+
+
Shares

धमाधम हुँदैछ मतदाता शिक्षा कार्यक्रम, बदर मत घट्ने पूर्वानुमान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १६:१४

३ फागुन, काठमाडौं । मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता शिक्षाका लागि ७५३ पालिकामै मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । उनी भन्छन्, ‘स्वयमसेवक मार्फत कार्यक्रम सञ्चालन भइराखेको छ ।’

निर्वाचन आयोगका अनुसार सबै स्थानीय तहका प्रत्येक वडामा एक/एक जनाको दरले स्वय‌ंसेवक नियुक्त भएका छन् । उनीहरूले मतदानबारे मतदातामा रहेको अलमल चिर्नेछन् ।

यसका अलावा सामाजिक सञ्जालबाट समेत मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसार भइराखेको छ । मतदाता शिक्षा कार्यक्रममार्फत मत खस्ने प्रतिशत बढाउने र बदर मत घटाउने निर्वाचन आयोगको उदेश्य छ ।

कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्, ‘यसपटक निर्वाचनको पूर्वसन्ध्यामा ठूलो संख्यामा मतदाता नामावलीमा समावेश हुनुभएको छ । उहाँहरु युवाहरू हुनुहुन्छ । उहाँहरु सचेत नागरिक हुनुहुन्छ । यसकारण यसपटक मत खस्ने प्रतिशत बढ्छ र बदर मत घट्छ भन्ने आयोगको पूर्व अनुमान रहेको छ ।’

मतदाता शिक्षा कार्यक्रमको प्रभावकारिताको अनुगमन समेत गरिने उनले जानकारी दिए ।

मतदाता कार्यक्रमअन्तर्गत आयोगले देशभरिका नगरपालिका तथा गाउँपालिकाका ६ हजार ७४३ वडामा सोमबारदेखि एक–एक मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो । उनीहरूले यही फागुन १७ गतेसम्म काम गर्नेछन् ।

विगतका तीनवटा निर्वाचनमा बदर मतको प्रतिशत क्रमश: बढेको थियो ।

२०७० सालको संविधानसभाको निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभाको चुनावमा बदर मतको प्रतिशत बढ्दै गएका तथ्यांक छ ।

२०७० सालको चुनावमा ७८.३४ प्रतिशत मत खसेको थियो र त्यसबेला ४.९६ प्रतिशत बदर मत थियो ।

२०७४ सालमा भएको चुनावमा ६८.६७ प्रतिशत मत खस्दा ५.१६ प्रतिशत मत बदर भएको थियो । २०७९ को चुनावमा ६१.६३ प्रतिशत मत खस्दा ५.१९ प्रतिशत मत बदर भएको थियो ।

तर, यसपटक डिजिटल मतदाता शिक्षालाई समेत प्राथमिकतामा राखिएको र युवा मतदाता सचेत भएर प्रचारप्रसारमा खटिएकाले बदर मत घट्ने विश्वास निर्वाचन आयोगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?