१५ फागुन, संखुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभाका दुर्गम मानिएको उत्तरी क्षेत्र भोटखोलामा मतदान सामग्री पठाउन सुरु गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि दुर्गम तथा उच्च हिमाली क्षेत्रमा मतदान सामग्रीसहित कर्मचारी खटाउन सुरु गरिएको हो । शुक्रबारदेखि सडक सञ्जाल नजोडिएका निकै दुर्गम र विकट क्षेत्र किमाथाङ्का,रिदाक र थुदाम सहित तीन वटा मतदान केन्द्रका लागि मतपत्र र मतपेटीकासहित कर्मचारी र सुरक्षकर्मीे पठाइएको हो ।
पहिलो चरणमा भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योती आधारभूत विद्यालय मतदान सामग्री सहित कर्मचारी खटाउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
दुर्गम उत्तरी क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा हिँडेर दुई दिनभन्दा बढी समय लाग्ने भएका कारण मतदान सामग्री र मतदान अधिकृत सहितको टोली खटाउन सुरु गरिएको हो । तीन वटा मतदान केन्द्रमा निर्वाचन सामग्री मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी सहित रहेका छन् ।
जिल्लाका एक सय ६४ वटा मतदान केन्द्रमा १८ गते भित्र मतदान सामग्री सहित कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाकै सबैभन्दा दुर्गम मानिएको भोटखोलाका ३ वटा मतदान केन्द्रमा १८ गते मात्र मतदान अधिकृत र मतदान सामग्री सहितको टोली मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।
भौगोलिक रूपमा निकै विकट मानिएको थुदाममा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन । सबैभन्दा कम मतदाता रहेको थुदाम मतदान स्थलमा ६३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जसमध्ये २८ महिला र ३५ पुरुष छन् । थुदाम मतदान स्थलमा २०७९ सालको निर्वाचनमा २० मत खसेको थियो । भोटखोला गाउँपालिकामा ११ वटा मतदान स्थल र ५ हजार ६ सय २७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९ सय ८४ कर्मचारी खटिएका छन् । भोटखोला गाउँपालिकामा पाँच ओटा वडामा ११ ओटा मतदान केन्द्र कायम गरिएको छ । भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिड्नु पर्छ ।
एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम निर्वाचनका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा एक अस्थायी सहित १ सय ६५ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।
जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा देखिएका छन् ।
प्रतिक्रिया 4