१६ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाको हत्या गर्ने र सिंहदरबार जलाउने प्रवृत्ति बोकेकाहरू छुट्टाछुट्टै तर्क गरेर निर्वाचनमा सहभागी भएको टिप्पणी गरेका छन् ।
शनिबार कपिलवस्तुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने, राष्ट्रलाई संकटमा धकेल्ने । एकातिर जेनजी युवाको हत्या गर्ने प्रवृत्ति र अर्कोतिर सिंहदरबारदेखि देशका धरोहर जलाउने प्रवृत्ति पनि यो निर्वाचन प्रक्रियामा विभिन्न बाहना र तर्कमा प्रतिस्पर्धामा छन्,’ उनले भने, ‘अहिले राष्ट्र बचाउने शक्तिलाई राष्ट्रिय एकताको पक्षमा दृढतामा उभिने शक्तिलाई मतदान गर्ने या अरुलाई भन्ने अहम प्रश्न छ ।’
साथै, उनले अहिलेको निर्वाचन विशिष्ट परिस्थितिमा भएको र सामान्य तरिकाबाट लिन नहुने पनि बताए ।
‘अहिले यो निर्वाचन हामी विशिष्ट परिस्थितिमा अघि बढेको हुनाले यो निर्वाचन कुनै एउटा उम्मेदवारलाई विजयी गराउने अर्कोलाई पराजित गर्ने सामान्य निर्वाचन मात्रै होइन,’ प्रचण्डले भने, ‘यो राष्ट्रको स्वाधीनताको रक्षा गर्ने, र नेपाली जनताको आत्मनिर्णयको रक्षा गर्ने ठूलो जनमत संग्रहजस्तो भएर आएको छ ।’
प्रतिक्रिया 4