News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको जनादेश पाउँदा अछाम-२ मा उम्मेदवार भूपदेव शाह चौथो स्थानमा पराजित भए।
- अछाम-२ मा एमालेका यज्ञबहादुर बोगटी ९५१८ मत ल्याएर विजयी भए।
- भूपदेवले हार स्वीकार्दै आफूले पाएको जनताको साथ र जिम्मेवारी बढेको उल्लेख गरे।
२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिकको जनादेश पायो । देशैभरि रास्वपाको पक्षमा उभार आउँदा अछाम-२ मा उम्मेदवारी दिएका भूपदेव शाह भने पराजित भए । उनी चौथो स्थानमा सीमित भए ।
यो क्षेत्रमा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५१८ मत ल्याएर विजयी हुँदा कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए । नेपाल कम्युनिस्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए भने रास्वपाका भूपदेव ४ हजार ५६२ मत ल्याउँदै चौथो स्थानमा रहे ।
भूपदेवले आफूले पाएको मतबाट थप जिम्मेवारी पाएको महसुस गरेका छन् । ‘प्राविधिक रूपमा पराजित भए पनि जनताको साथ, समर्थन र जुन आशिर्वाद प्राप्त गर्यौँ, त्यसले अझ जिम्मेवारी बढाएको छ,’ उनी भन्छन्, ‘मेरो मनोबल बढेको छ । खुसी छु । हारलाई सहज रूपमा स्वीकार गरेको छु ।’
अछाम–२ का जनताबाट मन जितेको आभास उनले गरेका छन् । ‘एउटा यात्रामा हिँडेको मान्छे लड्न सक्छ । आगामी दिनका लागि जुन माया, विश्वास र आशिर्वाद पाएको छु,’ उनी भन्छन्, ‘म जन्मेको, मेरो सालनाल गाडिएको ठाउँ अछाम हो । त्यसैले थप जिम्मेवारी बोध भएको छ ।’

अछाम–२ को पुरानो राजनीतिक गढ भत्काउन नसक्दा पराजय बेहोर्नुपरेको निष्कर्ष उनको छ । तर चुनावी अभियानका क्रममा जनताको माझमा पुग्दा त्यहाँको समस्या नजिकबाट बुझ्ने अवसर भने उनले पाए ।
‘गरिबी छ । शिक्षामा कमजोरी छ । मत माग्न आउँछन्, मत लिएर जान्छन् । त्यसपछि अर्को चुनावसम्म फर्किँदैनन् भन्ने बुझाइ रहेछ,’ उनले भने, ‘जनताका आधारभूत समस्या धेरै रहेछन् । तर जिल्लाबासीसँग नजिक हुन पाएँ ।’
रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयरको सचिवालयमा बसेर काम गरेकाले पनि भूपदेवलाई धेरैले नजिकबाट हेरिरहेका थिए । उनी धेरै बोल्नेभन्दा नतिजामुखी काममा विश्वास गर्छन् ।
‘चित्रभन्दा चरित्र ठिक हुनुपर्छ । नीतिभन्दा नियत महत्वपूर्ण हुन्छ भन्ने कुरामा म विश्वास गर्छु,’ उनले भने, ‘आफ्नो कर्म गरियो भने त्यसको फल अवश्य प्राप्त हुन्छ भन्ने मेरो विश्वास हो ।’
भूपदेव सकारात्मक आशाका साथ वैकल्पिक राजनीतिमा होमिएका हुन् । सुसंस्कृत राजनीति गर्ने दल आवश्यक रहेको निष्कर्ष निकाल्दै उनले २०७१ सालमा विवेकशील नेपालीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।
त्यसो त उनको परिवार पनि राजनीतिक पृष्ठभूमिको थियो । उनका बुवा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए ।

‘राप्रपाको जिल्ला सभापतिसमेत हुनुभएको थियो । २०५५ सालपछि कांग्रेसमा प्रवेश गर्नुभएको थियो,’ उनले भने । भूपदेवले भने वैकल्पिक राजनीति रोजे । यसले परिवारसँग केही बेमेल पनि ल्यायो ।
‘वैकल्पिक राजनीति स्थापित गर्न खोज्दा घरमा सुरुमा सकारात्मक हुनुभएन । यो दलमा लागेर काम छैन भन्ने मानसिकता थियो । तर अहिले म रास्वपाबाट चुनाव लडेँ । परिवार पनि साथमै हुनुहुन्छ,’ उनले भने ।
भूपदेव अध्ययनका लागि काठमाडौं छिरेसँगै कर्मथलो पनि काठमाडौं नै बन्यो । अछाममा ४ कक्षासम्म पढेका उनले त्यसपछिको अध्ययन काठमाडौंमै पूरा गरे ।

भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाहसँग उनको भेट विद्यालयमै भएको थियो । उनीहरू एउटै विद्यालय, एलायन्स एकेडेमीमा पढेका थिए ।
‘म ६ कक्षामा पढ्दा उहाँ (बालेन) १० कक्षामा पढ्नु हुन्थ्यो । त्यतिबेला सामान्य दाइ–भाइ जस्तो चिनजान थियो,’ उनले भने । जब बालेन शाहले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिए, त्यसपछि भूपदेवसहितको समूहले उनलाई भेट्यो ।
‘उहाँ जस्तो केही गर्छु भन्ने युवालाई भेट्नुपर्छ भन्ने हिसाबले हाम्रो समूहले भेटेको थियो । भेटेपछि उहाँले सँगै गरौँ भन्नुभयो,’ उनले भने, ‘त्यसपछि हामी अभियानमा जोडियौँ । जिम्मेवारी पनि पायौँ । नतिजा राम्रो आयो र महानगरमा सँगै काम गर्ने अवसर मिल्यो ।’
भूपदेवले तत्कालीन विवेकशीलका संस्थापक उज्ज्वल थापाको स्वकीय सचिव भएर पनि काम गरेका थिए । उनी विवेकशील स्कुलिङबाट वैकल्पिक राजनीतिमा जोडिएका हुन् ।

परिवारले डाक्टर वा इन्जिनियर बनाउन चाहेको थियो । तर उनले राजनीति रोजे । विज्ञान संकाय छोडेर उनले त्रिचन्द्र क्याम्पसमा मानविकी संकाय अध्ययन गरे । कलेज पढ्दादेखि नै उनी बाल्मीकि क्याम्पस, रत्नराज्य र भृकुटीमण्डपमा साथीहरूसँग बसेर वैकल्पिक राजनीतिबारे मन्थन गर्थे ।
‘त्यो समय धेरै राजनीतिक ज्ञान थिएन । तैपनि, हामीले आफूले जाने-बुझेका कुराहरू सेयर गर्थ्यौं । त्यसले राजनीतिक चेतलाई विकास गर्दै लग्यो । त्यसपछि झन् अध्ययन गर्न मन लाग्यो,’ उनले भने ।
चुनावअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री बने । वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउन उनी वार्ता समितिमा रहेर पनि काम गरे । बालेन शाहको टिमबाट जेनजीलाई समेत एक ठाउँमा ल्याउन पहल गरे । त्यसपछि चुनावका लागि अछाम पुगे ।
भूपदेवको पक्षमा नतिजा नआए पनि दुई तिहाइ नजिक पुग्ने गरी रास्वपाको मत आएको छ । अब रास्वपा सरकारको नेतृत्व गर्ने तयारीमा छ । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारेको छ ।
एकताको समयमा भएको सहमतिअनुसार अबको सरकार गठन हुने विश्वास गरिएको छ । जेनजी आन्दोलनको म्यान्डेट र आम जनताको चाहना अनुसार काम गर्न पार्टीले दिएको जिम्मेवारी लिन भूपदेव तयार छन् । ‘अब बन्ने सरकारसँग जोडिएर नै काम गर्छु,’ उनले भने ।
प्रतिक्रिया 4