News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले १०० बुँदे कार्ययोजनाको बुँदा नम्बर ७३ मा देशलाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राखेको छ।
- सन् २०२७ लाई नेपालको आर्थिक र आध्यात्मिक उत्थानको प्रस्थान बिन्दु बनाउने योजना छ।
- नेपालको मौलिक आरोग्य पर्यटनमा योग, ध्यान, जडीबुटी र हिमाललाई जोडेर विश्वलाई नयाँ जीवन दिने प्रयास भइरहेको छ।
नेपाल अपार पर्यटकीय सम्भावना भएको मुलुक हो भनेर वर्षौंदेखि हामीले सुन्दै र सुनाउँदै आएका छौं। तर के हामीले कहिल्यै सोचेका छौं, ती हिमालहरूले हामीलाई के भनिरहेका छन्? ती जडीबुटीहरूले कसको प्रतीक्षा गरिरहेका छन् ?
नेपालको अनुपम प्राकृतिक सौन्दर्य, छोटो दूरीमै भेटिने भौगोलिक र जैविक विविधता, यहाँको जीवन्त संस्कृति र नेपालीको मिलनसार स्वभाव केवल हेर्नका लागि मात्र होइन, अनुभव गर्नका लागि पनि हुन्। तर हामीले सधैं ब्रान्डिङमा भुल गर्यौं। सरकारले नीति बनायो, संरचना खडा गर्यो, तथापि पर्यटकको सङ्ख्या र तिनको बसाइ अवधि अपेक्षाकृत बढ्न सकेन। यसको मूल कारण हो, हामीले पर्यटनको आत्मालाई छुन सकेनौं, बाहिरी दृश्यमा मात्र अल्झियौं।
अब प्रश्न उठ्छ, के हामीले प्राथमिकता छुट्याउन सकेनौं? कि हामीले आफ्नो पर्यटनको मूल तत्त्व नै चिन्न सकेनौं?
यसको उत्तर हाम्रो आफ्नै माटोमा लुकेको छ। हामीले अब हाम्रो पर्यटनको सुस्पष्ट ब्रान्डिङ गर्न ढिला गर्नुहुँदैन। सगरमाथा, बुद्ध र प्राकृतिक सौन्दर्यको धनी भनेर विश्वले हामीलाई चिनिसकेको छ, तर अब विश्वलाई हामीले नयाँ र गहिरो केही दिनुपर्छ, जुन अरू कसैसँग छैन। त्यो एउटै सूत्र हो, आरोग्य (Wellness)।
आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नै भित्र फर्किने साहस हो। यो शरीरको थकाइ मेटाउने औषधि होइन, आत्माको मौन उत्सव हो। जहाँ पुगेर मानिस आफैंसँग भेटिन्छ।
आरोग्य केवल एउटा शब्द होइन, यो मानव अस्तित्वको पूर्णता हो। संसार कोलाहलमा हराइरहेको बेला नेपालले शान्तिको बाँसुरी बजाउनुपर्छ। अबको पर्यटनको मूल मन्त्र यही हुनुपर्छ, आरोग्य। यसको वास्तविक मार्ग हाम्रा हिमालका काखहरू र जडीबुटीको स्पर्शबाट शुरु हुन्छ।

आज संसारमा आरोग्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ। ‘Global Wellness Institute‘ का अनुसार यो क्षेत्र खर्बौं डलरको बजार बनिसकेको छ। यसको अर्थ स्पष्ट छ, मानिस बाहिरी वस्तुबाट थाकेर आफ्नै अस्तित्वको खोजीमा छ। उसँग महँगा घडी छन्, तर शान्तिका दुईपल छैनन्। महल छन्, तर निद्रा छैन। ऊसँग दुनियाँ छ, तर ऊ आफैं छैन। उसले संसार जित्न सिक्यो, तर आफैंलाई हराउन पनि सिक्यो। उसले शहर बनायो, महल बनायो, तर आफ्नो भित्रको घर भत्कायो। अब ऊ फेरि आफूलाई खोज्दै छ। यो आधुनिक रिक्ततालाई भर्न सक्ने सामर्थ्य नेपालसँग छ, जहाँको हावामा ऋषिमार्गको सुगन्ध र पानीमा जडीबुटीको ओखती मिसिएको छ।
वास्तविक आरोग्यका लागि मनको सुख, शरीर र मस्तिष्कको स्वस्थता र आनन्द आवश्यक हुन्छ, जुन इन्द्रियको भोगबाट होइन, योग र ध्यानबाट प्राप्त हुन्छ। नेपाल ध्यानको आदि उद्गम बिन्दु हो, जहाँ हजारौं वर्षअघि ऋषिमुनिहरूले मानव चेतनाको गहिरो विज्ञान पत्ता लगाएका थिए। योग, ध्यान, प्रकृति, संस्कृति, व्यवहार र जडीबुटी यी सबै आरोग्यका आधारस्तम्भ हुन्, जसलाई एउटै सूत्रमा उनेर हामी विश्वलाई नयाँ जीवन दिन सक्छौं। आरोग्य बहुआयामिक विषय हो— यो शारीरिक, मानसिक, सामाजिक, वातावरणीय, भावनात्मक र आध्यात्मिक पूर्णताको नाम हो।
मानिसले खोज्ने ‘सत्–चित्–आनन्द’ को अनुभूति नेपालको हिमालयको फेदी र मौन गुफाहरूमा सम्भव छ। हिमालहरू केवल उचाइ होइनन्, ती मौन ध्यानका जीवित मन्दिर हुन्। जहाँ शब्दहरू हराउँछन्, त्यहाँ सत्य जन्मिन्छ। जहाँ मौन बोल्न थाल्छ, त्यहाँ जीवन खुल्न थाल्छ। नेपाल त्यहींको आमन्त्रण हो।
तर दुर्भाग्यवश, आज धेरै लगानीकर्ताहरू ‘आरोग्य पर्यटन’ को नाममा केवल विलासी स्पा, महँगा मसाज र ग्ल्यामरको भ्रम बेचिरहेका छन्। यो हाम्रो मौलिकता र पुर्खाहरूको विरासतका लागि आत्मघाती रणनीतिक भूल हो।
आरोग्य भनेको छाला चम्काउनु वा शरीरलाई क्षणिक आराम दिनु मात्र होइन। यो त कोलाहलले थाकेको आत्माको शुद्धीकरण र भौतिकतामा निदाएको चेतनाको जागरण हो।
थाइल्याण्ड, युरोप वा बालीमा पनि विलासी स्पा पाइन्छन्। पर्यटक नेपाल केवल शरीर मिचाउन आउँदैनन्, उनीहरू आफ्नो अस्तित्वलाई पुनः भेट्न, आफूलाई ‘रिसेट’ गर्न र नयाँ जन्म लिन आउँछन्।
त्यसैले आरोग्य पर्यटनलाई केवल शरीरको ‘सर्भिसिङ’ मा सीमित गर्नु भनेको हिमालको उचाइलाई खाडलमा कैद गर्नुसरह हो।
हामी रोगको उपचार मात्र होइन, निरोगी जीवनको सम्पूर्ण ‘संस्कृति’ दिन सक्छौं। यदि हामीले नेपाललाई केवल ‘स्पा गन्तव्य’ मा सीमित गर्यौं भने हाम्रो मौलिक पहिचान गुम्नेछ।
पर्यटकले यहाँ मसाजको क्षणिक आनन्द मात्र होइन, मौनको शाश्वत शक्ति अनुभूति गर्नुपर्छ। स्पाले ल्याउने चमक क्षणिक हुन्छ, तर ध्यानले ल्याउने तेज दिगो हुन्छ।
जबसम्म हामी पर्यटकको शरीरबाट अघि बढेर उसको चेतनासम्म पुग्दैनौं, तबसम्म हाम्रो पर्यटनले विश्वव्यापी उचाइ लिन सक्दैन। त्यसैले अबको लगानी केवल भौतिक पूर्वाधारमा मात्र होइन, ‘आन्तरिक पूर्वाधार’ मा पनि हुनुपर्छ।
हामीले बिर्सियौं, हाम्रो देश जडीबुटीको खानी हो। यहाँको माटोमा औषधीय गुण छ, पानीमा अमृत छ। जडीबुटीले केवल रोग निको पार्दैन, दीर्घजीवन दिन सक्छ। यसको प्रवर्धनले ग्रामीण अर्थतन्त्र बलियो बनाउनेछ र नेपालको मौलिक स्वास्थ्य पद्धतिलाई विश्वसामु स्थापित गर्नेछ।
नेपाल सरकारको १०० बुँदे कार्ययोजनाको बुँदा नम्बर ७३ ले नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राख्नु ऐतिहासिक कदम हो। अप्रिल १५ लाई ‘आरोग्य दिवस’ का रूपमा अन्तर्राष्ट्रिय मान्यता मिल्नु हाम्रो कूटनीतिक सफलता पनि हो।
तर इतिहास साक्षी छ, नेपालमा नीति खराब हुँदैनन्, कार्यान्वयन कमजोर हुन्छ। यो योजना कागजमा सीमित हुनुहुँदैन। स्पष्ट रोडम्याप, पर्याप्त बजेट र निजी तथा आध्यात्मिक क्षेत्रसँगको सहकार्य आवश्यक छ।
हामीले संसारलाई सन्देश दिनुपर्छ, नेपाल केवल घुम्नका लागि होइन, बदलिनका लागि हो। यहाँ आएपछि अशान्त मानिस शान्त भएर फर्कियोस्, दिशाहीनले जीवनको मार्ग भेटोस्। पर्यटक फर्किंदा केवल फोटो होइन, अनुभव लिएर जाओस् । उनीहरूले भनून्— ‘म नेपाल गएँ, र म फेरि जन्मिएँ।’
यही नेपालको वास्तविक ‘सफ्ट पावर’ हो। यसलाई केवल दिवसमा सीमित नगरी जीवनशैली बनाउनु आवश्यक छ, विद्यालयदेखि राज्य संयन्त्रसम्म।
आरोग्य विनाको समृद्धि एउटा घातक रोग हो। पहिले मानवलाई स्वस्थ बनाऔं, देश आफैं समृद्ध हुनेछ। समृद्धि बाहिर खोज्दा हराउँछ, भित्र खोज्दा फुल्छ। जब मानिसले आफूलाई भेट्छ, त्यहींबाट राष्ट्र निर्माण शुरु हुन्छ। याद राखौं, भ्यूटावरबाट देखिने दृश्यभन्दा आँखा चिम्लेर देखिने ‘म’ धेरै विशाल हुन्छ।
अब प्रश्न यो होइन, नेपालसँग के छ। प्रश्न यो हो, के हामी संसारलाई आरोग्य दिन तयार छौं? नेपाल तयार छ। अब हामी तयार हुने बेला आएको छ।
सन् २०२७ लाई नेपालको आर्थिक र आध्यात्मिक उत्थानको प्रस्थान बिन्दु बनाऔं। आउनुहोस्, नेपाललाई विश्वकै आरोग्यको राजधानी बनाऔं।
नेपाल नक्साको एउटा देश मात्र होइन, यो चेतनाको विस्फोट हो। यहाँ पाइने शान्ति खोजेर होइन, भत्किएर भेटिन्छ। हिमालले दृश्य मात्र देखाउँदैन, तिमीभित्रको ‘तिमी’ उजागर गर्छन्। जो यहाँ आइपुग्छ, ऊ फर्किंदैन, ऊ रूपान्तरण भएर जन्मिन्छ। किनकि नेपाल यात्रा होइन, यो आत्माको क्रान्ति हो ।
यही क्रान्ति र रूपान्तरणको महाअभियानलाई संस्थागत गर्न नेपाल सरकारले अघि सारेको १०० बुँदे कार्ययोजनाको बुँदा नम्बर ७३ एउटा ऐतिहासिक ‘प्रस्थान बिन्दु‘ हो। अब हाम्रो दृढ संकल्प, सहकार्य र इमानदार कार्यान्वयनले यो मार्गचित्रलाई विश्वकै सबैभन्दा सुरक्षित र शान्त ‘आरोग्य गन्तव्य‘ का रूपमा स्थापित गर्नेछ।
हिमालले दृश्य मात्र देखाउँदैन, तिमीभित्रको ‘तिमी’ उजागर गर्छ। आउनुहोस्, हामी सबै मिलेर नेपाललाई विश्वकै आरोग्यको राजधानी बनाऔं, जहाँ आएर संसारले नयाँ जीवन र वास्तविक शान्तिको परिभाषा भेट्न सकोस्। सन् २०२७ लाई नेपालको आर्थिक र आध्यात्मिक उत्थानको स्वर्णिम वर्ष बनाऔं। हामी तयार छौं, अब विश्वलाई आरोग्य बाँड्ने पालो हाम्रो हो !
सिम्खडा उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति सदस्य हुन्।
प्रतिक्रिया 4