१५ फागुन पाँचथर । पूर्वी पहाडलाई तराई र सुविधा सम्पन्न सहरसँग जोड्ने छोटो सडकको रूपमा रहेको तमोर कोरिडोर(सडक)बारे पाँचथरका उम्मेदवारले मनग्य चर्चा गरिरहेका छन् । कसैले आफ्नो पार्टीको पहलमा कोरिडोर बनेको भनिरहेका छन् भने कसैले आफ्नै पहलमा बनेको भन्नेसम्मका दाबी गर्दै चुनावी प्रचार गरिरहेका छन् ।
यो कोरिडोरमा मूलघाटदेखि पाँचथरको अमरपुरसम्मको कालोपत्रे भइरहेकामा मूलघाट–हाङठुवा खण्डको काम सकिन लागेको छ । जसले त्यो क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।
त्यही कामको जस लिन दल तथा उम्मेदवारबीच होडबाजी चल्ने गरेको छ । जुन चुनावमा झन् बढी बनेको छ । अहिले सबैजसो उम्मेदवारले यसैलाई चुनावी नारा समेत बनाएका छन् ।
कालोपत्रेसँगै फराकिलो बनेपछि सडकमा सरर गाडी गुड्ने भएको छ । तर, त्यही सडकका खोलाहरूमा निर्माणाधीन पुलको काम भने साह्रै सुस्त छ । जसले बर्खामा गाडी गुड्न सहज भने हुनेछैन । विगतमा खोलाकै कारण यातायात नै अवरुद्ध हुने गरेका तमाम अनुभव पनि छन् ।
कालोपत्रे हुँदै गरेको सडकको जस लिने नेताहरूको ध्यान त्यतातिर भने गएको देखिन्न । खोलामा बनिरहेका अधुरा पुललाई पूर्णता दिनेमा उनीहरूको मौनता छ । अधुरा पुलहरू कहिले बजेट अभाव, कहिले ठेकेदारको लापरबाहीले ढिलाइ हुँदै आएका छन् ।
पुल सेक्टर कार्यालय इटहरीका इन्जिनियर नवीन साहका अनुसार यो सडकमा आठ वटा पुल बनिरहेका छन् । जसमध्ये पाँच वटा पुलको मात्रै काम भइरहेको छ । ती पुलको कामको गति पनि साह्रै सुस्त छ ।
सबै ठेक्काको म्याद समेत थपिसकिएको छ । २०७८ सालमा ठेक्का लागेका पुलको प्रगति एकदमै कमजोर देखिन्छ । यहाँको मुख्य नावा खोलाको पुल हो, यहाँको पुलको प्रगति बल्ल ३९ प्रतिशत छ । लखुवा खोलामा ३० प्रतिशत, रघुवामा २६, छरुवामा ६७ र कबुवामा २५ प्रतिशत प्रगति भएको छ । हेवा, लोरिपा र बगुवा खोलामा काम नै सुरु भएको छैन ।
सडकको कालोपत्रेको काम भने ६५ प्रतिशत पूरा भएको छ । तमोर कोरिडोर आयोजनाका प्रमुख मनिषमान शाक्यले हालसम्म ७५ किलोमिटर सडक कालोपत्रे भइसकेको बताए ।
तमोर कोरिडोरको चतरा–अमरपुर खण्डमा १५८ किलोमिटरमध्ये मूलघाटबाट ११२ किलोमिटर कालोपत्रे गर्न ठेक्का लगाइएको छ । ११२ किलोमिटरमध्ये पहिलो खण्डको ६६ किलोमिटरमा ६३ किलोमिटरको काम सकिएको छ । दोस्रो खण्डमा भने ढिलाइ भएको छ । जहाँ ४६ किलोमिटरमध्ये १२ किलोमिटर कालोपत्रे भएको छ ।
तमोर नदी किनारको यो सडक कालोपत्रे भएपछि यहाँको दृश्य आकर्षक देखिएको छ । यो सडकलाई पूर्वी पहाडका धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको ‘लाइफ लाइन’ मानिन्छ ।
प्रतिक्रिया 4