१ चैतऽ धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ ।
उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए पनि शनिबार बिहानदेखि पुन: पहिरो खस्न थालेपछि समस्या भएको हो ।
प्रहरीका अनुसार करिब ३ सय मिटर क्षेत्रमा माटोढुंगा थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्राटेच निर्माण कम्पनीले एक्स्काभेटर तथा जेसीभीलगायतका उपकरण प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिरहेको छ । तर, लगातार पहिरो झर्दा सडक खुलाउन कठिनाइ भएको छ ।
लगातार ढुंगा खसिरहेकाले पहिरो पन्छाउने काम असहज भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए ।
उक्त स्थानमा खटिएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार सडक माथिल्लो भागबाट ढुंगा, माटो तथा रुख समेत झर्न थालेपछि यातायात पूर्ण रूपमा बन्द गरिएको हो ।
सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ । हाल उक्त सडक थप चौडा विस्तार गरी स्तरोन्नतिको गर्ने काम समेत भइरहेको छ ।
भेडेटार–रवि–राँके सडक हुँदै धरान र धनकुटाबाट चौबिसे क्षेत्र तथा पाँचथरसम्म नियमित रूपमा यातायात सञ्चालन हुने गरेको भए पनि पहिरोका कारण दुई दिनदेखि सम्पूर्ण सवारी साधन ठप्प भएका छन् ।
प्रतिक्रिया 4