+
+
Shares
स्थलगत रिपोर्ट :

ओली हराएका बालेनको यस्तो थियो चुनावी ‘क्याम्पेन’

यसरी पनि चुनाव जितिने रहेछ भनेर यहाँका स्थानीय नै चकित परेका छन् । अझ ६ पटक झापाबाटै चुनाव जितेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको विरासतमा बालेनले ब्रेक लगाए ।

दिनेश गौतम दिनेश गौतम
२०८२ फागुन २३ गते २२:५७

२३ फागुन, झापा (दमक) । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा-५ बाट भारी मतले निर्वाचित भए । उनी न बोले, न कसैसँग प्रतिवाद गरे । चुपचाप ६८ हजार ३४८ मतसहित सानदार विजयी भए ।

नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नै गृहक्षेत्रमा १८ हजार ७३४ मतमा खुम्चिए । एमालेको ‘गढ’मै हासिल गरेको यो जितपछि झापाका चिया पसलदेखि चौतारासम्म बालेनकै चर्चा छ । ‘बालेन सरकार हाइहाइ’को नारा गुन्जिएको छ ।

‘उहाँ धेरै बोल्नु भएन । भोट पनि माग्नु भएन । हाँस्नु मात्र हुन्थ्यो । भोटको सट्टा काम माग्नुभयो,’ स्थानीय नानु धमलाले सुनाइन्, ‘अरू दलका उम्मेदवार हात फैलाउँदै भोट माग्न आएका थिए ।’

नानुको तर्कमा स्थानीय खिलनाथ सेढाईं र सीता धमला पनि सहमति जनाउँदै थिए । सिंगो झापा-५ का मतदाताको धारणा साझा थियो ।

बालेनले अन्तर्वार्ता दिएनन् । सामाजिक सञ्जालबाट पनि भोट मागेनन् । उम्मेदवारी दिएकोसमेत आफ्नो सामाजिक सञ्जालमा लेखेनन् ।

काठमाडौं महानगरको प्रमुख हुँदा सामाजिक सञ्जालबाट चुनाव जितेको आरोप लागेको थियो । त्यो चिर्न चाहन्थे बालेन । अन्ततः उनी सफल पनि भए ।

यसरी पनि चुनाव जितिने रहेछ भनेर यहाँका स्थानीय नै चकित परेका छन् । अझ ६ पटक झापाबाटै चुनाव जितेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको विरासतमा बालेनले ब्रेक लगाए । ‘दम्भ र घमण्डको पनि अवसान भयो,’ सीताले ओली लक्षित टिप्पणी गरिन् ।

बालेनले चुनाव जित्नुका पछाडि थुप्रै कारण छ । ओलीले हार्नुको पनि कारण छ । तर एक-डेढ महिनाको छोटो तयारीमा कसरी बालेन सफल भए ? यो सफलताको बुटी के हो ?

२०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ मा लगातार चुनाव जितेका ओलीलाई पराजित गर्न बालेनले कस्तो चुनावी क्याम्पेन चलाए ? झापाका जनताबाट अनुमोदन भएर चार पटक प्रधानमन्त्री र दुई पटक मन्त्री बनेका ओलीको किल्ला कसरी भत्कियो ? ओलीको विरासतमा ब्रेक लगाउन बालेन कसरी सफल भए ? जनताको मन र मत दुवै बालेनको पक्षमा कसरी पुग्यो ?

यी प्रश्नहरूको जवाफ खोज्न हामीले बालेनको सचिवालय सदस्यदेखि स्थानीय नेता, मतदातासँग संवाद गरेका छौँ । चुनावी क्याम्पेनका सचिवालय सदस्यले बालेनको काठमाडौं महानगरको मेयरदेखि झापा आएर संसदीय राजनीतिमा विजयी भएको यात्रालाई यसरी सुनाएका छन् ।

सुरुमा बालेन झापा आउनुअघिको पृष्ठभूमि हेरौं ।

२०७९ मा काठमाडौं महानगरमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए बालेन । उनी दलबाट निर्वाचित वडाध्यक्ष र सदस्यसँग मिलेर काम गर्न चाहन्थे । सचिवालयका सदस्यहरूका अनुसार महानगर प्रमुख हुँदा बालेन एमालेसँग राम्रो सम्बन्ध बनाउन चाहन्थे । उपमेयरदेखि वडाध्यक्ष सदस्य एमालेको धेरै थियो ।

सोही अनुसार बालेन अध्यक्ष केपी ओली निवास दुई पटक पुगे । एमाले नेता महेश बस्नेतको घरमा समेत गए । तर वातावरण सहज बनेन । अल्फा हाउस पार्किङ, पुरानो बसपार्कको टावरको नक्सा, प्रमुख प्रशासकीय अधिकृतको विवादको मूल कारण केपी ओली रहेको निष्कर्ष बालेन समूहको रहयो ।

बालेनले अन्तर्वार्ता दिएनन् । सामाजिक सञ्जालबाट भोट मागेनन् । उम्मेदवारी दिएकोसमेत आफ्नो सामाजिक सञ्जालमा लेखेनन् ।

‘तर पछि एमालेका कार्यकर्ताबाट मात्र होइन ओलीबाट नै अट्याक भयो,’ सचिवालयका एक सदस्यले भने । एमालेसँग चाहेर पनि सम्बन्ध सुमधुर हुन सकेन । र, बालेनले उनै ओलीसँग चुनाव लडे ।

बालेन तत्कालै संसदीय राजनीतिमा आउने मनस्थितिमा थिएनन् । जसरी विशेष परिस्थितिमा चुनाव भयो, उनी संसदीय राजनीतिमा त्यसैगरी होमिन आइपुगे । यसमा मुख्यतः जोडिएको छ- भदौको जेनजी आन्दोलन । आन्दोलनको जगमा चुनाव भयो । आन्दोलनले नै बालेनलाई झापा ल्याइपुर्‍यायो ।

‘महानगरमा ५ वर्षका लागि अनुमोदन भएको हो । अन्तिमसम्म पनि तत्काल महानगर छोड्ने मनस्थिति थिएन,’ बालेनका सचिवालय सदस्यले भने, ‘२०८४ का लागि तयारी गर्ने योजना थियो । पार्टी खोल्ने र पार्टीमा जाने सोच थिएन ।’

महानगरको कार्यकाल सकिएपछि फेरि महानगरमा दोहोरिने वा संसदीय राजनीतिमा जाने भन्नेमा छलफलमा थिए बालेन । ‘५ वर्षमा नतिजा देखिँदैन अर्को कार्यकाल पनि महानगरमै बसेर काम गर्ने कुरा पनि थियो । नतिजा आउन कम्तीमा १० वर्ष लाग्छ भन्ने निचोड हो,’ ती सदस्यले भने ।

यदि २०८४ को नियमित चुनावमा महानगरमा नउठेमा झापा आउने योजनामा भने रहेछन् बालेन । एक वर्षअघि उनले नजिकका आफन्तसँग छलफल गरेका रहेछन् । ‘उहाँको ससुराली मोरङ, उर्लाबारी हो । २०८४ मा चुनाव हुँदा उठेमा झापाबाटै उठ्ने कुरा आफन्तसँग गर्नुभएको थियो,’ ती सदस्यले भने, ‘चुनाव २०८२ मै भयो । परिस्थितिले महानगर छोडेर आउनुपर्‍यो ।’

जेनजी आन्दोलनपछि बालेनलाई प्रधानमन्त्रीको प्रस्ताव आयो । तर उनी यही अवस्थामा प्रधानमन्त्री बन्न चाहेनन् । आन्दोलनको म्यान्डेटअनुसार दल र सरकार चलोस् भन्ने उनी चाहन्थे । चाहे तत्कालीन अवस्थाको रास्वपा होस् या कांग्रेस एमाले माओवादी …। तर दलहरूले आन्दोलनको म्यान्डेट बोक्न नचाहेको महसुस बालेनले गरे ।

जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री ओली नै थिए । न ओलीले माफी मागे न आत्मआलोचना नै गरे । उल्टै पार्टीमा महाधिवेशन गरेर आफूलाई नै अनुमोदन गरे । कांग्रेसले विशेष महाधिवेशन गर्‍यो तर ढिला र अलमलको स्थिति थियो । रास्वपाले पनि त्यो समयमा सबै जेनजीलाई समेट्न सकेको थिएन । युवामा आक्रोश थियो ।

यदि सबै जेनजी समेटिन्छन् भने कुलमान घिसिङको नेतृत्वको पार्टीलाई सहयोग गर्ने मनस्थितिमा बालेन पुगे । तर आफू भने पार्टीमा नजाने, महानगरमै काम गर्नेमै अडिग थिए ।

त्यहीअनुसार कुलमानसँग छलफल पनि चल्यो । ‘कुलमानजी पनि सरकारमा जानुभयो । सबै जेनजी समेट्ने सवस्था देखिएन,’ ती सदस्यले भने, ‘विस्तार जेनजी आन्दोलनलाई मिनिमाइज गरेर पुरानै स्थिति दोहोरिने अवस्था बन्यो ।’

सबैलाई समेट्ने गरी अगाडि बढ्न बालेनका मुख्य टिम सदस्य कुमार बेनले रविलाई जेलमै गएर पनि भेटे । त्यसबाट पनि सही निष्कर्ष निस्किएन ।

त्यसपछि अर्को गृहकार्य पनि चल्यो, पूर्व विवेकशील, जेनजी आन्दोलनका सबै अगुवा मिलेर पर्टी खोल्ने । त्यो गृहकार्य पनि सफल भएन । ‘धेरै चरणमा छलफल भयो तर सफल भएन,’ बालेनको सचिवालयकै सदस्यले सुनाए ।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । यो सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु थियो । कतै चुनाव सर्छ कि भन्नेमा संशय बालेन समूहको थियो । तर चुनाव हुने स्थिति बन्यो ।

फेरि बालेनको टिमले रास्वपा नेता डीपी अर्याल लगायतका नेतासँग छलफल गर्‍यो । पुकार बमको नेतृत्वमा समिति बन्यो । त्यो समितिसँग बालेन समूहको छलफल भयो । पछि स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिसँग पनि छलफल भयो । त्यसपछि रवि लामिछाने जेलबाट बाहिर निस्के । र, नयाँ मिलेर जानुपर्छ भन्ने आवाज धेरै आयो । बलेन-रवि भेट असीम साहको घरमा भयो ।

रवि-बालेन सँगै जाँदा चुनावमा जेनजीलाई कसरी समेट्ने भन्नेमा कुरा मिलेन । मूलतः उम्मेदवारी कसले कति पाउने भन्नेमा थियो । सकारात्मक नभएपछि बालेनले ज्वागलबाट म्याराथन भेटवार्ता गरे । एकै दिन ३०-४० जना नेतादेखि सामाजिक छवि भएकासम्मलाई भेटे ।

त्यसपछि रवि लामिछाने पनि ज्वागल पुगे । त्यो दिन रविले भनेका थिए, ‘गेट ठूलो बनाउनू, पूरै छाती खोलेर आउँछु ।‘ अर्थात् मिलेर जान र भावी प्रधानमन्त्री बालेनलाई बनाएर जान रवि सकारात्मक बने ।

त्यहीबीचमा बालेनले बुबा गुमाए । शोकमा भएको बेला भेट्न आएका शुभेच्छुकले अगाडि बढ्न बालेनलाई घचघच्याए । ‘जेनजीदेखि शीर्ष नेतासम्म आउनुभयो । शोकमा प्रोटोकल भन्ने भएन । धेरैले अगाडि बढ्न सुझाव दिनुभयो,’ ती सचिवालय सदस्यले भने ।

बालेनकै नेतृत्वमा पार्टी खोल्ने कि भन्ने छलफल पनि यो बीचमा नभएको होइन । तर नयाँ दल खोल्दा रास्वपासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो। नयाँ एकै ठाउँमा नभए जेनजी आन्दोलनले न्याय नपाउने निष्कर्ष निकालेपछि बालेन रास्वपासँग एकता गर्न तयार भए । र, उनलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको लागि अगाडि सारियो ।

बालेनले कुलमानलाई पनि साथै लैजान खोजे । मिल्ने सहमति पनि भयो तर त्यो सहमति १२ दिन पनि टिकेन । ‘पार्टीको नामदेखि पदसम्म कुरा मिलेन । कुलमानजीले धेरै ठूलो सपना देख्नुभयो,’ ती सदस्यले सुनाए । अन्ततः कुलमान च्याप्टर क्लोज गरेर बालेन चुनावमा होमिए ।

बालेनलाई उनकै समूहले झापा-५ नरोज्न भनेका थिए । तर उनी पछि हटेनन् । उनले झापा रोज्नुको कारण एमाले अध्यक्ष ओली फ्याक्टर नै हो ।

‘प्रधानमन्त्री बन्न प्रधानमन्त्रीको उम्मेदवारलाई नै पराजित गर्नुपर्छ भन्ने उहाँको बुझाइ हो । त्यसैले झापा नै रोजेको हो,’ चुनावी सचिवालयका एक सदस्यले भने, ‘जेनजी आन्दोलन हुँदा ओली सरकार प्रमुख हुनुहुन्थ्यो । बच्चा मर्दा क्षमा माग्नु भएन । उल्टै पार्टीबाट अनुमोदन भएर पो आउनुभयो ।’

त्यति मात्र होइन, झापाबाट उठ्दा चुनावी वेभ आउने निष्कर्ष पनि बालेनको थियो । यसपटक दलहरूको गठबन्धन नभएकाले पनि सहज हुने विश्वास बालेन समूहको थियो ।

त्यसपछि बालेनले झापाका रास्वपा नेतासँग छलफल गरे । समस्या कहाँ-कहाँ छ ? कसरी चुनाव जितिन्छ भनेर छलफल चलाए । रास्वपाले समस्यासहित झापाको विगतदेखि अहिलेसम्म्को चुनावी गणितको डाटा उपलब्ध गरायो । झापाका वडादेखि जिल्ला नेताले सकारात्मक घण्टीको संकेत दिएपछि बालेन अघि बढे ।

बालेन समूह झापा–५ छिरेर चुनावी क्याम्पिएन सुरु गर्‍यो ।

तर, सुरुमा झापा आउँदा कन्फ्युजन थियो । के हुने हो भन्ने चिन्ता थियो । ‘डर र त्रासबीच धम्की पनि आयो । कार्यालय राख्न पनि डर थियो,’ सचिवालयका एक सदस्यले भने, ‘होटल पाउन र बस्न पनि नदिने अवस्था थियो ।’

स्थानीय नेताको सहयोगमा दमकमा घर खोजियो । त्यही घरबाट बालेन समूहले चुनावी क्याम्पेन चलायो । हरेक चुनौतीलाई बालेन समूहले डटेर सामना गर्‍यो ।

मनोनयनको केही दिनपछि क्याम्पेनमा टोली खटियो । झापा–५ का बस्ती-बस्तीमा क्याम्पेन टोली पुग्यो । बालेन भने देश दौडाहामा हिँडे ।

मलाई भोट दिनुहोस् होइन कसलाई हेर्न चाहनुहुन्छ भन्ने कुरा लिएर टोलीले अभियान चलायो । ‘जेनजी आन्दोलनमा दमन भयो । तर दोषीलाई कारबाही भएन । यसलाई लोकतान्त्रिक विधिबाट टुंगो लगाउनुपर्ने थियो,’ सचिवालयका अर्का सदस्यले भने, ‘ओलीलाई देशको नेता मान्ने कि नमान्ने ? बालेनलाई जनताले चाहेको हो कि होइन ? यो चुनावबाटै टेस्ट गर्न चाहेका थियौं । यही प्रश्न लिएर समुदाय छिर्‍यौं ।’

सांसद कसलाई बनाउने मात्र होइन, प्रधानमन्त्री नै कसलाई बनाउने भन्ने प्रश्न थियो । ‘कसलाई प्रधानमन्त्री स्वीकार गर्ने भनेर झापा आएको हो । कसलाई जिम्मेवारी दिने ?, नदिने ? यो प्रश्नमा मतदान भएको हो,’ ती सदस्यले भने, ‘ओली जहाँबाट उठेको भए पनि यसपटक इपिसेन्टर बन्ने थियो ।’

झापा-५ इपिसेन्टर बन्ने निष्कर्ष निकालेर क्याम्पेन टोली झापाको समस्या पहिचानमा जुट्यो । आदिवासी रंगशालाको समस्या, दमक चिसापानी सडक, सुकुम्बासी बस्ती, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको समस्या, दमक अस्पताल लगायतको समस्या टोलीले पहिचान गर्‍यो । टोली भोट माग्न होइन समस्या कहाँ छ भने खोज्दै हिँड्यो । दमक भ्यू टावर बन्यो तर सदुपयोग भएन । यहाँ चाहिएको ठूलो दमक अस्पताल हो । भ्यू टावर होइन भन्ने यहाँका अधिकांश स्थानीयको कुरा रहेको पाइयो ।

‘हामीले भोट मागेनौं । समस्याको पहिचान र समाधानको उपाय खोज्यौं,’ क्याम्पेनमा खटिएका सन्तोष घिमिरेले सुनाए ।

चुनावी अभियानमा बालेनले ठूला भाषण गरेनन् । सबैभन्दा धेरै जनकपुरमा ९ मिनेट जति बोले । यो उनको चुनावी अभियानको सबैभन्दा ठूलो भाषण हो । उनी ७७ जिल्ला नै पुग्ने योजनामा थिए । तर आफ्नै स्वास्थ्य र चलचित्र पत्रकार दिनेश सिटौलाको मृत्युले प्रभावित भयो ।

सचिवालय सदस्यका अनुसार बालेनले चुनावमा धेरै नबोल्ने रणनीति नै बनाएका थिए । तर केपी ओली भने भाषण गर्दै हिँडे । धेरै बोल्यो भने बिग्रन्छ भन्नेमा बालेन टिम सचेत थियो । अरू उम्मेदवारले भड्काउने अभिव्यक्ति दिँदा पनि बालेन मौन बसेको टिमका सदस्यहरूले बताए । ‘भड्काउने अभिव्यक्ति दिँदा पनि मौन बसेको हो । प्रतिपक्षीलाई गाली नगर्ने नीति बनाएका थियौं,’ घिमिरेले भने ।

स्थानीयसँगको संवादबाट क्याम्पेनको टोलीले के पत्ता लगायो भने, ओलीले पटकपटक जिते तर जनता खुसी छैनन् । भुसको आगोझैं झापाका जनतामा आक्रोश छ । चाहिने ठाउँमा विकास छैन । नचाहिने ठाउँमा छ । ‘चाहिएको दमकमा अस्पताल रहेछ । ठडिएको छ भ्यू टावर । जनता भित्रभित्रै पाकेर बसेका रहेछन् । यो चुनावमा त्यो विस्फोट भयो,’ एक सदस्यले भने ।

त्यो आक्रोशलाई मतमा बदल्न बोलेर होइन काम गरेर देखाउने प्रण बालेनले लिए । बालेनले काठमाडौं महानगरमा गरेको काम देखेर झापाका जनता प्रभावित भएको टिमले चाल पायो । त्यसैअनुसार चुनावी क्याम्पेन चलाइयो । ८-१० जनाको टोली थियो, त्यो टोलीले पूरै झापा-५ को चुनावी क्याम्पेन चलायो ।

अभियानमा थुप्रै जोडिएका छन् । कुमार बेन क्याम्पेनका मुख्य व्यक्ति हुन् । हरेक योजनामा उनी संलग्न भए । अर्जुन घिमिरे पाँडेले बालेनको हरेक कार्यक्रमको व्यवस्थापन गरे । लजिस्टिकदेखि सानोसानो कुराको व्यवस्थापन घिमिरेले गरे ।

नवीन भण्डारी, रोहन कार्की, केदार चापागाईं, विपिन सुवेदी, सञ्जीव पाण्डे, सुदीप ढकाल, सुवास बस्नेत, सुरेन्द्र बजगाईं लगायतले यो क्याम्पेनमा पुलको काम गरे ।

रास्वपा क्षेत्रीय सभापति भेषराज भट्टराईको नेतृत्वमा घरदैलो अभियान चल्यो । प्रचार प्रसारको संयोजन विरोध सुवेदीले गरे ।

पूर्व विवेकशीलका नेतासमेत रहेका सन्तोष घिमिरे राजनीतिक माहोल बनाउन लागे । कांग्रेसका नगर सभापति नै रास्वपामा आए । एमाले युवा संघ दमकका नगर अध्यक्ष र उपाध्यक्ष पनि रास्वपामै आए । स्थानीय पनि बालेनको अभियानमा जोडिए । स्थानीय सन्तोष दुलाल पनि सक्रिय भएर लागे । प्रत्यक्ष-अप्रत्यक्ष थुप्रै जोडिए ।

बालेनलाई धेरैथरी भनिन्थ्यो, भनिन्छ । कोहीले बालेनलाई भेट्न सकिँदैन भने । कोहीले बोल्दैन भने । रहश्यमयी भनियो । विदेशीबाट परिचालित भनियो ।

‘यो सबै विरोधीले चलाएको हाउगुजी हो,’ घिमिरेले भने ।

हाउगुजी चिर्न बालेनको परिवार नै चुनावी क्याम्पेनका लागि झापा आयो । ‘बालेनको परिवार चिनाउने अभियानसमेत चल्यो । बालेनको दाइ, श्रीमती छोरी आउनुभयो,’ चुनावी सचिवालयका एक सदस्यले भने, ‘परिवार नै चिया, चौतारी पुगेर नागरिकसँगै खाने-बस्ने संवाद चलाइयो । ५० वटा जति चिया, चौतारी पुगियो ।’ बालेन पत्नी सविना काफ्ले घरदैलोमा समेत हिँडिन् ।

बालेन देश दौडाहामा हुँदा पनि झापा-५ मा उनको अभाव हुन सचिवालयले दिएन । झापा-५ मा पुरानो दलीय संरचनाले जरो गाडेर बसेको ठाउँमा ब्रेक लगाउन टोलीलाई गार्‍हो थियो । त्यसैले समुदायमा छिर्ने निर्णय टिमले गरेको रहेछ ।

‘संघ-संस्था, क्लब, बुद्धीजीवी, युवा, ज्येष्ठ नागरिक सबैसम्म पुग्यौं,’ घिमिरेले भने, ‘खुद्रा व्यवसायीकहाँसम्म पुग्यौं ।’

सबै ठाउँमा बालेन पुगेनन् । पुग्नुपर्ने र भेट्नुपर्नेलाई मात्र बालेनले भेटे । सबै ठाउँमा टिम पुग्यो । र, टिमले सबै कुरा अन्तिममा बालेनलाई पुर्‍याउँथ्यो।

टोली २०-२५ वटा समुदायमा पुग्यो । ‘समस्या सुन्ने मात्र होइन, समाधान पनि निकाल्यौं । त्यो वाचापत्रमा आएको छ,’ उनले भने । चुनाव सफल बनाउन १ हजार वटा त बैठक बस्यो ।

बालेन टिमले क्याम्पेनको सूत्र बनाएको थियो । त्यो सूत्र हो- सचिवालय=समस्या समाधान संवाद+क्रोनिक समस्या समाधान गर्ने बाचा+पेसागत, जातीय, बौद्धिक संघ-संस्थासँग प्रत्यक्ष संवाद+देशै बनाउन आएको ।

यही सूत्रबाट जित भएको निचोड बालेन समूहको छ । त्यसका साथै वैकल्पिक राजनीति सुरु गरेको विवेकशीलदेखि रास्वपासम्मको यात्रा उत्तिकै महत्त्वपूर्ण ठानेको छ बालेन समूहले ।

२०७४ मा विवेकशीलले २ लाख मत ल्याएको र २०७९ मा रास्वपाले १२ लाख ल्याएको थियो । यसरी थपिँदै २०८२ मा रास्वपाको उभार आएको निष्कर्ष उनीहरूको छ ।

‘बालेनसँग युवाको होप थियो । युगको माग पनि हो । मधेशको छोरो काठमाडौंको मेयर भयो । अब प्रधानमन्त्री बन्ने बेला आएको छ,’ बालेन टिमको निष्कर्ष छ, ‘मधेशसँग सिंहदरबारको सधैं ग्याप थियो । मधेशीले अधिकार वर्षौंदेखि खोजे । अब प्रधानमन्त्री पनि बन्ने भएपछि मधेशसँग भावनात्मक सम्बन्धले मत धेरै आयो ।’

यतिबेला झापावासी पनि उत्साहित छन् । ३६ वर्षीय युवालाई जिताएर इतिहास रचेको टिप्पणी गरिरहेका छन् ।

सुरुमा झापा आउँदा बस्ने होटेलसमेत नपाएको बालेन टिम यतिबेला उत्साहित त छँदैछ, त्योसँगै चुनौती पनि उत्तिकै महसुस गरेको छ । सुरुमा आउँदा ९९ प्रतिशत मान्छे बालेनको टिमले चिनेको थिएन । तर तिनै जनताले सानदार मत दिएर बालेनलाई झापामा अनुमोदन गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?