+
+
Shares
तथ्य जाँच :

प्रचण्डको भाषणको टुक्रा जोडेर बनाइयो बाकसै बदलेर चुनाव जित्नुपर्ने भ्रामक दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १५:१३

सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले “बाकस नै बदलेर भए पनि चुनाव जित्नुपर्छ” भनेको दाबीसहितको भिडियो भाइरल बनेको छ। उक्त भिडियो हेर्दा प्रचण्डले चुनाव जित्न जे–सुकै गर्नुपर्ने आशय व्यक्त गरेको दाबी देखिन्छ।

तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त भिडियो पुरानो भाषणबाट सन्दर्भ काटेर सम्पादन गरिएको पाइएको छ । पूर्ण भिडियो हेर्दा उनले सो अभिव्यक्ति आफ्नो धारणा व्यक्त गर्न नभई तत्कालीन राजनीतिक सन्दर्भमा केपी ओली प्रवृत्तिको आलोचना गर्ने क्रममा प्रयोग गरेको देखिन्छ ।

के हो दाबी ?

फिटमिन (Fitmin) नामक फेसबुक पेजमा शुक्रबार बिहान (फेब्रुअरी २७, २०२६) १२ः१६ बजे एउटा भिडियो अपलोड गरिएको छ। ‘प्रचण्डको असली रूप छेपारोको हेर्नु है’ भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त भिडियोमा प्रचण्डको सम्बोधन देखिन्छ।

भिडियोमा उनले यसो भनेको सुनिन्छ:

“हामीलाई भोट चाहिएको छ, जनताले भोट दिएनन् भने चुनाव हारिन्छ । भोट दिने बनाउनको लागि साँचो कुरा भने भोट नआउला कि भन्ने डर । अब साँचो भन्ने कि नभन्ने ठुलो समस्या परेको छ । हामी संसदीय निर्वाचनमा छौं । संसदीय निर्वाचन भनेको झुट भन्ने, बेइमानी गर्ने, साम दाम दण्ड भेद जे गरेर हुन्छ बाकसमा भोट खसाल्न पर्‍यो । बाकस नै बदलेर भए नि हुन्छ ।”

उक्त पेजका १ लाख ५१ हजारभन्दा बढी फलोअर्स छन्। शुक्रबार राति यो तथ्य जाँच तयार पार्दासम्म भिडियोलाई ७ हजार ८ सयभन्दा बढी लाइक, ६ सय ५९ कमेन्ट, ३ हजार ७ सयभन्दा बढी शेयर गरिएको छ। २ लाख २१ हजारभन्दा बढी पटक हेरिएको यही भिडियो अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि पुनः अपलोड गरेका छन्।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :

भिडियोको लिङ्क, अर्काइभ लिङ्क (भिडियो अर्काइभ)

उक्त भिडियोलाई थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपलोड गरेका छन् ।

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा सुरुमा हामीले उक्त पेजको बारेमा खोज्यौँ । सन् २०२५ नोभेम्बर २२ मा बनाइएको उक्त फेसबुक पेज अमेरिकाबाट सञ्चालन भइरहेको फेसबुकको पेज ट्रान्सपरेन्सीले देखायो ।

हेर्नुहोस्, स्क्रिन सट :

भिडियो सानो टुक्रा मात्र रहेको र अत्यधिक सम्पादन गरिएको देखिएकाले वास्तविक स्रोत पहिचान गर्न चुनौतीपूर्ण थियो। भिडियोको फ्रेम निकालेर रिभर्स इमेज सर्च गर्दा यही टुक्रा भिडियो मात्रै भेटियो।

तर, यही भिडियो गणेश उर्मिला बोहरा नामका फेसबुक प्रयोगकर्ताले २०२५ अप्रिल २७ मा अपलोड गरेको भेटियो। यसले भिडियो हालैको नभई पुरानो हुनसक्ने संकेत दियो। हेर्नुस् लिङ्क

यसले भिडियो पुरानो हुनसक्ने संकेत भने दियो। त्यसैले हामीले भिडियोमा प्रचण्डले बोलेको विषय “साँचो कुरा भने भोट नआउला भन्ने डर” कीवर्ड राखेर फेसबुकमा सर्च गर्‍यौँ। यस क्रममा The Sun Online TV मा २०२१ मार्च १५ मा अपलोड भएको समान भाषण तर फरक भिडियो फेला पर्‍यो।

त्यसपछि हामीले सोही मिति वरपर प्रचण्ड उपस्थित कार्यक्रमका प्रकाशित समाचारहरु खोज्न गुगलमा एडभान्स सर्च गर्‍यौँ। यस क्रममा मिर्मिरे अनलाइनमा प्रकाशित साचोँ कुरा बोल्दा निर्वाचनमा भोट नआउला भन्ने डर छ : प्रचण्ड शीर्षकको समाचार भेट्यौँ। समाचारमा प्रकाशित फोटोमा जनता टेलिभिजनको लोगो देखेपछि हामीले जनता टेलिभिजनको युट्युबमा खोज्यौँ।

जनता टेलिभिजनको युट्युब च्यानलमा सन् २०२१ मार्च २ मा अपलोड गरिएको ‘पुस्तक परिचर्चा कार्यक्रम : प्रचण्ड ।। घनश्याम भुसाल’ शीर्षकको भिडियो फेला पार्‍यौँ।

उक्त कार्यक्रममा प्रचण्डले भाइरल क्लिपमा सुनिएको वाक्यांश एकैपटक वा सोही आशयमा बोलेको पाइँदैन। त्यो अभिव्यक्ति तत्कालीन नेकपा विभाजनपछिको सन्दर्भमा, केपी ओली प्रवृत्तिको आलोचना गर्दै भनिएको थियो।

भाइरल भिडियोमा भने सन्दर्भात्मक वाक्यहरू हटाई “बाकस नै बदलेर भए नि हुन्छ” भन्ने अंशलाई अलग गरी प्रस्तुत गरिएको छ, जसले उनी स्वयंले चुनाव जित्न जे पनि गर्नुपर्ने भनिरहेका छन् भन्ने अर्थ दिन्छ।

पूर्ण भाषणमा उनले संसदीय प्रणालीले सिकाउने प्रवृत्तिको आलोचना गर्दै त्यसलाई रूपान्तरण गर्नुपर्ने धारणा राखेका थिए, नकि त्यसलाई स्वीकार गर्नुपर्ने।

प्रचण्डले सम्बोधनको क्रममा भनेको सन्दर्भ जस्ताको तस्तै :

“अहिले केपी ओलीले चाहिँ अघि प्रसङ्ग आयो, पशुपतिमा गएर जलहरी चाहिँको कुरा आयो । दीप प्रज्वलनको कुरा आयो । उहाँले त्यहाँबाट आफूलाई मुक्ति प्राप्त गर्न खोज्नु भयो होला । मुक्तिको त्यही बाटो हो कि होइन हामीले साँचो कुरा भन्ने कि नभन्ने बडो अप्ठ्यारो हामीलाई पार्दिनुभयो उहाँले । मैले भन्छु हाम्रो चितवनको मेरो निर्वाचन क्षेत्रमा उहाँले अयोध्या र रामको कुरा गर्नु भएको छ। अयोध्या र राम अब हामी त जनताको धार्मिक आस्थाका त विरोधी होइनौं । जनताको आस्थाको त सम्मान गर्ने मान्छे हौ । तर हामी कम्युनिस्ट हौ नि फेरि । कम्युनिस्ट हुनुको नाताले मार्क्स ल हामीलाई भनेको त फेरि धर्म अफिम हो है जनताको लागि भन्ने पनि त छ। वैज्ञानिक कुरा त त्यो हो । यहाँ के हुँदो रहेछ त भने हामी के व्यवहार गर्छौ त्यससँग हाम्रो ज्ञान र हाम्रो संस्कार हाम्रो प्रवृत्ति चाहिँ थाहै नपाईकन या बाध्यात्मक अवस्थामा बिस्तारै बिस्तारै गलत र अवैज्ञानिक संस्कार तिर जाँदो रहेछ । हामीलाई भोट चाहिए छ । जनताले भोट दिएनन् भने चुनाव हारिन्छ । अब भोट दिने बनाउनको लागि जनताको सबभन्दा पिछडिएको ज्ञानमा लगेर आफूलाई राख्ने कि जनताको सबभन्दा अगाडि बढेको चेतना या वैज्ञानिक चेतना चाहिँ हामीले जनताको अगाडी राख्ने भन्ने कुरा आयो ।

केपी प्रवृत्ति भनेको कस्तो भयो भने सबभन्दा पछाडि परेको अवैज्ञानिक सामन्ती संस्कृतिलाई त्यसलाई महिमा मण्डित गर्ने के, त्यसलाई महिमा मण्डित गरेर चाहिँ जनताको सबभन्दा पछि परेको चेतनालाई उत्प्रेरित गर्ने र त्यो चेतनाको भोट आफूतिर तान्ने र चुनाव जित्ने भन्ने भयो । हाम्रो चाहिँ त्यो चाहिँ साँचो होइन । त्यो झुटो कुरा हो भनेर भन्ने अब कहिलेकाहीँ साँचो कुरा भने भोट नआउला भन्ने डर । अब साँचो भन्ने कि नभन्ने ठुलो समस्या पर्या छ अहिले । हामी संसदीय निर्वाचनमा छौ । संसदीय निर्वाचन भनेको झुट भन्ने, बेइमानी गर्ने साम दाम दण्ड भेद जे गरेर हुन्छ बाकसमा भोट खसाल्न पर्‍यो । बाकसै बदलेर भए नि हुन्छ । यो यसले सिकाउने संस्कार त त्यही हो । तर, हामीले यस्तो चाहिँ प्रणाली भित्र विज्ञानलाई कसरी स्थापित गर्ने ? हामीले संविधानमा समाजवाद उन्मुखसम्म त लेखाउन सफल भयौ । तर, समाजवाद उन्मुख आचरण हामीले नै गरिराख्या छौ कि छैनौ त त्यसको आत्म समीक्षा गर्ने र विज्ञान सम्मत ढङ्गले अगाडि जाने तरिका के हो त भने हामी गलत चिजका विरुद्ध जति सिधा जति तिखो ढङ्गले सङ्घर्ष गर्छौ, हामी भित्र रूपान्तरण पनि त्यही स्तरमा हुने हो।”

हेर्नुहोस्, उक्त सन्दर्भको भिडियोको स्क्रिनरेकर्ड :

प्रचण्डको सम्बोधनको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तथ्य जाँच

दाबी : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाकस नै बदलेर भए पनि चुनाव जित्नुपर्छ भनेको भन्दै भाइरल भिडियो ।

दाबीकर्ता : फिटमिन नामक फेसबुक पेजलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू।

तथ्य/निष्कर्ष : भ्रामक सूचना। उक्त भिडियो मूल भाषणबाट सन्दर्भ काटेर सम्पादन गरिएको हो। प्रचण्डले सो अभिव्यक्ति आफ्नो धारणा व्यक्त गर्न नभई तत्कालीन राजनीतिक प्रसङ्गमा संसदीय संस्कार र केपी ओली प्रवृत्तिको आलोचना गर्ने क्रममा प्रयोग गरेका थिए। यसकारण भाइरल भिडियोले मूल सन्दर्भ विकृत गरी दर्शकलाई भ्रमित बनाएको निष्कर्षमा हामी पुगेका छौँ।

–अनलाइनखबर र नेपाल फ्याक्टचेकको सहकार्य

(सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?