१९ फागुन, काठमाडौं । लगातार केही दिन सार्वजनिक बिदा भएपनि सर्वोच्च अदालत भने खुला रहने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा अवसरमा समेत सर्वोच्च खुला रहेर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाकाअनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ । अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । –रासस
प्रतिक्रिया 4