+
+
Shares

गोरखा-२ स्थलगत : रास्वपाले बजाइरहेछ पुराना दललाई ‘खतरा’को घन्टी

बाबुराम ब्याक भएपछि माहोलमै फेरबदल

प्रचण्डले विभिन्न ठाउँमा बाटो पिच गरिदिने, पालुङटार एयरपोर्ट चलाउने, गोरखकाली रबर उद्योग चलाउने बाचा गरेका थिए । तर ती कुनै पनि काम भएनन् । अहिले नेकपाले निर्विवाद, इमान्दार र क्षमतावान पात्र उठाए पनि प्रचण्ड आश्वासन बाँडेर हिँडेपछि मतदाता रिसाएको देखियो ।

बिनु सुवेदी/अमृत सुवेदी/विकास मरहट्टा बिनु सुवेदी/अमृत सुवेदी/विकास मरहट्टा
२०८२ फागुन ५ गते १०:५१
बायाँबाट- कांग्रेसका प्रकाशचन्द्र दवाडी, रास्वपाका कबिन्द्र बुर्लाकोटी, नेकपाका लेखनाथ न्यौपाने र एमालेका चक्रे मिलन (मिलन गुरुङ) । पृष्ठभूमिमा गोरखा क्षेत्र नम्बर २ मा पर्ने चोरकाटे बजार ।

५ फागुन, गोरखा बजार । इमर्जेन्सी लाइट बालेर हुइँकिएको गाडी १५ किलोमा झ्याप्प रोकियो । गाडीबाट ओर्लिए, गोरखा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) । निर्वाचनको तयारी र गोरखा-२ को प्रतिस्पर्धाबारे कुराकानी गर्न हामी उनलाई पर्खिरहेका थियौं ।

हामीले सोध्यौं, ‘चुनावी अभियान कसरी चलिरहेको छ र मतदातासँग के भनेर भोट मागिरहनु भएको छ ?’

मिलनले आफ्नो ‘फास्टिङ’ चलिरहेकोले नबोल्ने भन्दै युवा नेता अब्दुस मियासँग कुरा बुझ्न भने । अब्दुस तिनै नेता हुन्, जो २०७९ मंसिरको चुनाव मुखैमा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए । अब्दुसले पनि प्रश्नहरू यकिन भएपछि मात्र बोल्ने संकेत गरे ।

मिलनको टोली खासखुस गर्दै थियो, ‘दाइले के बोल्दिन्छ थाहै हुन्न, त्यसै बोल्न भनेर कहाँ हुन्छ ।’

केही दिनअघि मात्रै ‘आफूलाई गुण्डा होइन, बरु डन भन’ भनेर उनले बोलेको भिडियो विवादित बनेको थियो । मिलनलाई एमाले नेताहरूले मिडियामा नबोल्न सुझाव दिएका छन् । त्यसैले त आफूबारे केही भए ‘अब्दुसले बोल्छ’ भनेर मिलन उम्किए ।

चुनावी अभियानमा हतार भएको भन्दै ३ वटा गाडीमा आएको मिलनको टोली त्यहाँबाट छुटिने सुर कस्यो । उनीहरू गाडीमा बसे र उसैगरी इमर्जेन्सी लाइट बालेर गोरखा बजारतिर हुइँकिए । मानौं, मिलनलाई मुलुक बनाउने हतारो छ । गोरखा-२ यस पटक ‘हेभिवेट’ नेता र भावी मन्त्री-प्रधानमन्त्रीको नाराले होइन, चक्रे मिलनकै कारण बढी चर्चामा छ ।

‘गुण्डा नाइके’को रूपमा चिनिएका तर आफूलाई ‘डन’ भन्नुपर्ने बताउने मिलनलाई यस पटक एमालेले उम्मेदवार बनाएको छ र मिलन सांसद बन्न मतदातासँग हात मिलाउँदै भोट मागिरहेका छन् । मिलनलाई भेट्ने र हात मिलाउन चाहने युवाहरूको लर्को नै छ ।

मिलनलाई जिताउन भन्दै देशका विभिन्न ठाउँबाट युवाहरू गोरखा-२ का विभिन्न गाउँ पुगिरहेका छन् । कमजोर जनसंगठन र अघिल्लो चुनावको अंकगणितले मिलनलाई जित निकाल्न सहज भने छैन । तर एमाले नेता तथा यसअघि यही क्षेत्रका उम्मेदवार रामशरण बस्नेत भन्छन्, ‘अरू पार्टीमा मत बाँडिदा मिलनले जित्न पनि सक्छन् ।’

एमाले उम्मेदवार चक्रे मिलन

मिलन मतदातासँग भेटघाट गर्छन्, धेरै बोल्दैनन्, आफ्ना एजेन्डा भन्दैनन् । मिलनका तर्फबाट एजेन्डा भन्न र मत माग्न एमालेका नेताहरू सँगसँगै हिँडिरहेका छन् । मिलनका लागि युवाहरू विभिन्न क्षेत्रमा बाँडिएर मत मागिरहेका छन् । उनीसँगै हिँडेका एक युवा भन्छन्, ‘मिलनसँग भेट्न चाहने र हात मिलाउनेले मात्रै भोट हालिदिए पनि चुनाव जित्छन् ।’

यस पटक गोरखा-२ मा देशकै नेतृत्व गर्ने चुनावी नारा छैनन् । पुराना दलहरूले आफ्नो अस्तित्वको लडाइँ लडिरहेका छन् भने नयाँले पुराना दलको विकल्प खोजिरहेका छन् । अघिल्लो पटक देशकै प्रधानमन्त्री चुनेको गोरखा-२ मा अहिले एमालेले चक्रेलाई उठाएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैजसो दलले बाबुरामको पक्षमा जाने मत आफूहरूलाई आउने बताइरहेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिएको उम्मेदवारी फिर्ता लिएपछि बाबुरामले कुनै पनि दललाई आधिकारिक समर्थन गरेको बताएका छैनन् । तर विभिन्न अड्कालबाजी भइरहेका छन् । रास्वपा डा. भट्टराईले सहमतिमै उम्मेदवारी फिर्ता लिएको बताइरहेको छ ।

सधैं गठबन्धन गरेर कहिले डा. बाबुरामलाई त कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जिताएको नेपाली कांग्रेसले १२ वर्षपछि आफ्नै उम्मेदवार उठाएको छ । गोरखा-२ मा कांग्रेसले आफ्नो मतको परीक्षण गर्न यसअघिका प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।

यसअघि प्रचण्डलाई जिताएको कांग्रेससँग प्रतिस्पर्धा गर्न अहिले नेपाली कम्युनिस्ट पार्टीले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । पुरानो दललाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् । राप्रपा, उज्यालो पार्टी, मंगोल अर्गनाइजेसन जस्ता पार्टीहरू पनि चुनावी मैदानमा छन् ।

हेभिवेट उम्मेदवारका कारण चर्चाको केन्द्रमा रहने गोरखा-२ अहिले दलहरूको प्रतिष्ठाको लडाइँका कारण चर्चाको केन्द्रमा छ । त्यसमा चक्रेदेखि लेखनाथसम्मको चुनावी अभियानले पनि देशकै ध्यान खिचिरहेको छ ।

निष्ठाको राजनीति बुझाउँदै मत माग्दै लेखनाथ

अघिल्लो पटक देशको प्रधानमन्त्री चुन्ने नारा लगाइरहेको गोरखा-२ मा अहिले नेपाली कम्युनिस्ट पार्टीले नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । अनलाइनखबर टोली गोरखा आइपुग्दा मंगलबारदेखि उनी बारपाक सुलिकोट गाउँपालिकामा चुनावी अभियान चलाइरहेका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपाने

गोरखा-२ का विभिन्न गाउँ पुग्दा उनीप्रति मतदाताले सहानुभूति व्यक्त गरिरहेका त थिए र उत्साही भने देखिएनन् । माओवादीको प्रभाव क्षेत्र मानिएको यो क्षेत्रमा लेखनाथले कम्युनिस्ट निष्ठा र इमान्दारिता बुझाउँदै मत मागिरहेका छन् । निष्ठा र इमान्दारिताको राजनीतिको खडेरी परिरहेका बेला नेपालभरिकै वौद्धिक जमात र मूलधारका मिडियाको पनि उनीप्रति सहानुभूति देखिन्छ । निर्वाचन क्षेत्रमा पनि यही कुरा स्थापित गर्न न्यौपानेले कोसिस गरिरहेका छन् ।

लामो समय राजनीति गरेर पनि अवसर नपाएका वौद्धिक र इमान्दार नेताका रूपमा उनलाई माओवादीले अगाडि सारेको छ । लेखनाथ आफैंले मकै-भटमास खाएर चुनावी अभियान गर्ने घोषणा गरेका छन् भने चुनावी खर्च जुटाउन १०० देखि १ हजार रुपैयाँसम्म नेता-कार्यकर्तासँग माग पनि गरेका छन् ।

माओवादी सशत्र संघर्ष हुँदै गणतन्त्र स्थापनामा क्रान्तिकारी विद्यार्थी नेताको रूपमा परिचय बनाएका न्यौपाने पहिलो पटक चुनावी मैदानमा होमिएका छन् । संसदीय चुनावको पहिलो पटक अनुभव गरिरहेका न्यौपानेलाई बिना खर्च साथ दिने मतादाता त परको कुरा, आफ्नै पार्टीका नेता-कार्यकर्तालाई जुटाउन पनि सकस परिरहेको उनलाई जिताउन लागिपरेका नेताहरूकै अनुभव छ ।

माओवादीको रापताप र पक्षमा जनमतसमेत बलियो हुँदा टिकट नपाएका न्यौपाने पुराना दल र तिनका नेताको विकल्पको नारा लागिरहेका बेला उम्मेदवार बनेका छन् । न्यौपानेले ठूला सपना बाँडेका छैनन् । गर्न सक्ने र संसद्‌मा पुगेर आफूले निभाउने भूमिका कस्तो हुन्छ भन्ने विषय उनले मतदातालाई भनिरहेका छन् । स्नातक गरेका र करिब एक दर्जन किताब लेखेका न्यौपानेले निष्ठा र इमान्दारिताभन्दा एक इन्च दायाँबायाँ नगर्ने कसम मतदातासामु खाइरहेका छन् ।

अहिले अवस्था कठिन रहेको र यसलाई ठीक दिशामा हिँडाउन इमान्दार प्रयास गर्ने उनले बताइरहेका छन् । नयाँ र पुरानाबीच होइन, देशका मूल समस्या र नीतिबीच बहस हुनुपर्ने तर्क उनको छ । पुराना दलका सबै नेता खराब हुन्छन् भन्ने भाष्यलाई गलत साबित गर्दै जित निकालेर संसद्‌मा सिर्जनशील भूमिका खेल्ने योजना न्यौपानेले मतदातालाई सुनाइरहेका छन् ।

पहिले हारेका कविन्द्र यसपटक उत्साहित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी अजिरकोट गाउँपालिकामा चुनावी अभियान चलाउँदै थिए । कविन्द्र अजिरकोटमा उभिएर कबुल गर्दै थिए, ‘रास्वपाको सरकार बनेपछि देशमा सुशासन आउँछ, म त्यसकै लागि काम गर्छु ।’

भावी प्रधानमन्त्रीका रूपमा रास्वपाले घोषणा गरेका बालेन्द्र शाह शुक्रबार गोरखा पुगेर कविन्द्रको पक्षमा माहोल बनाउन प्रयास गरे । गोरखा-१ मा सुदन गुरुङ र २ मा कविन्द्रलाई जिताउन बालेन्द्रले गतिविधि गरे । गोरखा दरबार पुगेर सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेका बालेन्द्रले गोरखा-२ मा रास्वपाको पक्षमा मत हाल्न आह्वानसमेत गरे ।

२०७९ मंसिरको चुनावमा ५ दलीय गठबन्धनबाट प्रचण्ड भारी मतले विजयी हुँदा दोस्रो भएका कविन्द्र यस पटक पहिलो हुनेमा उत्साहित देखिन्छन् । अघिल्लो चुनावमै देशभर ह्विम ल्याएको रास्वपाको पक्षमा यस पटक झनै लनलहर देखिएको बताउँदै कविन्द्र आफूले जितेर गोरखावासीको पक्षमा काम गर्ने बताइरहेका छन् ।

रास्वपा उम्मेदवार कविन्द्र बुर्लाकोटी

पालुङटारवासी कविन्द्रले देशभर नयाँ विकल्पको रूपमा रास्वपा उदाएको र अब सरकारकै नेतृत्व आफूहरूले गर्ने दाबी गरिरहेका छन् । उनले पुराना दलले देशलाई यो अवस्थामा ल्याएकाले नै रास्वपाको उदय भएको बताइरहेका छन् । तर उनले आफ्ना एजेन्डाभन्दा धेरै पुरानोको विकल्पका रूपमा नयाँ आवश्यक परेको मतादातालाई बुझाइरहेका छन् ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा अब देशले काँचुली फेर्ने आश्वासन बुर्लाकोटीले बाँडेका छन् । राजनीतिले समाजलाई डोर्‍याउने अभ्यास आफूहरूले गरेको उनको भनाइ छ ।

गैरसहरकारी संस्था चलाउँदै सामाजिक काम गरिरहेका कविन्द्र रवि नेतृत्वको रास्वपा गठन हुँदादेखि नै सक्रिय थिए । नापी विभाग कर्मचारीको अनुभवसमेत बटुलेर सामाजिक काममा लागेका बुर्लाकोटीको अभियानकै क्रममा रविसँग चिनजान भएको थियो । विभिन्न एनजीओ, आईएनजीओको अनुभव लिएर राजनीतिमा जोडिएका कविन्द्रले अब गोरखा-२ मा इतिहास बदल्ने बताइरहेका छन् । ‘मतदाताको समर्थनले म त उत्साही छु,’ कविन्द्र उत्साही सुनिए ।

प्रदेश सांसदबाट संघ छिर्ने दाउमा प्रकाशचन्द्र

आँबुखैरेनी-गोरखा सडक छेउ १० किलोमा मतादाता भेटघाटमा थिए, कांग्रेस उम्मेदवार प्रकाशचन्द्र दवाडी । २०७४ सालमा गण्डकी प्रदेशसभा सांसद बनेका प्रकाशचन्द्र अघिल्लो पटक नै दोहोरिन चाहन्थे । तर कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई भावी मुख्यमन्त्रीको रूपमा घोषणा गर्दै गठबन्धनले उम्मेदवार बनायो ।

लामो समय जापान बसेर व्यापार-व्यवसायसमेत गरेर फर्किएका दवाडीमार्फत कांग्रेस १२ वर्षपछि खोलो फर्काउन चाहन्छ । गोरखा-२ मा कांग्रेस १२ वर्षपछि प्रत्यक्षमा रुख चिह्नमा मत माग्दैछ ।

दवाडी गोरखा-२ का मतदाताका लागि नौलो अनुहार होइनन् ।उनी २०७४ सालको चुनाव जितेर प्रदेश सांसद भइसकेका छन् । गोरखा-२ को ‘ख’ प्रदेशबाट विजयी बनेका अजिरकोट गाउँपालिका-४ सिम्जुङका तिनै प्रकाशचन्द्र दवाडी आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट प्रत्यक्षतर्फको उम्मेदवार छन्, कांग्रेसबाट ।

२०३२ सालमा जन्मेका दवाडीले काठमाडौं क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरे । लामो समय जापान बसेर व्यापार समेत गरेका दवाडीले आफूले पाउने पारिश्रमिक जनताको पक्षमा लगाउने बताइरहेका छन् । २०७४ मा प्रदेशसभा सदस्य हुँदा पनि उनले आफूले पाउने सुविधा जनताको काममा लगाएका थिए । त्यही विषयलाई एजेन्डा बनाएर मत मागिरहेका छन् ।

समाजसेवामार्फत राजनीतिको फेरो समातेका उनी कांग्रेसको १३औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्न सफल भए । ‘समाजसेवातिर अग्रसर हुँदै गएँ,’ उनले भने, ‘१३औं महाधिवेशनमा तपाईं अघि बढ्नुपर्छ भनेर गाउँठाउँबाटै प्रतिनिधि पठाइदिनुभयो अनि जितें पनि ।’

१४औं महाधिवेशनबाट उनी गण्डकी प्रदेश कार्यसमिति सदस्य बने । २०७४ को प्रदेशसभा निर्वाचनमा प्रत्यासी उम्मेदवार तत्कालीन माओवादी केन्द्रका अमर तमुलाई २ हजार ४४२ मतान्तरले पछि पार्दै दुवाडी विजयी बनेका थिए । कूल ३० हजार ९६० मत खसेको थियो । १०७५ मत बदर भएको थियो ।

त्यसो त कांग्रेसबाट विजयी बनेका दवाडीलाई डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले साथ दिएको थियो । माओवादी केन्द्रले भने एमालेसँग चुनावी तालमेल गरेको थियो ।

डा. बाबुराम भट्टराई

प्रदेशबाट संघमा छलाङ मार्न दवाडीलाई त्यति सहज भने देखिँदैन । एक त अहिले दलहरूबीच चुनावी तालमेल छैन । दलपिच्छेका उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभा सांसद जित्न २०७४ मा दवाडीलाई सघाएका बाबुरामले यो पटक कसलाई सहयोग गर्छन् भन्ने यकिन छैन । उनी र उनी आवद्ध पार्टीको साथ र समर्थनले गोरखा-२ को जीतमा महत्वपूर्ण अर्थ राख्छ ।

गत चुनावको अंकगणित र नयाँप्रति रुझान

गोरखा-२ का विभिन्न गाउँका दर्जनौं मतदाता भेटेपछि भन्न सकिने देखियो, यसपटक मत परिवर्तन हुनेवाला छ । अघिल्लो पटक प्रधानमन्त्री चुनेको गोरखा-२ मा प्रचण्डले दिएको आश्वासनका कारण लेखनाथमाथि मार परिरहेको छ ।

प्रचण्डले विभिन्न ठाउँमा बाटो पिच गरिदिने, पालुङटार एयरपोर्ट चलाउने, गोरखकाली रबर उद्योग चलाउने बाचा गरेका थिए । तर ती कुनै पनि काम भएनन् र अहिले नेकपाले निर्विवाद र इमान्दार, क्षमतावान पात्र उठाएको भए पनि प्रचण्डको आश्वासन बाँडेर हिँडेपछि मतदाता रिसाएको देखियो ।

बाबुराम भट्टराईको राम्रै बर्चश्व रहेको सो क्षेत्रमा उनी ब्याक भएसँगै माहोलमा फेरबदल आएको छ । पछिल्लो समय सांगठनिकभन्दा व्यक्तिगत प्रभाव बढी भएका उनी ब्याक भएसँगै यसको फाइदा कुन पार्टीका उम्मेदवारलाई हुन्छ, यकिन गर्न कठिन छ । तर चुनावी रुझानले देखाउँछ, ‘पुराना दललाई आफ्नो अस्तित्व जोगाउन ठूलो चुनौती छ ।’

‘एयरपोर्ट पनि चलाउँछौं र एयरपोर्टको आडबाटै पृथ्वी राजमार्ग जोड्ने सडक कालोपत्रे गर्ने बाचा प्रचण्डले गर्नुभएको थियो । तर अहिले पनि बुङबुङ्ती धुलो उडिरहेको छ । माओवादीले अहिले राम्रा मान्छेलाई टिकट त दिएको छ तर हामी ढुक्क छैनौं,’ पालुङटारका बसन्तबहादुर बस्नेतले सुनाए, ‘प्रचण्डले आश्वास नमात्रै बाँडे, यस पटक विकल्प खोज्ने हो ।’

निष्ठा, इमान्दारिता र संसदीय चुनावमा पहिलो पटक उम्मेदवार बनेका लेखनाथलाई मतदाताले त्यतिधेरै सुनिरहेको हामीले देखेनौं । न्यौपानेले मकै, भटमास खाँदै सरल जीवन र चुनावी गतिविधि प्रदर्शन गरिरहेका लेखनाथलाई रोक्ने अभियानमा रास्वपाका महामन्त्री कविन्द्र छन् ।

दवाडीलाई सुधारिएको भनिएको कांग्रेसबाट उम्मेदवार बनाएर कविन्द्रलाई उछिनेर जितको इतिहास बनाउन कांग्रेस लागिपरेको छ । चक्रे मिलनको चुनावी कार्यक्रममा त्यति धेरै एमालेका पाका नेताहरू हिँडिरहेका छैनन् । चक्रेको पक्षमा मत माग्नुपर्ने एजेन्डा र जेनजी आन्दोलनको अपजस पनि एमालेले चुनावी क्षेत्रमा सामना गरिरहनु परेको छ ।

यसै पनि अघिल्ला चुनावी अंकगणितले कमजोर देखिएको एमालेसँग चक्रेलाई भोट हाल्नुको कारण मतादाताई बुझाउने एजेन्डा देखिएन । अब्दुसले अहिले चक्रेको तर्फबाट भोट मागिरहेको भए पनि एमाले भित्र ठूलो उत्साह देखिँदैन ।

गोरखा-२ मा रास्वपाका कविन्द्र, नेकपाका लेखनाथ र कांग्रेसका प्रकाशचन्द्रका बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विभिन्न गाउँ र बस्तीहरूमा पुग्दा घरमा एउटा पार्टीको झण्डा राख्ने र मत अर्को पार्टीलाई हाल्ने मनस्थिति बनाएका कार्यकर्तासमेत भेटिए ।

विगतका निर्वाचनको नजिता केलाउने हो भने २०७० को चुनावमा सो क्षेत्रमा कांग्रेस हारेको थियो । माओवादीका हितराज पाण्डेले कांग्रेस उम्मेदवार रविकला खनाललाई १२ हजार ८३२ मतान्तरले हराएका थिए ।

२०७४ को चुनावमा कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग चुनावी तालेमेल गर्दै गोरखा-१ आफूले लियो र गोरखा-२ भट्टराईलाई छाड्यो । कांग्रेसको समर्थन पाएका भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई भारी मतान्तरले हराए ।

२०७९ को चुनावमा कांग्रेसले फेरि सो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्यो । उक्त चुनावमा प्रचण्डको प्रतिस्पर्धी उम्मेदवार बन्न आइपुगे रास्वपाका कविन्द्र बुर्लाकोटी । कांग्रेसको समर्थन पाएका प्रचण्डसँग बुर्लाकोटी भारी मतान्तरले पराजित भए ।

तर, आसन्न निर्वाचनमा दलहरूबीच चुनावी गठबन्धन छैन । नितान्त कांग्रेसकै मतबाट चुनाव जित्नुपर्ने बाध्यता दवाडीलाई छ । चुनावी तालमेलका कारण दुई पटकसम्म सो क्षेत्र छाडेको कांग्रेसले मतभारको अंकगणित निकाल्न पनि मुस्किल छ । कतिपय कांग्रेसकै कार्यकर्ता रास्वपा प्रवेश गरेका छन् । सो क्षेत्रमा दवाडीको लोकप्रियता भए पनि बलिया प्रतिस्पर्धीका कारण जित त्यति सहज देखिँदैन ।

जनताले यस पटक पुनः आफूलाई न्याय गर्नेमा दवाडी ढुक्क छन् । ‘शिक्षाको क्षेत्रमा भन्ने हो भने अनाथ असहाय विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छु,’ दवाडीले भने, ‘विद्यालय भवनदेखि सामुदायिक भवन निर्माणसम्म सहयोग गरेको छु ।’

गोरखामा प्रचण्ड

अघिल्लो पटक गोरखा-२ ले सांसद होइन, प्रधानमन्त्री चुन्ने नारा लगाउँदै माओवादी अध्यक्ष प्रचण्डले मतदाता फकाएका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै प्रचण्डलाई यहाँ ल्याएर सघाएका थिए । प्रचण्डसँग कांग्रेसलगायत ५ दलीय गठबन्धनको समर्थनसमेत थियो ।

२०५६ सालसम्म कांग्रेसले बर्चश्व कायम गर्दै आएको गोरखामा २०६४ सालपछि माओवादीको दबदबा बढ्यो । त्यस यताका निर्वाचनमा माओवादी नै हावी बन्दै आयो ।

समानुपातिक मततर्फ पनि माओवादी नै अगाडि देखियो । माओवादीले १९ हजार मत ल्याउँदै गर्दा कांग्रेसको ११ हजार ८८२ मत थियो । रास्वपाले ८ हजार ९९९ र एमालेले ६ हजार १८५ मत ल्याएका थिए ।
गत निर्वाचनमा पार्टीले ल्याएको समानुपातिक मत र स्थानीय तह निर्वाचनको मतपरिणामलाई माओवादीले जितको बलियो आधार भनिरहेको छ ।

यस निर्वाचन क्षेत्रमा पर्ने पालिकामध्ये सिरानचोक बाहेक अन्य (पालुङटार नगरपालिका, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका) मा माओवादी नै विजयी बनेको छ । सोही क्षेत्रमा पर्ने गोरखा नगरपालिकाको वडा नम्बर ८ देखि १४ मध्ये तीन वटा वडामा पनि माओवादीकै नेतृत्व छ ।

मुख्यतया कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी रहँदै आएको सो क्षेत्रमा पछिल्लो समय रास्वपा पनि प्रतिस्पर्धीको रूपमा उदाएको देखिन्छ । नयाँको खोजीमा कांग्रेस र माओवादीबाटै पार्टी प्रवेश गर्नेहरू पनि बढिरहेका छन् ।

बाबुराम भट्टराईको राम्रै बर्चश्व रहेको सो क्षेत्रमा उनी ब्याक भएसँगै माहोलमा फेरबदल आएको छ । पछिल्लो समय सांगठनिकभन्दा व्यक्तिगत प्रभाव बढी भएका उनी ब्याक भएसँगै यसको फाइदा कुन पार्टीका उम्मेदवारलाई हुन्छ, यकिन गर्न कठिन छ । तर चुनावी रुझानले देखाउँछ, ‘पुराना दललाई आफ्नो अस्तित्व जोगाउन ठूलो चुनौती छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?