१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले गगन थापालाई सभापति मान्दैनौँ भन्ने बहस पार्टीमा नभएको दाबी गरेका छन् । नुवाकोट–१ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले पार्टीभित्र महाधिवेशनको मितिमा मात्रै बहस भएको दाबी गर्दै गगनलाई सभापति मान्दैनौँ कसैले भनेको दाबी गरे ।
‘कांग्रेसका विवाद थियो, बहस थियो भन्ने लागेको छ । यो ठुलो पार्टी हो, यहाँ कैयौँ पुस्ता छन्,’ महतले भने, ‘यहाँ बहस पनि हुन्छ, विवाद पनि हुन्छ । फेरि हामी समाधान पनि निकाल्छौँ । हिजो अधिवेशन नियमित निर्वाचनपछि गर्ने कि अगाडि गर्ने बहस थियो ।’
त्यसमा स्वतःस्फूर्त रूपमा कसैले अगाडि, कसैले पछाडि भनेर स्वच्छ बहस गरेको उनले दाबी गरे । ‘अहिले विशेष महाधिवेशनले गगन जीलाई सभापति निर्वाचित गर्यो । नयाँ कमिटी निर्वाचित गर्यो,’ उनले भने । त्यसपछि निर्वाचन आयोग र सर्वोच्च अदालतले त्यसैलाई कायम गरेको महतले टिप्पणी गरे ।
‘त्यस कारण यसलाई हामी मान्दैनौँ भन्ने बहस पार्टीमा छैन । त्यस कारण यसमा कुनै पनि द्विविधा नराख्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ मतले भने ।
आउने दिनमा कांग्रेस एकत्रित भएर जाने, पार्टीभित्रका विषय छलफलबाटै टुङ्ग्याइने उनले बताए ।
‘विपक्षीले भनेको जस्तो केसी–-महत मिल्दैनन् कि ! लामा के गर्नुहुन्छ ? भनेर अन्योल सिर्जना गर्ने कोसिस भएको छ,’ उनले भने । त्यो अन्योलमा नपर्न उनले मतदातासँग आग्रह गरे ।
प्रतिक्रिया 4