+
+
Shares
विचार :

‘चुरे विनाशमा राजनीतिक संरक्षण छ’

चुरे जति संवेदनशील छ, दलहरू ठीक विपरीत दिशातिर फर्केका छन् । सरकारहरूले पनि चुरेको महत्त्व बुझेनन् र दोहनमै केन्द्रित भइरहे । चुरेको संरक्षणमा यसैगरी उदासीन हुने हो भने एक दशकमै तराई मरुभूमिकरण हुन्छ ।

नागदेव यादव, चुरेविद् नागदेव यादव, चुरेविद्
२०८२ फागुन १५ गते १९:२५

नेपालको मेचीदेखि पश्चिम महाकालीसम्म करिब ३७ जिल्लामा चुरेको भूभाग पर्दछ । यो भूभाग भूबनोटको हिसाबले अत्यन्तै कमजोर छ । नेपालको कुल भूभागको करिब १२.६ प्रतिशत भूभाग चुरे क्षेत्रले ओगटेको छ । करिब ५२ लाख जनता चुरे क्षेत्रमा बसोबास गरेको देखिन्छ ।

नेपालमा तीन तहका पहाडहरू छन् : चुरे, महाभारत र हिमाल । यी तीन तहका पहाडहरूको बीचमा अत्यन्त जटिल सम्बन्धहरू रहेका छन् । चुरे कमजोर भयो भने त्यसको असर माथि पर्छ र महाभारत पनि कमजोर हुन्छ । महाभारत कमजोर भयो भने हामीलाई विश्वमाझ चिनाउने हिमाल पनि कमजोर हुन्छ ।

त्यसकारण चुरे, महाभारत र हिमाललाई अलग राखेर हामीले गर्ने विश्लेषण अधुरो हुन्छ । हामीले जहिले पनि चुरेको कुरा गर्दा महाभारत र हिमालका कुरा पनि गर्छौं । मैले विभिन्न जिल्ला भू-संरक्षण कार्यालयहरूमा करिब २२ वर्ष काम गरेँ । चुरेमा पनि महोत्तरी, सर्लाही, धनुषा, सिराहासम्मको अवस्था कमजोर र जोखिमपूर्ण छ ।

खडेरीसँग चुरेको सम्बन्ध

२०५३ सालमा पाँचथर जिल्ला भू-संरक्षण कार्यालयबाट सरुवा भएर म महोत्तरी आएको थिएँ । त्यतिबेला बर्दिबासको अवस्था क्षतविक्षत थियो । रातु खोलाले महोत्तरी र धनुषा गरी दुई जिल्लालाई छोएको छ । अनि पूर्व-पश्चिम राजमार्गको लालगढ र बर्दिबासको बीचमा रातु खोलामा पुल छ ।

पुलदेखि माथि रातु खोलाको उद्गमस्थल करिब २८ किलोमिटर टाढा पर्दछ । त्यो भाग करिब सिन्धुलीको सिमानासँग जोडिएको छ । रातुमा धनुषा र महोत्तरीका विभिन्न वनजंगल क्षेत्रबाट १०८ वटा खहरे र गल्छीहरू मिसिएका छन् ।

खहरे र गल्छीहरूको लम्बाइ ५ सय मिटरदेखि ३–४ किलोमिटरसम्म रहेको छ । चुरेबाट बग्ने जति नदी खोलाहरू छन्, ती आफैँमा समस्या होइनन् । जलाधार क्षेत्रभित्रबाट नदीहरूमा मिसिने मसिना झोराझोरी, खोल्सी र खहरेहरूबाट वर्षेनी भूक्षय हुने गरेको छ ।

त्यसले गर्दा तराईको हजारौँ हेक्टर उर्वर भूमि वर्षेनी मरुभूमिकरण हुँदै गइरहेको छ । पानी पर्ने प्रणालीमा आएको फेरबदलका कारण समस्या बढ्दै गएको छ । पहिले लामो समय बिस्तारै पानी पर्थ्यो र जमिनमा सिञ्चित हुन्थ्यो ।

तराई पानीविहीन भयो भने किनेर खान सम्भव छ ? अहिले हजारौँ ट्रिपरहरूले चुरेबाट बग्ने खोला र नदीका रोडा-ढुंगाहरू मापदण्ड विपरीत उत्खनन गरेर ओसारिरहेका छन् । ती खोला-नदीबाट २-३ फिट निकालेर लैजाँदा खासै असर हुँदैन, तर एकै ठाउँबाट २०-३० फिट उत्खनन हुने गरेको छ ।

अहिले लामो समय खडेरी पर्छ, अनि एकाएक छोटो समयमा ठूलो वर्षा हुन्छ । जसले गर्दा चुरे क्षेत्रबाट गिटी-बालुवा र गेगरहरू तराईतिर गएर थुप्रिएका हुन्छन् । खोला र नदीका सतहहरू अस्वाभाविक रूपमा माथि आइरहेका छन् । त्यो तराईका लागि एउटा विपत्तिको संकेत हो ।

सानो बाढी आउँदा पनि गिटी-बालुवाहरू घरखेतमा पस्ने र थुप्रिने गरेको छ । त्यसले तराईका उर्वर भूमि र खेतीयोग्य जमिनलाई मरुभूमिकरण गर्दै गएको छ । एकैसाथ ठूलो मात्रामा पानी पर्दा जमिनमा पानीको पर्याप्त पुनर्भरण (रिचार्ज) हुन पाएको छैन ।

तराईको जमिनमुनिको पानीको सतह दिनप्रतिदिन तल सर्दै गएको छ । सिँचाइ त टाढाको कुरा, गत वर्षझैँ सुक्खायाम बढ्दै गयो भने खानेपानीको ठूलो समस्या झेल्नुपर्ने हुन सक्छ । इनारको स्रोत सुक्दै गएको छ । स्यालो ट्युबवेलहरू सुक्दै गएका छन् । डिप बोरिङको सतह डरलाग्दो गरी तल खस्केको छ ।

यसलाई कम गर्ने एउटै उपाय छ— हामीले वर्षाको समयमा चुरेबाट बग्ने खोलाहरूमा ठाउँ-ठाउँमा ड्यामहरू बनाउनुपर्छ । अनि वर्षाको पानी संकलन हुने पोखरीहरू बनाउनुपर्छ । त्यसपछि मात्रै त्यहाँ जम्मा भएको पानीले तराईको पानीको स्रोतको संरक्षण गर्छ ।

रातुमा मात्रै हामीले विभिन्न क्षमता र स्वरूपका २१३ वटा पानी संकलन गर्ने पोखरीहरू बनाएका छौँ । १०८ वटा खहरेमध्ये ७७ वटामा पानीको बहाव रोक्न ड्याम बनाउने काम गरेका छौँ । ४ हजार चेक ड्यामका साथै बाँस लगाउने काम भएको छ । बाँसले भूक्षय रोक्न मद्दत गर्छ । अहिले रातु खोलाको स्रोतको ठूलो हिस्साको भूक्षय नियन्त्रणमा आएको छ ।

घट्दो पानीको सतह

तराईको ‘लाइफलाइन’ का रूपमा चुरे रहेको छ । चुरे र तराईको अन्योन्याश्रित सम्बन्ध छ । चुरेको विनाशले तराई मरुभूमिकरण हुन्छ र त्यहाँका जनताहरू अन्न र पानीविहीन हुनेछन् ।

चुरेभावर पानीको भण्डार हो भने तराई अन्नको भण्डार हो । हामीले तराईवासीलाई चुरे र चुरेवासीलाई तराईको महत्त्व बुझाएका छौँ ।

करिब ६५-७० वर्ष पहिले दोलखा, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुरबाट मानिसहरू यता आएर बसोबास गरेको देखिन्छ । चुरे क्षेत्रमा बसोबास गर्नेहरूले निकै मिहिनेतका साथ चुरेको संरक्षण गरेको देखिन्छ ।

विनाशमा राजनीतिक संरक्षण

चुरे संरक्षणको सवालमा उम्मेदवारहरू उदासीन भएको देखिन्छ । संघीय सरकारले गत वर्ष नेपालको व्यापार घाटा कम गर्न चुरेमा भएका स्रोतहरूलाई भारतमा लगेर बेच्नुपर्छ भन्ने प्रस्ताव बजेट वक्तव्यमा समावेश गर्‍यो ।

हुँदा हुँदा मधेश प्रदेश सरकारले पनि चुरेबाट बग्ने नदी एवं खोलाहरूबाट गिटी, बालुवा र ग्राभेलहरू भारत निर्यात गर्नुपर्छ र त्यसबाट व्यापार घाटा कम गर्न सकिन्छ भन्ने प्रस्तावमा छलफल गर्‍यो ।

चुरे जति संवेदनशील छ, यहाँका राजनीतिक दलहरू ठीक विपरीत दिशातिर फर्केका छन् । सरकारहरूले पनि चुरेको महत्त्व बुझेनन् र दोहनमै केन्द्रित भइरहे ।

राजनीतिक दलहरूले त चुरे दोहन गर्ने कुनै पनि दुष्प्रयास बाँकी राखेका छैनन् । चुरेको संरक्षणमा यसैगरी उदासीन हुने हो भने धेरै होइन, ८-१० वर्षमा तराई मरुभूमिकरण हुन्छ । तराई पानीविहीन भएर अन्न उब्जाउ हुँदैन र मरुभूमिकरण हुन्छ ।

चुरे संरक्षणसँग सरोकार राख्ने कैयौँ ऐन-कानुन निर्माण भएका छन् तर ती सबै कानुनहरू लोभलालचका कारण बिक्री भएका छन् । चुरे क्षेत्रमा लुकिछिपी रूपमा उत्खनन भइराखेको छ ।

खाद्य असुरक्षा बढ्दै गयो भने तराईबाट पनि मानिसहरू बसाइँ सरेर अन्यत्र जानुपर्ने हुन सक्छ । त्यसैले चुरेको महत्त्व बुझिदिनुहुन म तीनै तहका सरकारहरू, सरोकारवाला एवं उम्मेदवारहरूलाई आग्रह गर्दछु ।

चुरे संरक्षणसँग सरोकार राख्ने कैयौँ ऐन-कानुन निर्माण भएका छन् तर ती सबै कानुनहरू लोभलालचका कारण बिक्री भएका छन् । चुरे क्षेत्रमा लुकिछिपी रूपमा उत्खनन भइराखेको छ । करिब ५२ लाखभन्दा बढी जनसंख्याको संरक्षण चुरेसँग जोडिएको छ ।

तराई पानीविहीन भयो भने किनेर खान सम्भव छ ? अहिले हजारौँ ट्रिपरहरूले चुरेबाट बग्ने खोला र नदीका रोडा-ढुंगाहरू मापदण्ड विपरीत उत्खनन गरेर ओसारिरहेका छन् । ती खोला-नदीबाट २-३ फिट निकालेर लैजाँदा खासै असर हुँदैन, तर एकै ठाउँबाट २०-३० फिट उत्खनन हुने गरेको छ ।

राती-राती पुलको मुनि उपकरणहरू लगाएर रोडा-ढुंगा उत्खनन गर्ने काम भइरहेको छ । मैले यस्तो कामलाई अपराधको संज्ञा दिएको छु । र, यस्ता आपराधिक गतिविधिहरू धेरै लामो समयसम्म कायम रहन सक्दैनन् । व्यवसायीहरूलाई पनि यस्तो अपराधमा संलग्न नहुन आग्रह गर्न चाहन्छु । 

(चुरे संरक्षणमा काम गरिरहेका यादवसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?