News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अभिमुखीकरण कार्यक्रममा अनुभव बाँड्दै अबको ५ वर्ष जनअपेक्षा अनुसार काम गर्ने बताए।
- ढकालले अघिल्लो कार्यकाल छोटो भएको र अनुभवहरू नवनिर्वाचित सांसदसँग सेयर गरेको जानकारी गराए।
- सांसद ढकालले संसद्मा सुशासनका लागि मुहानदेखि नै काम गर्ने र उमेर समूह ऊर्जाशील भएको उल्लेख गरे।
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद हरि ढकालले पार्टीले चलाएको अभिमुखीकरण कार्यक्रममा आफ्ना अनुभव बाँड्ने र नयाँ कुरा सिक्ने काम भएको बताएका छन् ।
काठमाडौंको ग्वार्कोस्थित एक होटलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अबको ५ वर्ष जनअपेक्षा अनुसार काम गर्ने पनि बताए ।
‘मुख्य कुरा मुहान हो । मुहान सफा भएपछि नै तलसम्म संग्लो हुने हो । सुशासनका एजेन्डामा काम गर्नुछ । त्यसका लागि काम गर्न स्पष्ट मत पुगेको छ । हामी उत्साहित छौं,’ ढकालले भने ।
ढकाल चितवन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनले अघिल्लो कार्यकाल छोटो भएको र त्यतिबेला आफूहरूले सिकेका अनुभव पनि अभिमुखीकरण कार्यक्रममा सेयर गरेको जानकारी गराए ।
‘हाम्रा अनुभव, बजेट निर्माणसँग सम्बन्धित सेसन पनि चल्यो । अघिल्लो कार्यकाल हाम्रो छोटो थियो । त्यसका अनुभवहरू नवनिर्वाचित सांसदसँग सेयर पनि गर्यौं,’ उनले भने ।
साथै, अब संसद्मा सुशासनका लागि मुहानदेखि नै काम गर्ने पनि जिकिर गरे ।
‘एउटा उमेर समूह आउनुभएको छ । उहाँहरू ऊर्जाशील हुनुहुन्छ । अबको ५ वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहानदेखिकै काम हुन्छ । मुहानदेखिकै काम भएपछि तल पनि संग्लो हुन्छ,’ सांसद ढकालले भने ।
प्रतिक्रिया 4