+
+
Shares

सेयर बजार किन लाग्दै छ निरन्तर ओरालो ?

एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाइदियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकार बनेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि एमालेले सडक आन्दोलन सुरु गरेको छ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीमाथि छानबिन तयारी गरेको हल्लाले सेयर बजारमा अनावश्यक त्रास फैलिएको छ।
  • नेपाल स्टक एक्स्चेन्जले मार्जिन कारोबार कार्यविधि तयार गरी वैशाखदेखि मार्जिन लेन्डिङ सुविधा दिने तयारी गरेको छ।

१८ चैत, काठमाडौं । बालेन्द्र साह नेतृत्वमा गत शुक्रबार करिब दुई तिहाइ बहुमतको सरकार बनेपछि लगानीकर्ता उत्साहित बनेका थिए भने आइतबारदेखि सेयर बजारमा थप उत्साह आउने अपेक्षा पनि गरेका थिए ।

तर, सरकार बनेलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि एमालेले सडक आन्दोलन सुरु गर्‍यो । जसबाट मुठभेड हुने डरले सेयर बजारमा उल्टो प्रभाव पर्‍यो । आइतबार र सोमबार बजार उच्च अंकले घट्न पुग्यो । मंगलबार सामान्य बढेको सेयर बजारमा बुधबार झन् ठूलो पहिरो गयो ।

एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाइदियो ।

सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्कालाई पक्राउ गरिसकेको छ । मंगलबार मात्रै अर्का एक व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि कालोसूचीमा राखेको समाचार बाहिरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा अन्य व्यवसायी पनि तानिने हुन् कि भन्ने शंकाबीच लगानीकर्ताहरू आत्तिँदा बजार घटेको हुन सक्ने सरोकारवाला बताउँछन् ।

बजार अहिले उच्च दरले घट्नुका पछाडि सम्पत्ति शुद्धीकरणको अनावश्यक त्रास रहेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्द्र सिजापति बताउँछन् । त्यसले बजारलाई अनावश्यक झारेको उनको भनाइ छ ।

सेयर बजार पूर्णत: बैंकिङ प्रणालीबाट कारोबार हुने पारदर्शी बजार हो । त्यसो हुँदा कसैले पनि आज सेयर बिक्री गरी त्यहाँबाट आएको रकम लुकाउन सक्ने सम्भावना नै हुँदैन ।

त्यतिमात्र होइन, सेयर बजारजस्तो पारदर्शी बजारमा सम्पत्ति शुद्धीकरण गर्छु भनेर कसैले पनि लगानी नगर्ने अर्का एक ब्रोकर बताउँछन् । त्यसैले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेकै आधारमा ठूला लगानीकर्ताले हतारमा सेयर नबेच्ने अर्का एक ब्रोकरले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल सम्पत्ति शुद्धीकरण विभागसँग लगानीकर्ताहरू आत्तिनुपर्ने कुनै कारण नरहेको बताउँछन् ।

‘यो सरकारले निजी क्षेत्रमैत्री केही निर्णय गरिसकेको छ, सुशासन कायम गर्नुपर्ने एउटा क्षेत्र पूँजीबजारको विषय पनि प्राथमिकतामा पर्छन् नै,’ उनले भने, ‘त्यसकारण अहिले अनावश्यक डरको हौवा फैलिएको हो ।’

पूँजीबजारमा हुने सबै कारोबार बैंकिङ प्रणाली मार्फत नै हुने गरेकाले बजारमा अवैध रकम भित्रिएको बुझाइ गलत रहेको उनी दाबी गर्छन् ।

‘ब्रोकर कम्पनीले सेयर किनबेच गर्दा नगद रकम लिँदैनन् र दिँदैनन् पनि, त्यसैले अवैध रकम सेयर बजारमै भएजस्तो गलत भाष्य बनाउनु जरुरी छैन,’ उनले भने ।

यतिबेला सरकारका नीति पूँजीबजारमैत्री भएको, अन्य क्षेत्रमा लगानीको अवसर नै नभएको, बैंक ब्याजदर न्यून बिन्दुमा रहेकाले पूँजीबजार एकमात्र विकल्प भएको उनले बताए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुनै निश्चित व्यवसायीका बारेमा अनुसन्धान सुरु गरेकै आधारमा लगानीकर्ता आत्तिनु आवश्यक नभएको स्टक ब्रोकर संघ पूर्वअध्यक्ष सिजापति पनि बताउँछन् ।

‘सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्ने राज्यको कर्तव्य हो, कतिपय व्यवसायीले अवैध आम्दानी बजारमा लगाएका हुन पनि सक्छन्,’ उनले भने, ‘यसले छोटो समयमा नकारात्मक असर पारे पनि  अन्तत: बजारलाई दिगो र सुरक्षित बनाउँछ ।’

पूँजीबजारका लागि अनुकूल नीति धमाधम बनिरहेका छन् । हालै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले मार्जिन कारोबार कार्यविधि तयार गरेको छ । मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ ।

ब्रोकर कम्पनीहरूले वैशाखदेखि मार्जिन लेन्डिङको सुविधा दिनेछन् । यी व्यवस्थाले बजारलाई दिगो रूपमा गति दिने लगानीकर्ताको बुझाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?