+
+
Shares

सिरहा ३ : चुनाव जितेर मन्त्री बने, सडक बनेन

स्थानीय भन्छन्– चुनाव नजिकिँदा नेताहरू सडक बनाइदिन्छौँ भनेर आउने गर्छन्, तर चुनाव सकिएपछि फर्केर हेर्दैनन् । 

सुरेश राय सुरेश राय
२०८२ माघ १७ गते १९:३५

१७ माघ, सिरहा । गोलबजार–लगदी–गदियानी सडक निर्माण कार्य करिब ८ वर्षअघि सुरु भयो । तत्कालीन भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले सडक शिलान्यास गरेका थिए । तर अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । शिलान्यास भएको यतिका वर्ष बितिसक्दा पनि सडकको अवस्था उस्तै रहँदा स्थानीय बासिन्दा आक्रोशित छन् ।

सडक नबन्दा सवारीसाधन चल्दा उड्ने धुलो–धुवाँले बालबालिका, वृद्ध–वृद्धा र महिलासहित सबै उमेर समूह प्रभावित भएका छन् । धुलोका कारण आँखा पोल्ने, खोकी लाग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको स्थानीय बताउँछन् ।

स्थानीय बौकीदेवी मुखियाले पीडा व्यक्त गर्दै भनिन्, ‘आठ वर्षदेखि सडक नबन्दा हामी धुलो खान बाध्य छौँ । आँगनमा बसेर खाना खानुपर्दा भात–दालसँगै धुलो खानुपर्छ । छोराछोरी धुलो–धुवाँले बिरामी भइरहेका छन् ।’

उनका अनुसार, चुनाव नजिकिँदा नेताहरू सडक बनाइदिन्छौँ भनेर आउने गर्छन्, तर चुनाव सकिएपछि फर्केर हेर्दैनन् ।

पूर्व मन्त्रीको क्षेत्र

सिरहा क्षेत्र नम्बर ३ मा दुई पूर्वमन्त्रीसहित ३ दर्जनभन्दा बढी उम्मेदवार छन् । नेकपा एमालेबाट पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वमन्त्री विश्वनाथ साह उम्मेदवार छन् ।

यस्तै जसपा नेपालबाट अशेश्वर यादवले उम्मेदवारी दिएका छन् । उनी यसअघि २०७४ मा एमालेका लिलानाथ श्रेष्ठसँग झिनो मतान्तरले पराजित भएका थिए ।

कांग्रेसबाट सुभाषचन्द्र यादवलाई उम्मेदवार छन् । उनी पूर्वमन्त्री एवं कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् ।

जनमत पार्टीबाट रोहित महतो र रास्वपाबाट शम्भु यादव उम्मेदवार छन् ।

मत माग्दै गाउँगाउँ डुलिरहेका उनीहरुले सडक निर्माणलाई पनि मुद्दा बनाएका छन् । तर स्थानीयलाई छिट्टै बन्ला भन्नेमा विश्वास लागिरहेको छैन । स्थानीय कैली राम चिन्ता व्यक्त गर्दै भन्छन्, ‘भोट हाल्दा–हाल्दै मर्ने उमेर भइसक्यो, तर लगदी–गदियानी सडक कहिले बन्छ थाहा छैन । मेरो पालामा कालोपत्रे देख्न पाइएला जस्तो छैन ।’

यस क्षेत्रका मतदाताहरू अब भाषण गर्ने होइन, काम गरेर देखाउने नेतृत्व खोजिरहेका छन् । पटक–पटक चुनावमा जितेर जाने तर जनताको समस्या वर्षौंसम्म नसुन्ने नेताप्रति स्थानीयहरू आक्रोशित छन् ।

स्थानीय युवा मनिष कुमार महराले आक्रोश पोख्दै भने, ‘हामी ८ वर्षदेखि सडकको धुलो खाँदै आएका छौँ । मानिस बिरामी पर्न थाले, तर आजसम्म सडक बन्न सकेको छैन । हरेक चुनावमा यही सडकलाई एजेन्डा बनाएर मत मागिन्छ । अब हामीलाई नयाँ, इमानदार र काम गर्ने नेता चाहिएको छ ।’

गोलबजार नगरपालिका, अर्नामा गाउँपालिका, सिरहा नगरपालिका लगायत आसपासका जम्दह, लालपुर, बेतौना, महनौर, बुदियाचाप, रामजानकी बजार, हरकट्टा, कैलपुर, हकपारा, कट्टिटोल, सिक्का ज्योती हुँदै लगदी–गदियानी बस्ती जोड्ने यो सडक नबन्दा करिब एक लाखभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित छन् ।

यस निर्वाचन क्षेत्रमा १ लाख १९ हजार मतदाता छन् ।

स्थानीयका अनुसार यो सडक निर्माण सम्पन्न भएमा व्यापार, शिक्षा, स्वास्थ्य सेवा र आवागमन सबै सहज हुने थियो । तर ८ वर्ष बित्दा पनि काम पुरा नहुँदा विकासप्रति जनताको विश्वास कमजोर बन्दै गएको छ ।

सिरहा क्षेत्र–३ का मतदाताहरू यसपटक अघिल्ला निर्वाचनभन्दा फरक निर्णय लिने मनस्थितिमा देखिन्छन् । उनीहरू भन्छन्– अब बाचा मात्रै सुन्ने समय सकियो । काम गरेर देखाउनेलाई मात्रै भोट दिन्छौँ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?