+
+
Shares

लगानीकर्तालाई एक वर्षको सेयर मार्जिन कारोबार सुविधा, घट्दा ‘कल’ आउने, बढ्दा थप सुविधा नपाइने

नेपाल धितोपत्र बोर्ड आगामी फागुनदेखि एक वर्ष अवधिको त्यसपछि पनि नवीकरण गर्न मिल्ने मार्जिन कारोबार सुविधा व्यवस्था गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले आगामी फागुनदेखि एक वर्ष अवधिको मार्जिन कारोबार सुविधा लागू गर्ने व्यवस्था गरेको छ।
  • मार्जिन कारोबारमा लगानीकर्ताले कम्तीमा २५ लाख कित्ता सूचीकृत सेयरमा मात्र सुविधा पाउनेछन् र ब्याजदर आपसी समझदारीमा निर्धारण हुनेछ।
  • धितोपत्र दलाल व्यवसायीले न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन लिनुपर्ने, लगानीकर्ताले मार्जिन कायम नगरे सेयर बिक्री गर्न सक्ने व्यवस्था निर्देशिकामा छ।

२८ माघ, काठमाडौं । सेयर लगानीकर्ताले एक वर्षसम्मको मार्जिन कारोबार सुविधा पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले आगामी फागुनदेखि एक वर्ष अवधिको त्यसपछि पनि नवीकरण गर्न मिल्ने मार्जिन कारोबार सुविधा व्यवस्था गरेको हो ।

धितोपत्र बजारमा सेयर खरिद गरेर निश्चित प्रतिशत खरिद मूल्य राखी बाँकी रहेको रकमलाई ब्याज तिर्ने गरी उधारो कायम गर्ने गरी गरिने धितोपत्र कारोबार मार्जिन कारोबार हो ।

त्यसका लागि धितोपत्र बोर्डले मार्जिन कारोबार निर्देशिका तयार गरी लागु गरेको छ । निर्देशिका अनुसार लगानीकर्ताले मार्जिन सुविधा एक वर्षका लागि पाउने छन् । यस्तो सुविधा नवीकरण गर्न पनि मिल्ने छ ।

तर, यसमा लाग्ने ब्याजदरका विषयमा भने धितोपत्र ब्रोकर र लगानीकर्ताबीच आपसी समझदारीमा हुने उल्लेख छ । तर, आपसी समझदारी भए पनि लगानीकर्ता र ब्रोकरबीचको सम्झौतामा भने उल्लेख हुनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

मार्जिन कारोबारको व्यावहारिक अभ्यास बढ्दै गएपछि ब्याजदरका विषयमा अस्पष्‍टता देखिएको खण्डमा आवश्यक निर्णय गर्ने गरी अहिलेका लागि आपसी समझदारीमा छाडेको बोर्डका एक अधिकारले बताए ।

‘व्यावहारिक समस्या आएको खण्डमा सम्बोधन गरौंला,’ ती अधिकारीले भने, ‘यसमा नेपाल राष्ट्र बैंकको पनि भूमिका हुन्छ ।’

निर्देशिका अनुसार कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको, नेटवर्थ चुक्ता पूँजी बराबर वा त्यसभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको, सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनीको सेयर कारोबारमा मात्र यस्तो सुविधा उपलब्ध हुनेछ ।

धितोपत्र दलाल व्यवसायीले सूचीकृत संगठित संस्थाको सेयरको बजार मूल्यको न्यूनतम ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिन लिनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

मार्जिन सुविधा अन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रूपमा ‘मार्क्ड टु मार्केट’ का आधारमा गर्नुपर्ने छ । तर, उक्त सेयर मूल्यमा भएको वृद्धिका आधारमा थप सुविधा दिन नपाइने निर्देशिकामा उल्लेख छ ।

ग्राहकको जोखिम मूल्यांकन, बजार अवस्था तथा सूचीकृत संगठित संस्थाको सेयरमा निहित जोखिम दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले मार्जिन माग गर्न सक्नेछ ।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभरि बजार अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम २० प्रतिशतले हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्ने व्यवस्था छ ।

धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो सेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने छ ।

उनीहरूले मार्जिन कारोबार सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण र आफ्नो सेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनु हँुदैन ।

धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहकको नगद तथा सेयरलाई अन्य ग्राहकलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न प्रयोग गर्न पाउने छैन ।

तर, निर्देशकाले मार्जिन र सेयर बिक्री गर्ने सुविधा पनि ब्रोकरलाई दिएको छ । सेयर बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद गरेको सेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्ने दायित्व लगानीकर्ताको हुने व्यवस्था निर्देशिकाले गरेको छ ।

लगानीकर्ताले उक्त मार्जिन कायम गर्न नसके धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कल गर्ने र आवश्यक मार्जिन कायम नगरे सेयर बिक्री गर्न सक्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्न सक्ने कुल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्दैन ।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधीकरणलाई समेत ध्यान दिनुपर्ने व्यवस्था निर्देशिकामा छ । ब्रोकरले लगानीकर्तासँग सम्झौता गर्दा प्रारम्भिक मार्जिन, सम्भार मार्जिन, मार्जिन कल, सेवा शुल्क वा ब्याज, खरिद गर्ने सेयर विवरण, मार्जिन कारोबार खाता लगायत विषय उल्लेख गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?