News Summary
Generated by OK AI. Editorially reviewed.- हुलाक सेवा विभागले सार्वजनिक बिदाको दिन पनि विदेशमा सामान पठाउने र आयात छुटाउन सकिने व्यवस्था मिलाउन प्रक्रिया अघि बढाएको छ।
- गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा सार्वजनिक बिदामा सेवा दिन भन्सार कार्यालय र बैंक शाखा खुलाउने तयारी भइरहेको छ।
- फागुन महिनामा गोश्वारा हुलाक कार्यालयबाट १९ हजार २०० भन्दा बढी वस्तु आयात र ११ हजार ७०० निर्यात भएका थिए, जसबाट रु २९ लाख चार हजार राजस्व सङ्कलन भएको छ।
२० चैत, काठमाडौं । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने व्यवस्था मिलाउने पहल अघि बढेको छ । हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउने प्रक्रिया थालेको हो ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने व्यवस्था मिलाउन लागेको हो ।
‘मालसामान हुलाक गर्न वा अन्तररास्ट्रिय कुरियर सेवाका लागि गोश्वारा हुलाक कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा दिने गरेको छ । तर त्यहाँ रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको शाखा सार्वजनिक बिदामा नखुल्दा जाँचपासमा समस्या थियो,’ हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले भनिन्, ‘यो समस्या समाधानका लागि हामीले भन्सार विभागसँग मौखिक र पत्राचारबाट समेत जानकारी गराइसकेका छौँ ।’
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको बताए ।
त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैंक शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको छ ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए ।
त्यस्तै, निर्यात भएका यस्ता वस्तुको सङ्ख्या ११ हजार ७०० हाराहारी छ, जसबाट रु २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4