१९ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्सकसहित ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी) गठन गरी समन्वयात्मक तयारी तीव्र पारिएको छ ।
उनका अनुसार मन्त्रालयले सबै प्रादेशिक र संघीय अस्पतालहरूलाई ‘स्ट्यान्डबाई’ अवस्थामा रहने गरी आरआरटी गठन गर्न निर्देशन दिइसकेको छ ।
७७ वटै प्रादेशिक अस्पताल र २६ वटै संघीय अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स र प्राविधिकसहितको टोली तयार पारिएको हो । अस्पतालले टोलीको विवरण स्वास्थ्य आपतकालीन समन्वय संयन्त्र (एचईओसी) मा पठाएका छन् ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई प्रत्यक्ष रूपमा मतदान केन्द्रमा नसकिने निर्वाचन आयोगलाई जानकारी दिएको छ । यस पटक भने मतदान केन्द्रमा नै स्वास्थ्य हेल्थ डेस्क नै राखेर बस्ने छैनन् ।
‘स्वास्थ्य कर्मचारीहरूलाई मतदान केन्द्रमा अनिवार्य रूपमा खटाउन नसकिने अवस्थाबारे आयोगलाई अवगत गराएका छौँ,’ डा. बुढाथोकीले भने, ‘देशभर २०-२२ हजार स्वास्थ्यकर्मी छन्, जबकि मतदान केन्द्रको संख्या झन्डै २३ हजार छ । सबैलाई केन्द्रमै खटाउँदा अस्पताल सेवा नै प्रभावित हुन भएकाले सो निर्णय गरेका हौँ ।’
मन्त्रालयका अनुसार आवश्यक परेमा नजिकका स्वास्थ्य संस्थाबाट टोली परिचालन हुने व्यवस्था मिलाइएको छ ।
निर्वाचनका क्रममा हुनसक्ने दुर्घटना, झडप, भिडभाडजन्य समस्या वा अन्य आकस्मिक स्वास्थ्य जटिलता तत्काल सम्बोधन गर्न एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको छ ।
‘मतदान केन्द्रमै स्वास्थ्यकर्मी बस्ने होइन, तर नजिकैका स्वास्थ्य संस्थाहरू ब्याकअपमा रहनेछन्,’ प्रवक्ता बुढाथोकीले स्पष्ट पारे, ‘बिरामी वा घाइतेलाई उपचार आवश्यक परे तत्काल जान सक्ने गरी जनशक्ति र एम्बुलेन्स तयारी अवस्थामा हुन्छन् ।’
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई समेत पूर्व तयारीमा रहन आग्रह गरेको छ । मतदान स्थल नजिकका स्वास्थ्य संस्थालाई आवश्यक समन्वय र सूचना प्रवाह सुनिश्चित गर्न पत्राचार गरिएको जनाइएको छ ।
सोमबार सातै प्रदेशका सचिव, संघीय अस्पतालका प्रमुख तथा मन्त्रालयका अधिकारीहरूबिच भर्चुअल बैठक बसेर समग्र तयारीको समीक्षा गरिएको थियो ।
बैठकले अस्पताल सेवा अवरुद्ध नहुने गरी निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
निर्वाचन आयोगले आगामी बुधबार, बिहीबार, शुक्रबार सार्वजनिक बिदा दिएको छ । तर सो अवधिमा पनि मन्त्रालयले सकेसम्म ओपीडी सेवा सुचारु गर्न स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
‘सकेसम्म ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरेका छौँ । कतिपय स्वास्थ्यकर्मी मतदान हाल्न नजाने पनि हुनुहुन्छ,’ डा. बुढाथोकीले भने, ‘ओपीडी सञ्चालन गर्न नसकेमा आकस्मिक कक्षबाट सेवा दिने गरी व्यवस्था गर्न भनेका छौँ ।’
यद्यपि कतिपय अस्पतालले भने २१ फागुनमा ओपीडी सेवा बन्द गर्ने सूचना जारी गरेका छन् ।
प्रतिक्रिया 4