News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साका लेखापढी व्यवसायीहरूले सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोधमा अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।
- पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन थालिएको हो।
- पर्सामा १ सय २१ भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय छन् र हड्तालले सेवाग्राही र सरकारी कामकाज प्रभावित भएका छन्।
२३ चैत, वीरगञ्ज । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्।
एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार पछिल्लो समय बिचौलियाको आरोप लगाउँदै गरिएका पक्राउ तथा कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन थालिएको हो। विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू थप आक्रोशित बनेका छन्।
उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भू-सेवा केन्द्र र लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण रूपमा कारबाही गरिएको आरोप लगाएका छन्। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित सरकार र प्रहरी प्रशासनको कदमप्रति व्यवसायीहरूले कडा आपत्ति जनाएका छन्।
एसोसिएसनका अनुसार पर्सा जिल्लामा हाल १ सय २१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय रहेका छन्। हडतालका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् भने सरकारी कार्यालयहरूको कामकाजसमेत प्रभावित बनेको छ।
प्रतिक्रिया 4