+
+
Shares

‘पुराना शक्तिहरूलाई कमजोर ठानेका छैनौँ’

लोकतन्त्रमा सबैका दृष्टिकोणहरू हुन्छन्। तथ्य के हो भन्ने आम नागरिकले बुझेका छन्। सोसल मिडियाको जमाना भएकाले कुनै कुरा लुकेको छैन। त्यसैले हामी होइन, हामीलाई आरोप लगाउनेहरू ‘डिफेन्सिभ’ छन्। नागरिकलाई धेरै बुझाउनुपरेको छैन। रास्वपा परिवर्तनलाई बोक्ने र ‘डेलिभरी’ मा विश्वास गर्ने पार्टी हो भनेर जनताले बुझेका छन्।

सइन्द्र राई सइन्द्र राई
२०८२ फागुन १५ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमेयर बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरी देशभर चुनावी अभियान चलाइरहेको छ।
  • रुपन्देहीमा रास्वपाले सबै पाँच सिट जित्ने दाबी गर्दै योजनाबद्ध रणनीतिका साथ चुनावी अभियान अघि बढाइरहेको छ।
  • रास्वपाका नेताहरूले नयाँ र परिवर्तनलाई मुख्य एजेन्डा बनाएर नागरिकसँग घर–घर पुग्ने काम गरिरहेका छन्।

काठमाडौँका पूर्वमेयर बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी अभियान चलाइरहेको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन चुनावी सभा सम्बोधन गर्दै देशदौडाहामा छन् ।

विशेषगरी सहरी क्षेत्रहरूमा रास्वपाप्रति ठूलो आकर्षण देखिन्छ । रास्वपाको प्रभाव देखिएकै जिल्लामा पर्छ- रुपन्देही। रुपन्देही रास्वपाका सभापति बुद्धिप्रसाद शर्मा यसपटक यहाँका सबै सिट जित्ने दाबी गर्छन्। जिल्ला सभापति शर्मासँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश:

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी अभियान कसरी चलाइरहेको छ?

रुपन्देही जिल्ला आन्तरिक संरचनाको हिसाबले हामी राम्रो अवस्थामा छौँ । त्यसमा नयाँप्रति आएको लहरलाई उपयोग गर्दै योजनाबद्ध रणनीतिका साथ अगाडि बढेका छौँ । नागरिकसँगै पुग्ने, नागरिकका कुरा सुन्ने र आफ्ना एजेन्डाहरू राख्ने काम गरिरहेका छौँ ।

रवि लामिछाने आउँदा यहाँ राम्रै उपस्थिति देखियो। त्यसबाहेकका गतिविधि पनि भइरहेका छन् ?

सबै ढङ्गले अगाडि बढेका छौँ । केन्द्रका नेताको प्रभाव देशैभरि छ। त्यसले पार्टी पङ्क्तिका सबै साथीहरूमा र नागरिकमा पनि नयाँ उत्साह र ऊर्जा मिलेको छ। सँगसँगै, धेरैजसो पालिकामा सङ्गठन निर्माण भएका छन्। त्यसमार्फत घर–घर पुगेर नागरिकसँग कसरी जोडिन सकिन्छ भन्ने काम गरिरहेका छौँ ।

नयाँ र परिवर्तन रास्वपाको मुख्य एजेन्डाजस्तो देखिन्छ। त्यसबाहेक यहाँ छुट्टै प्रतिबद्धता गर्नुपरेको छ?

नेपालमा अझै पनि सांसदले सबै किसिमका समस्याहरू हल गरिदिऊन् भन्ने अपेक्षा हुन्छ। स्थानीय मुद्दाको सवालमा एउटा विधायकले गर्न सक्ने के–के कुराहरू हुन्, ती कुराहरूमा पनि प्रतिबद्धता गरेका छौँ । नेपाल अल्पविकसित मुलुक भएकाले एउटा जनप्रतिनिधिबाट नागरिकले धेरै अपेक्षा गरेको स्थिति हुन्छ । त्यसैले केन्द्रका मुद्धासँगसँगै स्थानीय मुद्धाहरू नागरिकबाट लिएर लिपिबद्ध गर्दै काम गरिरहेका छौँ ।

दोस्रोपटक रास्वपा चुनाव लड्दै छ, आत्मविश्वास कस्तो छ ?

जेनजी विद्रोहपछि रास्वपाले मात्रै नयाँ मुलुक निर्माण गर्न सक्छ भन्ने निष्कर्षमा आम नागरिक पुग्नुभएको छ । त्यसले नयाँ उत्साह थपिएको छ । नागरिकको घर–घर पुग्दा हामीलाई उहाँहरूको प्रतिक्रियाले ऊर्जा मिलिरहेको छ। नागरिकमै आशाको सञ्चार भएकाले हाम्रो चुनावी अभियानमा पनि सहजता आएको छ ।

केही प्रतिस्पर्धी शक्तिले रास्वपालाई देश जलाउने शक्ति भनिरहेका छन्। यसले केही असर परेको छ ?

लोकतन्त्रमा सबैका दृष्टिकोणहरू हुन्छन्। तथ्य के हो भन्ने आम नागरिकले बुझेका छन् । सोसल मिडियाको जमाना भएकाले कुनै कुरा लुकेको छैन । त्यसैले हामी होइन, हामीलाई आरोप लगाउनेहरू ‘डिफेन्सिभ’ छन्। नागरिकलाई धेरै बुझाउनुपरेको छैन। रास्वपा परिवर्तनलाई बोक्ने र ‘डेलिभरी’ मा विश्वास गर्ने पार्टी हो भनेर जनताले बुझेका छन् ।

तर रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार काठमाडौँ महानगरको नेतृत्व बिचैमा छोडेर निस्किएको मान्छे। सभापति त मुद्दामामिला लड्दैमा ठिक्क छ । काम गर्ने पार्टी हो भन्ने गज्जबको उदाहरण त भएन नि ?

नेपालको लोकतन्त्र संस्थागत हुन सकेन, यो यथार्थ हो । लोकतन्त्रमा सुशासनभन्दा पनि कुशासन बढी हुँदा नागरिकले धेरै दुःख पाएको यथार्थ हो । यो स्थितिमा राजनीति गर्नेहरूले समय, परिस्थिति र देशको आवश्यकताअनुसार निर्णय लिनुपर्ने हुन्छ । त्यही निर्णयअनुसार हाम्रा शीर्ष नेताहरू एउटा निष्कर्षमा पुग्नुभएको हो। अब लोकतन्त्रमा विपक्षीहरूले ती कुराहरू ल्याउँछन् नि ।

लुम्बिनीमा रास्वपाले कति सिट जित्छ भन्ने आकलन गर्नुभएको छ ?

लुम्बिनी प्रदेशमा २६ वटा क्षेत्रहरू छन् । रुपन्देहीका पाँचवटै सिट हाम्रो कब्जामा आउँछन् भन्ने ‘कन्फिडेन्स’ छ। तर हामी लोकतान्त्रिक पार्टी भएकाले चुनावी राजनीतिलाई हल्का रूपमा लिँदैनौँ । प्रतिस्पर्धी दलहरू पुराना शक्ति हुन् । उनीहरू लामो राजनीतिक विरासतबाट आएका छन्। नेपाली समाजमा भिजेका शक्तिहरू हुन् । त्यो भएको कारणले उनीहरूलाई कमजोर ठानेका छैनौँ । तर देशव्यापी रूपमा जसरी माहोल आएको छ, बढीभन्दा बढी जित्ने विश्वास छ ।

रास्वपा बनेको केही वर्ष भइसके पनि यसका उम्मेदवारहरू धेरैजसो बिलकुल नयाँ आए। उम्मेदवार चिनाउन अप्ठ्यारो परेको छ कि छैन?

यस्ता समस्या आउनु स्वाभाविकै हो । तर हाम्रा उम्मेदवारहरू अब्बल नै हुनुहुन्छ । हुन त हामी ‘मिसन ०८४’ कै योजनाअनुसार अगाडि बढेका थियौँ । तर दुई वर्षअगाडि नै चुनावमा होमिँदा सम्पूर्ण तयारी नपुगेको पनि हुन सक्छ ।

रवि र बालेनको भागबन्डामा उम्मेदवार चयन भए। यो त पुराना पार्टीहरूभन्दा खासै नयाँ भएन नि ?

मलाई लाग्दैन । तत्काल निर्णय लिनुपर्ने भयो । तर व्यक्तिगत चिनजान वा निकटताको हिसाबबाट निर्णय भएको छ जस्तो मलाई लाग्दैन ।

रुपन्देहीमा कोसँग प्रतिस्पर्धा हुन्छ ?

यहाँ त्रिपक्षीय प्रतिस्पर्धा नै देखिन्छ । रुपन्देहीका पाँचै क्षेत्रमा उनीहरूको उपस्थिति बलियो छ । तर पनि जनलहर हामीसँग छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?