+
+
Shares

अन्नपूर्ण गाउँपालिकाबाट करिब ४ करोडको सुन्तला बिक्री   

कृषि शाखा प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख रुपैयाँ मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिइन् ।  

रासस रासस
२०८२ फागुन ६ गते १२:४५

६ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड रुपैयाँ आम्दानी गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो । कृषि शाखा प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख रुपैयाँ मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिइन् ।

वडा नं १ दोवामा ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा ३९ लाख, वडा नं ३ दानामा २१ लाख, वडा नं ४ नारच्याङमा १० लाख, वडा नं ६ घारमा ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा एक करोड ८८ लाख रुपैयाँ मूल्यबराबरको सुन्तला बिक्री भएको उनले बताइन्।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम ५० हजारदेखि २० लाख रुपैयाँ मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले २० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।

अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । २ फागुनसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए ।

दोसल्लेका किसानले प्रतिकिलोग्राम २०० रुपैयाँसम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताउनुभयो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?