News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जलाकी' को छायांकन कास्कीमा भइरहेको छ र अभिनेता धीरज मगरले सहमतिमै फिल्म छाडेको निर्देशक अशोक थापाले बताए।
- धीरजको ठाउँमा सोनम तोप्देन शीर्ष भूमिकामा आउनेछन् र दोस्रो लिडमा अस्तित्व भट्टचन रहनेछन्।
- फिल्मले मगर समुदायको आस्थाको प्रतीक ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ र छायांकन नेपालका विभिन्न स्थान र दक्षिण कोरियामा हुनेछ।
काठमाडौं । अहिले कास्कीका विभिन्न थलोमा अशोक थापाको निर्देशनमा फिल्म ‘जलाकी’ को छायांकन भैरहेको छ । तर, छायांकनकै बीचमा यो फिल्मलाई लिएर नयाँ अपडेट छ ।
शीर्ष भूमिका निर्वाह गरिरहेका अभिनेता धीरज मगरले छायांकनको बीचमा फिल्म छाडेको खबर छ । सहमतिमै मगरले फिल्म छाडेको जानकारी निर्देशक थापाले गराएका छन् ।
सुरुमा धीरजको ठाउँमा सोनम तोप्देन थिए । ‘ऐरी’ को छायांकन बेला खुट्टा भाँचिएर घाइते भएपछि उनी प्रोजेक्ट केही समय बाहिरिए । निर्माताले धीरजलाई लिएर पहिलो चरणको छायांकन पनि गरेका हुन् ।
तर, तोप्देन निको भएर काममा फर्किएपछि धीरज बाहिरिएका हुन् । मेकरले धीरज र उपासनाको रोमान्टिक पोस्टर पनि सार्वजनिक गरिसकेको अवस्था थियो ।
महिलातर्फको शीर्ष भूमिकामा उपासनासिंह ठकुरी छिन् । ठकुरीले निर्देशक मगरसँग ‘खुश्मा’ पछि दोस्रोपटक सहकार्य गरेकी हुन् । उनले यो फिल्मबाट राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेकी थिइन् ।
धीरज बाहिरिएसँगै अब ‘जलाकी’ को शीर्ष भूमिकामा सोनम देखिनेछन् । दोस्रो लिडमा चाहिँ अस्तित्व भट्टचन हुनेछन् ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, खड्क बहादुरको पनि अभिनय हुनेछ । यो फिल्मबाट ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बुले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।
‘जलाकी’ले मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने यो फिल्मको छायांकन तीन चरणसम्म चल्ने जनाइएको छ । रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरासहित दक्षिण कोरियामा समेत छायांकन गर्ने तयारी छ ।
प्रतिक्रिया 4