गर्न प्रविधिलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने जनाएको छ ।
त्यस्तै विश्वव्यापी प्रवाहबाट सबै क्षेत्रहरूले लाभ उठाउन सकुन् भनेर व्यापार र राम्रो कामको नतिजालाई सुदृढ पार्नुपर्ने, विश्वव्यापी र घरेलु नीतिहरू मार्फत ऋण, एआई, र व्यापार अनिश्चितताबाट हुने जोखिमलाई कम गर्नुपर्ने समेत सुझाव आईएलओले दिएको छ ।
प्रतिक्रिया 4