+
+
Shares

काभ्रे–१ : अधिकांश उम्मेदवार नयाँ, कसको पृष्ठभूमि के ?

१८ राजनीतिक दल र ३ स्वतन्त्र गरी १८ उम्मेदवार यो क्षेत्रबाट चुनावमा होमिएका छन् । अधिकांश उम्मेदवार यो क्षेत्रमा नयाँ अनुहार नै छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन ४ गते १४:१२

४ फागुन, काभ्रे । चुनावी सरगर्मीले गाउँदेखि शहर गर्माएको छ । काभ्रेपलाञ्चोकमा पनि उम्मेदवारहरू मतदाताकहाँ पुगेर मत मागिरहेका छन् ।

हामीले यहाँ काभ्रे–१ बट निर्वाचनमा होमिएका उम्मेदवारहरूको अवस्था र रोचक विषयहरूबारे खोजेका छौं ।  १८ राजनीतिक दल र ३ स्वतन्त्र गरी १८ उम्मेदवार यो क्षेत्रबाट चुनावमा होमिएका छन् । अधिकांश उम्मेदवार यो क्षेत्रमा नयाँ अनुहार नै छन् ।

कुन उम्मेदवार कस्ता ?

यहाँका अधिकांश उम्मेदवार नयाँ अनुहार छन् । यहाँ कांग्रेसले गुणराज मुक्तानलाई उम्मेदवार बनाएको छ । रोशी गाउँपालिका–१२ स्थायी घर भएका उनी नेपाल विद्यार्थी संघमा २०५८ सालबाट राजनीतिमा होमिएका व्यक्ति हुन् ।

१४औं महाधिवेशनबाट जिल्ला सचिव हुँदै पार्टी राजनीतिमा प्रभाव जमाउँदै आएका उनी जनतामाझ भिजेका नेता मानिन्छन् । उनले बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर पनि काम गरेका थिए ।

बदलिएको, सुधारिएको, सशक्त र सुदृढ कांग्रेसले देशको अवस्था बदल्नुका साथै आम युवा, महिला, आदिवासी जनजाती, किसान, मजदुर क्षेत्रका आफ्नो पार्टीले काम गर्ने उनको भनाइ छ ।

त्यस्तै, एमाले उम्मेदवार अमि लामा (अमित) युवा संघको तल्लो कमिटी हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुन् ।

उनी पछिल्लो समय जेनजी आन्दोलनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा पनि खटिएका व्यक्ति हुन् । व्यवसायिक रुपमा पनि सक्रि उनी युवा भएका कारणले पनि जित्ने दाबी गर्छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार दिनानाथ गौतम पूराना कम्युनिस्ट नेता हुन् । विद्यार्थी आन्दोलनमार्फत राजनीति सुरु गरेका उनी शिक्षण पेशामा पनि सक्रिय थिए ।

सशस्त्र युद्धको पृष्ठभूमि बोकेका उनी असमानता हटाउँदै सुशासन र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको बताउँछन् ।

रास्वपा उम्मेदवार मधुकुमार चौलागाईं पेशाले वकिल हुन । स्वतन्त्र कानुन व्यवसायी मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेका उनी रास्वपा काभ्रे–१ का क्षेत्रीय सभापति हुन् । मुलुकमा बेतिथिको चाङ रहेको स्मरण गर्दै त्यसलाई चिर्न आफू विजयी भएर काम गर्ने उनको भनाइ छ ।

योगेन्द्र लामा उज्यालो नेपाल पार्टीका उम्मेदवार हुन् ।  नेपाली कांग्रेसबाट राजनीति थालेका उनी तत्कालीन माओवादी, एमाले हुँदै अहिले उज्यालो नेपाल पार्टीमा छन् । पूराना पार्टीले आफ्ना कार्यकर्ता तथा आसेपासे पोस्ने र भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउँदै उनी उज्यालो नेपाल पार्टीमा लागेका हुन् ।

राप्रपा उम्मेदवार नवराज सत्याल काभ्रे जिल्ला वरिष्ठ उपाध्यक्ष हुन् । उनले स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । गाउँमा वृद्ध–वृद्धामात्र सीमित बनेको अवस्थाप्रति दु:ख लागेर विदेशिएका युवालाई स्वदेश फर्काउने अभियान सहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

तीन जना स्वतन्त्र

२०७४ मा एक जना मात्र स्वतन्त्र उम्मेदवारी परेको यो क्षेत्रमा २०७९ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अहिले भने तीन जना स्वतन्त्र उम्मेदवारहरू मैदानमा छन् । जीवन लामा, राजेशकुमार श्रेष्ठ र युवराज चौलगाईंले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

वर्तमान राजनीतिक अभ्यास, बढ्दो भ्रष्टाचार र युवापुस्ताको असन्तुष्टिले आफूलाई स्वतन्त्र उम्मेदवारीतर्फ डोर्‍याएको लामाको भनाइ छ ।

नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा भोलेन्टियर फोर्सको केन्द्रीय सदस्य रहेका लामा उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघि पदबाट अलग भएका थिए ।

स्थानीय जनताको उपेक्षा र क्षेत्रीय विभेदको विरोधस्वरूप स्वतन्त्र उम्मेदवारी दिएको अर्का उम्मेदवार श्रेष्ठ बताउँछन् ।

विगतको चुनाव

२०७९ को निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार सूर्यमान दोङ विजयी भएका थिए ।

गठबन्धनका उम्मेदवार दोङले ३४ हजार ५ सय १२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ३० हजार ५ सय ४८ मत ल्याएका थिए ।

रास्वपाका उम्मेदवार बसुनारायण श्रेष्ठले भने ८ हजार ६ सय ९७ मत ल्याएका थिए ।

त्यस्तै, २०७४ को निार्वचनमा एमाले र माओवादीको गठबन्धन थियो । जतिबेला माओवादीका गंगाबहादुर तामाङ विजयी भए । ४३ हजार ६ सय ३१ म्त उनले ल्याउँदा कांग्रेसका उम्मेदवार तीर्थ लामाले ३९ हजार ६ सय ५ मत ल्याएका थिए ।

२०७० मा भने यहाँ कांग्रेसले जितेको थियो । २०४८ मा सयुक्त जनमोर्चाका कमानसिं लामा, २०५१ र २०५६ मा नेकपा एमालेका शिवबहादुर देउजाले, २०६४ मा माओवादीका सूर्यमान दोङ निर्वाचित भएका थिए ।

यो क्षेत्रमा ६९ वडा छन् । मतदाता १ लाख ६१ हजार १ सय छन् भने ९५ वटा मतदानस्थल र १९८ मतदान केन्द्र तोकिएका छन् ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?