४ फागुन, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिलेसम्म मधेशले भोट मात्रै हालेको, तर न्याय नपाएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापतिसमेत रहेका यादवले सोमबार भिडिओ वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
‘अहिलेसम्म मधेसले चुनावमा भोट मात्रै हालेको छ । तर मधेसले न्याय पाएन,’ यादवले भने, ‘यसपटक कांग्रेसले मधेसलाई चुनावी एजेन्डासहित न्याय दिलाउने अठोट गरेको छ ।’ कांग्रेसले पनि यसअघि जितेर सरकार बनाउँदा मधेशलाई न्याय दिन नसकेको उनले स्वीकार गरे ।
‘यसपटक मधेश बुझाउन र बुझ्नका लागि जनकपुरमा सभा आयोजना गरेको छ । कांग्रेसले बोलेको कुरा पूरा गर्छ भन्ने आशा राख्दै चुनावी सभा गरेका छौँ,’ उनले भने ।
मधेशमा केन्द्रीय सभापति गगन थापाको उम्मेदवारीले मधेशको पहिचान, सम्मान र शानलाई फर्काएको पनि मुख्यमन्त्री यादवले टिप्पणी गरे । उनले भने, ‘गगन थापासहित मधेशमा ३२ ओटै सिट जिताउन जनकपुरमा चुनावी सभा आयोजना गरेका छौँ ।’ मधेशको उर्वरा भूमिको विरासत जोगाउन पनि कांग्रेस जित्नुपर्ने उनले बताए ।
संघीयता कार्यान्वयन मधेशलाई नै चाहिएको र त्यो कुरा कांग्रेसले मात्रै गर्नसक्ने पनि मुख्यमन्त्री यादवले दाबी गरे । ‘कांग्रेसका उम्मेदवारहरूलाई मधेशमा इतिहास कायम गर्न पनि चुनावी सभाको जरूरी भएको छ,’ उनले भने ।
प्रतिक्रिया 4