+
+
Shares

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीशहरू महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सवारीसाधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ।
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघ अध्यक्ष राजेन्द्रविक्रम बानियाँले २२ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा अदालतले आदेश दिएको हो।
  • अदालतले ३० असार २०८२ को ठेक्का सम्झौतामा एम्बुलेन्स, शव वाहन लगायतबाट शुल्क नउठाउने उल्लेख र जिल्ला प्रशासन कार्यालय बाराको पत्राचारलाई आधार मानेर आदेश जारी गरेको छ।

४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारीसाधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ अध्यक्ष राजेन्द्रविक्रम बानियाँले २२ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार सहितलाई विपक्षी बनाइ दायर गरेको उत्प्रेषण सम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशहरू महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता उद्धवप्रसाद चौलागाईं र अधिवक्ता वकिलप्रसाद गौतमले बहस गरेका थिए । विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता कैलाश खत्रीले बहस गरेका थिए ।

जीतपुर–सिमरा उपमहानगरपालिकाका तर्फबाट अधिवक्ता विद्यादेवी कटुवाल र जीवनबहादुर बस्नेत उपस्थित थिए ।

निवेदनमा स्थानीय तहले अनधिकृत रूपमा सवारीसाधनबाट सडक उपयोग शुल्क तथा कर असुली गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।

अदालतले ३० असार २०८२ मा जीतपुर–सिमरा उपमहानगरपालिकासँग भएको ठेक्का सम्झौतामा एम्बुलेन्स, शव वाहन, वारुणयन्त्र जस्ता सवारीसाधनबाट सडक उपयोग शुल्क उठाउन नपाइने तथा त्रिभुवन राजपथ, हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग लगायत मार्गमा ढाँट, टेबुल वा घुम्ती राखी शुल्क उठाउन नपाइने उल्लेख भएको तथ्यलाई आधार मानेको छ ।

साथै, जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय तथा सहायक राजमार्गमा कर नउठाउन सबै स्थानीय तहलाई पत्राचार गरेको विषय पनि आदेशमा उल्लेख गरिएको छ ।

अदालतले सुविधा सन्तुलन दृष्टिकोणबाट राष्ट्रिय, सहायक र हुलाकी राजमार्गमा चल्ने सवारीसाधनबाट ढाँट राखी वा अन्य कुनै तरिकाले कर नलिन विपक्षीका नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

आदेश २८ माघमा जारी गरिएको हो । महासंघ अध्यक्ष बानियाँले अदालतको आदेशको स्वागत गर्दै अबदेखि कुनै पनि स्थानीय तहले राष्ट्रिय राजमार्गमा अवैध रूपमा कर असुली गर्ने प्रयास गरे सम्बन्धित पालिकाका नगर प्रमुखविरुद्ध नै मानहानि मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । उनले यसअघि गरिएका ठेक्का सम्झौता समेत कानुन विपरीत रहेको बताउँदै रद्द गर्न चेतावनी दिएका छन् ।

अध्यक्ष बानियाँले राजमार्गमा ढाँट राखेर कर असुली गर्ने प्रवृत्तिले यातायात व्यवसायीलाई आर्थिक भार थपेको र उपभोक्ता समेत मारमा परेको उल्लेख गर्दै अदालतको आदेशको पूर्णपालना गरिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?