News Summary
Generated by OK AI. Editorially reviewed.- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मन्त्रालयमा फाइल अड्किने गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन्।
- उनले कानुनी अस्पष्टता, आवश्यक जानकारी नआउने र समन्वय अभावका कारण काममा ढिलाइ हुने पाइएको बताए।
- मन्त्री सिन्हाले कर्मचारीलाई सक्रिय भएर समयसीमा निर्धारण गरी काम गर्न र सुशासन कायम गर्न आग्रह गरे।
१२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उनले अन्य मन्त्रालयमा जाँदा आफूले कानुन मन्त्रालयमा आउने फाइलहरू अड्केर बस्ने गरेको गुनासो आएको बताएका हुन् ।
उनले कानुनी अस्पष्टता, सम्बन्धित निकायबाट आवश्यक जानकारी समयमै नआउने र आपसी समन्वय अभावका कारण काममा ढिलाइ हुने गरेको पाइएको बताए ।
उनले समस्या समाधानका लागि कर्मचारीहरू आफैँ सक्रिय हुनुपर्नेमा जोड दिए ।
आवश्यक परे सम्बन्धित मन्त्रालयका अधिकारीलाई मन्त्रालयमै बोलाएर वा स्वयं फाइल लिएर सम्बन्धित निकायमा पुगेर छलफल गर्न उनले आग्रह गरे ।
मन्त्री सिन्हाले सुशासनका लागि समयसीमा निर्धारण गरेर काम गर्न पनि आग्रह गरे ।
मन्त्रालयमा दर्ता भएका फाइल कति दिनभित्र टुंगो लाग्ने भन्ने स्पष्ट मापदण्ड तयार गरेर काम गर्न उनको सुझाव छ ।
उनले सुशासनका लागी राम्रो सिष्टम बनाउनुपर्ने र सिष्टम बनाउने काम कर्मचारीको भएको बताए ।
केही कर्मचारीका कारण सम्पूर्ण निजामती सेवामाथि नकारात्मक धारणा बनेको उल्लेख गर्दै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले सुशासनका लागि सकरात्मक वातावरण बनाउनु पर्छ । वातावरण बनाएर सिष्टममा बसेर काम गर्ने हो भने अगाडि बढ्छ । सिष्टम बनाउने कर्मचारीले नै हो । कर्मचारीलाई गाली गरेको सुन्छु म । केही कर्मचारीका कारणले समग्र कर्मचारीमाथि आरोप लाग्ने गरेको छ । यसलाई चिर्न आवश्यक छ ।’
उनले आफूले सम्हालेका मन्त्रालयमध्ये कानुन मन्त्रालयमा सुशासन कायम रहेको पाएको बताए ।
प्रतिक्रिया 4