१३ फागुन, बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर दुई जना घाइते भएका छन् ।
चुनाव प्रचारप्रसारको लागि धरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
झडपमा परी घाइते हुनेमा डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी रहेका छन् ।
चुनाव प्रचारप्रसारको लागि धरदैलो कार्यक्रम गर्ने क्रमामा दुवै पक्षबीच झडप भएको प्रहरी निरीक्षक सिंहले बताए ।
घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।
घटनामा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया 4