२३ चैत, काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले महिलाहरूले इतिहास बनाए पनि इतिहासले भने महिलाहरूलाई कुनै ठाउँ नदिएको बताएकी छिन् ।
अनलाइनखबरले आयोजना गरेको ‘५०–प्रभावशाली महिला–२०८२’ लाई सम्बोधन गर्ने क्रममा उनले यो कार्यक्रमले त्यस्ता मौनताहरू तोडेको बताइन् ।
‘धेरै वर्षसम्म हाम्रो समाजमा महिलाहरूले इतिहास बनाए । तर इतिहासले उनीहरूलाई ठाउँ नै दिएन,’ उनले भनिन्, ‘उनीहरूले योगदान दिए, तर योगदानको आवाज बाहिरै आएन । यस्तो कार्यक्रमले त्यो इतिहासको मौनता तोडेको छ ।’
साथै, उनले समावेशीता कसैको उपहार, उपकार नभएको बताइन् ।
‘हामीले बारबार सम्झनुपर्ने कुरा के हो भने, समावेशीता कसैको उपहार, उपकार पनि होइन । हाम्रो संविधानले नै सुनिश्चितता गरेको, परिणाममा समानताको अस्तित्वलाई स्वीकार गरेको व्यवस्था हो,’ उनले भनिन्, ‘तर परिवर्तन साहसिक कदमबाट नै हुन्छ । त्यो पहल त्यही साहसको उदाहरण हो ।’
उनले अनलाइनखबरले आयोजना गरेको यो कार्यक्रमले महिलाको साहसिक कथा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आभार व्यक्त गरिन् ।
प्रतिक्रिया 4