News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०१८ मा सामाजिक सञ्जालमा फैलिएको हकिङको तस्बिर एपस्टीन फाइल्स सार्वजनिक भएपछि फेरि भाइरल भएको छ।
एक तस्बिरका कारण प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको नाम पुनः एकपटक विवाद र चर्चाको केन्द्रमा आएको छ । कुख्यात यौन दूराचारी जेफ्री एपस्टीनका अपराधहरूको खुलासा गर्ने दस्तावेज अर्थात् एपस्टीन फाइल्समार्फत सार्वजनिक भएको तस्बिरले चर्चा पाएको हो ।
उक्त तस्बिर सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ, किनकि त्यसमा वैज्ञानिक हकिङ एउटा आरामदायक कुर्सीमा बसेका छन् र उनको दायाँबायाँ बिकनीमा दुई कामुक महिला उभिएका छन् । हकिङको हातमा रातो रङको कक्टेल देखिन्छ ।
यो तस्बिरलाई लिएर मानिसहरूले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।
एपस्टीनसँग जोडिएका कागजातहरू सार्वजनिक भइरहँदा हकिङको नाम पटक-पटक देखिनु धेरैका लागि आश्चर्यको विषय बनेको छ । बेलायती ट्याब्लोइड डेलीस्टारको रिपोर्टअनुसार, एपस्टीन फाइल्समा स्टीफन हकिङको नाम २५० भन्दा बढी पटक उल्लेख गरिएको छ ।
यद्यपि यो तस्बिरले हकिङ र एपस्टीनबीच प्रत्यक्ष आपराधिक सम्बन्ध पुष्टि गर्छ कि गर्दैन भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन । तस्बिर कहिले र कहाँ खिचिएको हो भन्नेबारे पनि आधिकारिक जानकारी उपलब्ध छैन ।
यो तस्बिर नयाँ भने होइन । सन् २०१८ मै एकपटक यो सामाजिक सञ्जालमा फैलिएको थियो । तर अहिले एपस्टीन फाइल्स सार्वजनिक भएपछि यसलाई फेरि नयाँ कोणबाट हेरिन थालिएको छ । कतिपय रिपोर्टहरूमा हकिङलाई एपस्टीनको निजी टापु लिटिल सेन्ट जेम्समा देखिएको दाबी गरिएको छ । जसलाई पेडो आइल्याण्ड भनेर पनि चिनिन्थ्यो । यही कारणले भाइरल तस्बिर पनि त्यही टापुमा खिचिएको हुनसक्ने अनुमान गरिएको छ । तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।
यद्यपि सन् २००६ मा हकिङ एपस्टीनले प्रायोजन गरेको एक वैज्ञानिक सम्मेलनमा सहभागी हुन २१ जना वैज्ञानिकहरूको समूहसँगै यूएस भर्जिन आइल्यान्ड्स पुगेका थिए । त्यतिबेला खिचिएका दुईवटा तस्बिरहरू सार्वजनिक छन् । जसमध्ये एउटा तस्बिरमा हकिङ अन्य व्यक्तिसँग बार्बेक्यु गरिरहेको देखिन्छन् भने अर्कोमा उनी पनडुब्बीमार्फत समुद्रको गहिराइतर्फ जाँदै गरेको देखिन्छ । यी तस्बिरहरूलाई त्यतिबेला पूर्णरूपमा वैज्ञानिक भ्रमणकै सन्दर्भमा व्याख्या गरिएको थियो ।
तर एपस्टीन फाइल्समा समावेश केही इमेल र कागजातहरूले हकिङमाथि गम्भीर आरोपहरू पनि उल्लेख गरेका छन् । ती कागजातमा हकिङ नाबालिगसँग अश्लील गतिविधिमा संलग्न भएको आरोपदेखि सन् २०११ मा एपस्टीनसँग मिलेर ‘अल-मेल क्लब’ गएको दाबीसमेत गरिएको छ । तथापि यी सबै कुरा आरोप र दाबीका रूपमा मात्र सार्वजनिक भएका हुन् । स्टीफन हकिङलाई कुनै अदालतले दोषी ठहर गरेको तथ्य अहिलेसम्म छैन ।
ब्रह्माण्ड, ब्ल्याक होल र समयको रहस्य बुझाउने वैज्ञानिकको नाम यस्ता फाइल र तस्बिरसँग जोडिनु आफैंमा अचम्मको विरोधाभास हो । सार्वजनिक भएको पछिल्लो तस्बिर केवल सन्दर्भ बिनाको पुरानो फोटो हो वा यससँग जोडिएका इतिहासका केही अध्याय अझै खुल्न बाँकी छन् भन्ने प्रश्न अहिले पनि अनुत्तरित नै छ । वैज्ञानिक स्टेफन हकिङको मृत्यु भइसकेको छ ।
एजेन्सी
प्रतिक्रिया 4