प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाबाट रास्वपा उम्मेदवार टासी ल्हान्जोमले ‘म कांग्रेसको उम्मेदवार’ भनेर बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। तर, हामीले गरेको तथ्य जाँचमा पूरा भिडियोबाट अंशमात्र काटेर सन्दर्भविहीन रूपमा भ्रामक बनाई प्रस्तुत गरिएको भेटिएको छ।
के हो दावी ?
७९ हजार फलोअर्स रहेको जनता मिडिया नामक फेसबुक पेजमा बुधवार (२०२६ को फेब्रुअरी २५) को दिन प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाबाट रास्वपा उम्मेदवार टासी ल्हान्जोमले बोल्दै गरेको एउटा क्लिपलाई समावेश गरेर १ मिनेट १६ सेकेन्डको भिडिओ अपलोड भएको छ। भिडिओमा टासीले भनेकी छिन्, ‘सम्पूर्णलाई नमस्ते है म टासी ल्हान्जोम, र म हाल कांग्रेसको उम्मेदवार हुम्लाबाट….।’
त्यसपछि भिडिओमा न्यारेटरले टासीले आफू कुन पार्टीको उम्मेदवार हुँ भन्ने सामान्य हेक्कासमेत नराखेको भनेको सुनिन्छ। बुधबार राति यो तथ्य जाँच गर्ने समयसम्म जनता मिडियाको पोष्टमा ८ सय ४२ पटक रियाक्ट भएको छ भने १४५ पटक कमेन्ट गरिएको छ। ९४ पटक सेयर गरिएको भिडियो ४४ हजार पटक हेरिएको छ ।
हेर्नुहोस् जनता मिडियाले गरेको भिडिओ पोष्टको स्क्रिनसट
पोष्टको ओरिजिनल लिंक यहाँ छ, अर्काइभ लिंक यहाँ छ, अर्काइभ भिडिओ यहाँ छ ।
पत्रकार सुमन ढुंगानाले पनि ५ सेकेन्डको भिडिओ पोष्ट गर्दै घण्टीको टोपी लगाएर कांग्रेसको उम्मेदवार भन्दै रास्वपा उम्मेदवार टासी ल्हान्जोमले भोट माग्दै गरेको दावी भनेका छन्। उनको पोष्टमा यो तथ्य जाँच गर्ने समयसम्ममा ३३ पटक सेयर भएको छ भने ६ हजार पटकभन्दा धेरै भिडिओलाई हेरिएको छ । पत्रकार सुमन ढुंगानाको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने भिडिओको अर्काइभ लिंक यहाँ छ
के हो तथ्य ?
यस दावीको तथ्य जाँच गर्न हामीले सामाजिक सञ्जालमा फैलिएको भिडिओको पूर्ण संस्करण खोज्यौँ। टासी ल्हान्जोमको आधिकारिक फेसबुक पेज (Tashi Lhazom Official) मा अपलोड गरिएको मूल भिडिओ जाँच गर्यौँ। दुबै भिडिओको टाइमलाइन तुलना गर्यौँ। काटिएको स्थान र सन्दर्भ विश्लेषण गर्यौँ।
टासी ल्हान्जोमले २०२६ फेब्रुअरी २३ मा आफ्नो आधिकारिक फेसबुक पेजमा १ मिनेट ९ सेकेन्डको मूल भिडिओ अपलोड गरेकी छन्।
मूल भिडिओको सुरुमा उनी क्यामेरा बोक्ने व्यक्तिलाई “भिडिओ भयो ?” भनेर सोधेको सुनिन्छ। त्यसपछि करिब तेस्रो सेकेन्डमा उनी भन्छिन्:
“सम्पूर्णमा नमस्ते, म टासी ल्हान्जोम, र म हाल कांग्रेसको उम्मेदवार हुम्लाबाट…”
तर उक्त वाक्य पूरा हुनु अघि नै उनको ध्यान क्यामराबाट हटेको देखिन्छ। त्यसपछि भिडिओमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकायकी आमाले उनलाई खादा ओढाएर सम्मान गरेको दृश्य देखिन्छ।
करिब ४० सेकेन्डपछि टासी ल्हान्जोम पुनः स्पष्ट रूपमा आफ्नो परिचय दिँदै बोल्न सुरु गर्छिन् र आफूलाई सम्मान गर्ने व्यक्ति कांग्रेस उम्मेदवार जयपति रोकायकी आमा भएको बताउँछिन्।
मूल भिडिओमा उनले आफू “कांग्रेस उम्मेदवार हुँ” भनेर स्पष्ट रूपमा भनेको देखिँदैन। सामाजिक सञ्जालमा फैलिएको क्लिपमा भने उक्त अंशलाई सन्दर्भबाहिर काटेर प्रस्तुत गरिएको छ।
हामीले टासी ल्हान्जोमसँग प्रत्यक्ष प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्यौँ, तर यो रिपोर्ट प्रकाशन हुँदासम्म प्रतिक्रिया प्राप्त भएन।
हेर्नुहोस् टासी ल्हान्जोमले गरेको पोष्टको स्क्रिनसट
टासी ल्हान्जोमको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ भिडिओ लिंक यहाँ छ ।
तथ्य जाँच
दावी : हुम्लाबाट रास्वपाकी उम्मेदवार टासी ल्हान्जोमले ‘म कांग्रेसको उम्मेदवार’ भनेर बोलेको दावीसहितको भिडिओ।
दावीकर्ता : जनता मिडिया नामक फेसबुक पेज, पत्रकार सुमन ढुंगाना ।
तथ्य/निश्कर्ष : सामाजिक सञ्जालमा फैलिएको भिडियो भ्रामक छ। टासी ल्हान्जोमले आफूलाई ‘कांग्रेस उम्मेदवार’ भनेर घोषणा गरेकी होइनन्। मूल भिडियोको विश्लेषणबाट उक्त वाक्य पूरा हुनुअघि नै दृश्य परिवर्तन भएको देखिन्छ र त्यसपछि कांग्रेस उम्मेदवार जयपति रोकायकी आमाले सम्मान गरेको दृश्य समावेश छ। फैलिएको क्लिपमा भने उक्त अंश मात्र काटेर प्रस्तुत गरिएको पाइयो।
अनलाइनखबर र nepalfactcheck.orgको सहकार्य
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।
प्रतिक्रिया 4